+
+

राष्ट्रपतिबाट सेतो मच्छिन्द्रनाथको दर्शन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ५ गते ६:४१

५ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार बेलुका सेतो मच्छिन्द्रनाथको दर्शन गरी टीका र प्रसाद ग्रहण गरेका छन् ।

प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथयात्रा मङ्गलबार अपराह्न काठमाडौं तीनधारा पाठशालाबाट सुरू भएर साँझ असन पुर्याइएको थियो । राष्ट्रपति पौडेल मंगलबार बेलुका असन पुगेर सेतो मच्छिन्द्रनाथको दर्शन गरेका हुन् ।

विशेषत वर्षा र सहकालको कामना गरी हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिनदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरू हुन्छ ।

चैत्र शुक्ल प्रतिपदाका दिनदेखि दरबारमार्गस्थित तीनधारा पाठशालामा ३२ हात अग्लो नौ तले रथ बनाउन सुरु गरिन्छ । काठ, बेत र डोरीका सहायताले रथ बनाइन्छ । रथ निर्माण र जात्राका लागि आवश्यक सम्पूर्ण खर्च गुठी संस्थानले गर्छ ।

सो रथमा चैते दशैंका दिन सेतो मच्छिन्द्रनाथको मूलदेवता विराजमान गराएपछि जात्रा सुरु हुने परम्परा छ । केल टोलको मच्छिन्द्र बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक, बाङ्गेमुढा, असन कमलाक्षी हुँदै जमलको तीनधारा पाठशालामा ल्याइ रथमा विराजमान गराइन्छ । त्यसपछि रथ तान्न सुरु हुन्छ ।

रथजात्राका लागि काठमाडौं महानगरपालिकाले रुट निर्धारण गरिदिएको छ । रथजात्रा हुने सडकहरुमा सबै प्रकारका सवारी साधनलाई प्रवेश निषेध गरिएको महानगरपालिकाले जनाएको छ ।

वैशाख ४ गते रथलाई तीनधारा पाठशाला, घण्टाघर, रत्नपार्क, भोटाहिटी हुँदै असन पु¥याइएको छ । चैत ५ गते असन, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोका परिसर पुर्याइने छ ।

चैत ६ गते सो रथलाई हनुमानढोका दरबार परिसर, मरु टोल, चिकँमुगल, जैसीदेवल ज्याबहाल हुँदै लगन चोक पुर्याइन्छ । मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन छ ।

पानी, सहकाल र दीर्घजीवनको कामना गर्दै यो रथजात्रा निकाल्ने गरिन्छ । सेतो मच्छिन्द्रनाथलाई करुणाको खानी रुपमा पनि लिइन्छ ।

मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?