+
+

लोकदोहोरी प्रतिष्ठानमा विवाद चर्कियो, संस्थाबाट बाहिरिएको विष्णु खत्रीको घोषणा 

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १० गते १६:०६
फाइल तस्वीर

काठमाडौं । गायक विष्णु खत्रीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानबाट बाहिरिएको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै उनले आफूले खोल्न लागेको नयाँ संस्थामा हातेमालोका लागि आउन आह्वान समेत गरेका छन् ।

प्रतिष्ठानको आसन्न महाअधिवेशन र कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै नयाँ संस्था खोल्न लागेको चर्चाबीच पूर्वमहासचिव समेत रहेका खत्रीले संस्थामा नरहेको औपचारिक घोषणा गरेका हुन् ।

‘अब कहिल्यै प्रतिष्ठानको ढोका ढकढकाउन नआउने निर्णय गरी आजैको मितिबाट सांगठनिक र भावनात्मक रुपले यस संस्थाको यात्रामा पूर्णबिराम लगाएको कुरा दुःखका साथ अवगत गराउन चाहन्छु,’ खत्रीले लेखेका छन्, ‘कलाकारको हकहितको मुद्दा र संस्कृति जगेनार्थ कतै भेटिने अवसर मिल्यो भने सँगै सहयात्रीको रुपमा रहनेछु भन्ने कुरा पनि जानकारी गराउन चाहन्छु ।’

आफूभन्दा जुनियर भाइबहिनीसँग चुनावमा प्रतिस्पर्धा गर्न शोभनीय नहुने र नैतिकताले पनि उचित नहुने उनको तर्क छ । संस्कृतिकर्मीलाई समेटेर आफूहरुले नयाँ संस्था खोल्न लागेको जानकारी दिंदै उनले यसमा समाहित हुन आग्रह समेत गरेका छन् । ‘कलाकारिता र संस्कृतिलाई शिरमा राख्ने संस्कृतिकर्मीलाई हामीले तय गर्न लागेको नयाँ यात्रामा हजुरमा अन्तरनिहित रहेको प्रतिभा, क्षमता, दक्षता, विज्ञता र अनुभवसहित हातेमालो गर्न आउनुहुन हार्दिक अपील गर्दै स्वागत गर्न चाहन्छौं,’ उनले भनेका छन् ।

धादिङमा फागुन १२ गतेदेखि हुन लागेको प्रतिष्ठानको महाधिवेशनअघि आएको खत्रीको बहिगर्मनले प्रतिष्ठानको आन्तरिक राजनीतिमा तरंग सिर्जना गरेको छ । मंगलबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका पूर्वअध्यक्ष तथा गायक बद्री पंगेनीले खत्रीको योगदानको प्रशंसा गर्दै उनलाई संस्थामै राखिराख्न प्रयत्न गर्ने बताएका थिए । उनले त्यस्तो अभिव्यक्ति दिएको एक दिनमै खत्रीले संस्थाबाटै बाहिरिएको घोषणा गरेका हुन् ।

कतिपयले खत्रीलाई अध्यक्षको आकांक्षीको रुपमा पनि हेरेका थिए । तर अध्यक्ष रमेश बीजीले आफ्नो समर्थन रीता थापा मगरलाई हुने भन्दै पत्रकार सम्मेलनमै बोलेका थिए । खत्रीले केही साताभित्रै नयाँ संस्था घोषणाको तयारी गरिरहेका छन् । अहिले विधान लेखनको अन्तिम चरणमा काम भइरहेको बताउँदै उनले वर्तमान नेतृत्व स्याङ्जा र पाल्पाको मनोविज्ञानबाट माथि उठ्न नसकेको आरोप समेत लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?