+
+

स्कटल्याण्डले नेपाललाई दियो २१३ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ९ गते १२:३२

९ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत घरेलु मैदानमा भइरहेको शृखंलाको अन्तिम खेलमा नेपालले च्याम्पियन बनिसकेको स्कटल्याण्डलाई २१२ रनमा अलआउट गरेको छ ।

नेपालका कप्तान रोहित पौडेलले लगातार चौथो खेलमा पनि टस जितेपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६.१ ओभरमा सबै १० विकेट गुमाएर २१२ रन बनाएको हो ।

स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक ६० रन बनाए । म्याथ्यु क्रसले ४२ र ब्रान्डन म्याकुलेनले ३१ रन जोडे । काएल कोएत्जर र क्रिस म्याब्राइजले समान २२ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । करण केसीले ३ तथा ललित राजवंशी र कुशल मल्लले समान १ विकेट लिए ।

पहिले ब्याटिङमा आएको स्कटल्याण्डले राम्रो सुरुवात गरेको थियो । काएल कोएत्ज र जर्ज मुन्सीले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरे ।

पहिलो खेलमा नामिबिया विरुद्ध शतक बनाएपछि दुई खेलमा बेन्चमा बसेका बर्थडे ब्वाए मुन्सीले नेपाल विरुद्ध आक्रमक ब्याटिङ गर्दे ६० रन बनाए । त्यसका लागि उनले ५० बल खेल्दे ९ चौका र २ छक्का प्रहार गरे ।

कप्तान रोहितले आठौं ओभरमै स्पीनर सन्दीपलाई बल थमाए । सन्दीपले उक्त ओभरमै कोएत्जर र मुन्सीको साझेदारी ब्रेक गरे । सन्दीपले कोएत्जरलाई एबलीडब्लु शिकार बनाए ।

पहिलो विकेट गुमाए पनि मुन्सीले आक्रमक ब्याटिङ गरिरहेका थिए । तर १४औं ओभरमा सन्दीपले लगातार दुई बलमा विकेट लिएपछि नेपालले खेलमा कमब्याक गर्‍यो ।

मुन्सेले दोस्रो विकेटका लागि क्रिस म्याब्राइजसँग ४७ रनको साझेदारी गरे । सन्दीपले मुन्सेलाई बोल्ड गर्दै साझेदारी तोडे । लगत्तै कप्तान रिची बेरिङटनलाई एलबीडब्लु धरापमा पारे ।

कुशल मल्लले २२ रन बनाएका म्याब्राइजलाई २१औं ओभरमा एलबीडब्लु आउट गर्दै नेपाललाई चौथो सफलता दिलाए ।

उत्कृष्ट बलिङ गरेका सन्दीपले १ रन बनाएका टोमस म्याकिन्टोसलाई सन्दिप जोराबाट अर्को ओभरमा क्याचआउट गराए ।

११८-५ को अवस्थामा रहेको स्कटल्याण्डका लागि विकेटकिपर म्याथ्यु क्रस र ब्रान्डोन म्याकमुलेनले इनिङ्स अघि बढाए । यी दुईले छैटौं विकेटका लागि ५७ रनको साझेदारी गरे ।

३५औं ओभरमा नेपालले यो साझेदारी तोड्यो । करण केसीको बलिङमा दीपेन्द्र सिंह ऐरीले क्रसलाई डाइरेक्ट हिटमार्पत रनआउट गरे । लगत्तै करणले नेपालले विरुद्ध अघिल्लो खेलमा शतक बनाएका माइकल लिस्कलाई बोल्ड गरे । ओडीआई क्रिकेटमा मा करणको यो ५०औं विकेट हो ।

करणले नै ३९औं ओभरमा म्याकुलेनलाई ललित राजवंशीबाट क्याचआउट गराए ।

राजवंशीले ४० ओभरमा ७ रन बनाएका क्रिस ग्रिभ्सलाई एलबीडब्लु धरापमा पारे । करणले अन्तिम विकेटको रुपमा मार्क वाटलाई आउट गरे ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए । सन्दीपले यस शृख्लामा कूल १३ विकेट लिए । उनले यसअघिका तीन खेमा ३-३ विकेट लिएका थिए । लिग टु मा सन्दीपले ५५ विकेट लिएका छन् र सर्वाधिक विकेट लिनेमा तेस्रो स्थानमा छन् ।

करण केसीले ८.१ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशी र कुशल मल्लले समान १ विकेट लिए । राजवंशीले १० ओभरमा १ मेडन राख्दै ३३ रन मात्र खर्चिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?