
काठमाडौं । सावित्रा भण्डारीले खेलको अन्तिम समयमा दुई गोल गरेपछि नेपालको महिला फुटबल टिमले भारतसँगको पहिलो मैत्रीपूर्ण खेलमा २-२ को बराबरी खेलेको छ ।
फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा बुधबार भएको खेलमा दुई गोलले पछि परेको नेपालले पुनरागमन गर्दै रोमाञ्चक बराबरी खेलेको हो ।
पहिलो हाफमा अवसर पाएर पनि गोल गर्न नसकेकी सावित्राले खेलको अन्तिम समयमा लगातार दुई गोल गरिन् । उनले ९०औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेकी हुन् भने इन्जुरी टाइमको दोस्रो मिनेटमा दोस्रो गोल गरिन् ।
भारतले पनि दोस्रो हाफमै दुई गोल गरेको थियो । भारतले दाेस्राे हाफमा दुवै गाेल गर्याे ।भारतका लागि ५६ मिनेटमा साैम्य गुगुलाेथले पहिलाे गाेल गरिन् । ६८ मिनेटमा कप्तान ईन्दुमति काथिरेसनले गाेल गर्दै अग्रता दाेब्बर पेकी थिइन् । तर भारतले दुई गोलको अग्रता जोगाउन सकेन ।
पहिलो हाफमा नेपाल फिनिसिङमा चुक्का अग्रता लिन सकेन । सावित्रा भण्डारीले तीन अवसर गुमाउँदा विमला चाैधरीले एक अवसर चुकाईन् । भारतले पनि पाएको अवसरमा गोल गर्न सकेन ।
नेपालकी कप्तान तथा गाेलकिपर एन्जिला तुम्बापाे सुब्बाले दुवै हाफमा केही राम्रव बचाउ गरिन् । २०२४ को पेरिस ओलम्पिकको लागि एसियाली छनोटको तयारीमा रहेका नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन् ।
गत भदौमा नेपालमै भएको साफ महिला च्याम्पियनसिपमा नेपालले भारतलाई पराजित गरेको थियो । यस्तै भर्खरै बंगलादेशमा सम्पन्न साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले भारतलाई ३-१ ले पराजित गरेको थियो ।
गत भदाैमा काठमाडौंमा आयोजना भएको साफ महिला च्याम्पियनसिपपछि नेपाल र भारत पहिलाे पटक खेलेका हुन् । त्यसबेला नेपालले भारतलाई सेमिफाईनलमा १-० ले पराजित गरेकाे थियाे ।
आगामी अप्रिलमा हुने ओलम्पिक छनोटमा नेपला समूह सी मा छ । यस समूहमा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान छन् । यस्तै भारत कीर्गिस्तान र तुर्कमिनेस्तानसहित समूह जी मा छ ।
नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण शनिबार हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4