२१ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री हेरफेरको प्रस्ताव गरेको असन्तुष्ट पक्षले दाबी गरेको छ ।
कांग्रेस संसदीय दलको नेताबाट आफूलाई हटाउने खोज्ने सांसद दिवानसिंह विष्ट पक्षलाई मुख्यमन्त्री शाहले मन्त्रिपरिषद् हेरफेर गरेर मन्त्री दिने प्रस्ताव गरेको दाबी गरिएको छ ।
‘उहाँ(मुख्यमन्त्री)ले आफ्नै नेतृत्वको सरकारलाई कायम राख्नेगरि मन्त्री हेरफेर गर्ने प्रस्ताव गर्नुभएको छ । यो विषयमा हामी आन्तरिक परामर्शमा छौँ,’ विष्ट पक्षका एक सांसदले भने, ‘तर अहिले हाम्रो माग मन्त्री नभएर संसदीय दलको नेता परिवर्तन नै हो । यद्यपि यो प्रस्तावमा पनि छलफल गर्न नसकिने भन्ने कुरा होइन ।’
तर, मुख्यमन्त्री शाहनिकट स्रोतले भने त्यस्तो कुनै प्रस्ताव नगएको दाबी गरेको छ । ‘त्यसरी कुनै प्रस्ताव गरिएको छैन । त्यस्तो कुरा कहाँबाट आएछ खै ?,’ स्रोतले भन्यो, ‘केही दिनमा पार्टी केन्द्रबाट नेता आउने कुरा छ । दुवै पक्ष राखेर कुराकानी होला, त्यसपछि पो केही होला नि ।’
कांग्रेस स्रोतका अनुसार सुदूरपश्चिम संसदीय दलमा देखिएको विवाद निरुपणका लागि कांग्रेस केन्द्रीय समितिले सहमहान्त्री उदयशमशेर राणासहितका नेतालाई धनगढी पठाउँदैछ । टोली शुक्रबार धनगढी पुग्ने भनिएको छ ।
असन्तुष्ट समुहले भने मुख्यमन्त्री शाहबाट मन्त्रीको प्रस्ताव आएको दाबी गर्दै त्यसमा टिमको नेतृत्व गरिरहेका दिवानसिंह विष्ट सहमत भइनसकेको दाबी गरेको छ ।
यसअघि प्रदेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको भोलिपल्ट विष्टसहितका ९ जना सांसदले मुख्यमन्त्री शाहलाई दलको नेताबाट हटाउने निर्णय गर्दै संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
तर, पछि अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी डम्मरी महरा मुख्यमन्त्री शाहकै पक्षमा फर्किएपछि असन्तुष्ट पक्ष अल्पमतमा परेको थियो ।
प्रतिक्रिया 4