+
+

मुख्यमन्त्रीको आकांक्षा राखेका प्रकाश देउवा बने मन्त्री

जनक विष्ट जनक विष्ट
२०७९ माघ २७ गते २१:०८

२७ माघ, धनगढी । शेरबहादुर देउवा कि पुष्पकमल दाहाल प्रचण्ड को पहिला प्रधानमन्त्री भन्ने विवादले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्कियो ।

१० पुसमा प्रचण्डले लिएको निर्णयले देउवाको प्रधानमन्त्रीमा दोहोरिने इच्छामा मात्र होइन, सुदूरपश्चिममा भतिजा प्रकाशबहादुर देउवालाई मुख्यमन्त्री बनाउने चाहानामा पनि धक्का लाग्यो ।

केन्द्रमा मिलेर सरकार बनाएका एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाले सुदूरपश्चिममा पनि सरकार बनाए । एमालेका राजेन्द्र रावल मुख्यमन्त्री बने । प्रकाशबहादुर भने संसदीय दलको नेता पनि बन्ने अवस्था रहेन । कैलाली क्षेत्र नम्बर २ (१) बाट निर्वाचित कमलबहादुर शाह २० पुसमा सर्वसम्मत संसदीय दलको नेता चुनिए ।

‘त्यो बेला प्रकाश दाइ मुख्यमन्त्री हुने परस्थिति देखिएको थिएन, सोही कारण अरुभन्दा कमलबहादुरलाई दलको नेतामा चयन गर्न राजी भएका थिए,’ कांग्रेसका एक नेताले भने ।

तर परस्थिति यस्तो बन्यो कि शाह दलको नेतामा चयन भएको ३७ दिनमै बिहीबार मुख्यमन्त्री नियुक्त भए । अनि उनले देउवालाई भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरे । ‘अहिलेको अवस्थामा दलको नेता फेरेर प्रकाशलाई मुख्यमन्त्री बनाउँदा आलोचनाको सिकार भइन्छ भनेर शेरबहादुर दाइले त्यो कदम चाल्नुभएन । उहाँले चाहेको भए रोक्न सक्ने कोही थिएनन्,’ कांग्रेसका अर्का नेता भन्छन् ।

४ मंसिरको निर्वाचनमा प्रकाशलाई सभापति देउवाकै जोडबलमा कैलाली ५ (२) मा प्रदेशसभा सदस्य उम्मेदवार बनाइएको थियो । उनको नाम तल्लो कमिटिबाट सिफारिस भएको थिएन । आरजु देउवा राणा नउठ्ने भएपछि प्रतिनिधिसभा सदस्यमा डिल्लीराज पन्त उम्मेदवार बने । उनले एमालेका नारदमुनी रानालाई पराजित गरे । प्रकाश पनि एमालेका दुर्गा जोशीलाई हराएर प्रदेशसभा सदस्य चुनिए ।

उनी शुक्रबार भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भए । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का प्रकाशले व्यवस्थापन संकायमा स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । विद्यार्थी जीवनमा नेवि संघमा आवद्ध भएका उनी कांग्रेसको १४ औं महाधिवेशनबाट प्रतिधिनिधिमा चयन हुने बाहेक पार्टी कमिटीमा बसेर सक्रिय राजनीति गरेका छैनन् ।

उनलाई मन्त्री बनाएकोमा कांग्रेसका सिनियर प्रदेशसभा सदस्यहरु सन्तुष्ट छैन । ‘हामीलाई त शेरबहादुर दाइले पंगु बनाएर छाड्नुभयो । कांग्रेस भनेर जीवन भर लाग्यो तर अहिले अवसर आउँदा नातावाद, कृपावादलाई माथि राखे,’ कांग्रेसका एक प्रदेशसभा सदस्यले गुनासो गरे, ‘जिन्दगभरी राजनीति गरेका कार्यकर्तामाथि अन्याय गरेको महसुस भएको छ ।’

कांग्रेस कैलालीका नेता नृप सुनार भने शेरबहादुर प्रधानमन्त्री हुँदा सचिवालय बसेर काम गरेका प्रकाशबहादुरलाई राज्य संयन्त्रमा काम कसरी गर्ने भन्ने ज्ञान रहेको बताउँछन । ‘त्यही परिपक्कता बुझेर पार्टीले जिम्मेवारी दिएको छ,’ सुनारले अनलाइनखबरसँग भने ।

भौतिक पूर्वाधारमन्त्री देउवाले पनि पदभार ग्रहणसँगै प्रदेशमा निर्माण हुने मोटेरेवल पुल एउटै मापदण्डमा निर्माण गर्ने नीतिगत व्यवस्था गर्ने निर्णय गरेका छन् । साथै उनले प्रदेशबासीको अपेक्षा धेरै भएकाले सोहीअनुसार काम गर्ने संक्षिप्त प्रतिक्रिया दिएका छन् ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?