+
+

उम्मेदवारी दर्तापछि पौडेलले भने : ओलीजी मसँगै जेल बस्नुभएको हो, अन्तिमसम्म सहयोग गर्नुहुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १३ गते १५:२१

१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसबाट राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले नेकपा एमालेले पनि आफूलाई साथ दिने अपेक्षा गरेका छन् ।

शनिबार संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा उम्मेदवारी दिएपछि उनले राष्ट्रपति पदलाई साझा बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि योगदान गर्ने आफूले अपेक्षा गरेको बताए ।

‘एमाले अध्यक्ष पनि म सँगै जेल बस्नुभएको हो, पुरानो साथी हो, यो पदलाई राष्ट्रको साझा पद बनाउन उहाँले योगदान गर्नुहोला भन्ने अपेक्षा गरेको छु’ उम्मेदवारी मनोनयन दर्तापछि उनले पत्रकारहरुसँग भने । पौडेलले राष्ट्रपतिको चुनाव हुने दिनसम्म एमालेको पनि साथ पाउने बताएका हुन् ।

राष्ट्रपतिमा निर्वाचित भएमा नेपालको संविधानको अक्षर र भावनाको अक्षरश पालना गर्ने पौडेलले बताए । त्यस्तै गणतन्त्र संस्थागत गर्ने र नेपाली जनताको सार्वभौमसत्तालाई बलियो र सुरक्षित बनाउने पनि उनले बताए ।

‘नेपालमा आएको परिवर्तनको रक्षा गरेर नेपाली जनताको उन्नती अघि बढाउने, नेपाली जनताको एकता, राष्ट्रिय अण्खडता र राष्ट्रियता सबल बनाउने काममा मेरो सहयोग हुन्छ’ उनले भने ।

२५ फागुनमा हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?