News Summary
Generated by OK AI. Editorially reviewed.- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टी केन्द्रको निर्णयबमोजिम अघि बढ्ने बताएका छन् ।
- एमालेको समर्थन फिर्ताका कारण अल्पमतमा रहेका शाहले राजनीतिक परिस्थिति विकसित नभएसम्म तत्काल राजीनामा नदिने अडान लिएका छन्।
- शाहले भने, \'केन्द्रमा नेकपासँग कुराकानी भइरहेको कुरा सुनेको छु, त्यसैले अर्को टुंगो नलाग्दासम्म पर्खिन्छु।\'
- बजेट पारित नभए पनि कानुनी व्यवस्थाका कारण प्रदेशमा बजेट शून्यताको अवस्था नरहेको मुख्यमन्त्री शाहले उल्लेख गरेका छन् ।
१ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टी केन्द्रको निर्णयअनुसार अघि बढ्ने बताएका छन् ।
एमालेले समर्थन फिर्ता लिएर अल्पमतमा परेको र नेकपाले समेत मार्गप्रशस्त गर्न सुझाव दिएका बेला मुख्यमन्त्री शाहले पार्टी निर्णय अनुसार अघि बढ्ने बताएका हुन् ।
संविधानअनुसार कुनै दलले सरकारलाई दिएको सर्मथन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाका कारण शाह अल्पमतमा परेपनि सरकारको नेतृत्वमै छन् ।
प्रदेश सभामा रहेको ठूलो दल नेकपाले शाहलाई मार्ग प्रशस्त गर्न अनुरोध गर्दै आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय नै गरिसकेको छ । कांग्रेसले सबै प्रदेशमा एमालेसँगको सत्ता सहकार्य तोड्ने निर्णय गरिसकेको छ ।
यस्तो अवस्थामा शाहले निकास दिनुपर्ने आवाज उठ्न थालेको छ । तर उनी भने अहिले राजनीतिक परस्थिति विकसित नभइसकेका कारण तत्काल पदबाट राजीनामा नदिने बताउँछन् ।
‘राजनीतिक रुपमा सत्ता सहकार्यका लागि अहिले नै कुनै परस्थिति बनिसकेको अवस्था छैन । पार्टी नेतृत्वले ठोस निर्णय दिनुपर्छ,’ शाहले अनलाइनखबरसँग भने, ‘केन्द्रमा नेकपासँग कुराकानी भइरहेको कुरा सुनेको छु । त्यसैले अर्को टुंगो नलाग्दा सम्म पर्खिन्छु ।’
एमालेले आफू नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि अहिले नै दोस्रो समीकरण नबेको कारण पनि तत्काल पदबाट छाड्नुपर्ने स्थिति नभएको बताउँछन् ।
प्रमुख प्रतिपक्षी दल नेकपाले मार्गप्रशस्त गर्न गरेको अनुरोधलाई भने स्वाभाविक रुपमा लिएको उनको भनाइ छ ।
शाहले केन्द्रीय तहमा हुने छलफल र निर्णयअनुसार आफूले पनि राजनीतिक निर्णय लिने उल्लेख गरे । प्रदेश सरकारले ल्याएको बजेट सभाबाट पारित हुन नसके पनि प्रदेशमा बजेट शून्यताको अवस्था नभएको उनी बताउँछन् ।
खासगरी राजस्व संकलन सम्बन्धीका काम नरोकिने गरी यसअघि नै कानुनी व्यवस्था गरेकाले बजेट शून्यता नहुने शाहले बताएका छन् ।
प्रतिक्रिया 4