+
+

चामलदेखि खानेतेलसम्म किन्नुअघि हेर्नैपर्छ यी ६ कुरा

आरेम कार्की आरेम कार्की
२०७९ फागुन १४ गते १४:५९

खानेतेल त छाकैपिच्छे प्रयोग गरिन्छ । तर तेल खरिद गर्नुअघि त्यसको प्याकेटमा लेखिएका कुरा हेर्छौं ? चामल किन्नुअघि त्यसको प्याकेटमा के लेखिएको छ चासो दिन्छौं ?

खाजानास्ताको रुपमा चाउचाउ-बिस्कुट अनिवार्यजस्तै भइसकेको छ । तर यी खानेकुरा खरिद गरिरहँदा उक्त प्याकेटमा लेखिएका कुराहरु हामी ध्यान दिन्छौं ?

हाम्रो बानी के छ भने कुनैपनि सामग्री खरिद गर्नुअघि त्यसको मूल्यमा मात्र मोलमोलाइ गर्ने । आफूले किन्न लागेको सामग्री गुणस्तरीय छ वा छैन ? कहिले उत्पादन भएको जस्ता कुरामा हाम्रो ध्यान नै जाँदैन । कतिसम्म भने औषधि खरिद गर्दा त्यसको उत्पादन मिति र गुज्रिने मितिसम्म हेर्न जाँगर चलाउँदैनौं ।

हामीलाई थाहा नै छ, अहिले धेरैजसो खानेकुरा बजारमा प्याकेटबन्द आउने गरेका छन् । चाहे चामल होस् वा नुन, चाहे खानेतेल होस् वा दाल । यस्ता खानेकुरा उत्पादन गरेर बजारमा ल्याउनुअघि त्यसको उत्पादन मितिदेखि त्यो कहाँ बनेको, कसरी बनेको, के-के मिश्रण गरिएको उल्लेख गरिएको हुन्छ ।

किनभने कुनैपनि खानेकुराको एउटा निश्चित आयु हुन्छ र सो अवधि गुज्रिएपछि खानका लागि अयोग्य मानिन्छ । त्यसैले खानेकुरामा उल्लेख गरिएका ती कुरा मानव स्वास्थ्यका हिसाबले अत्यन्तै संवेदनशील हुन्छ । अतः प्याकेटबन्द वा बजारमा उपलब्ध त्यस्ता खानेकुरा खरिद गर्नुअघि त्यसमा लेखिएका मूल्यसूचीदेखि गुज्रिने म्यादसम्म हेर्नु जरुरी हुन्छ । साथै उक्त खानेकुराका बारेमा दिइएका अरु विवरण पनि हेर्नैपर्ने हुन्छ ।

खासगरी प्याकेटबन्द खानेकुरा खरिद गर्दा यी ६ कुरा हेर्नैपर्छ ।

१. प्याकेजिङ

यदि प्याकेट बन्द खाद्यान्न किन्दै हुनुहुन्छ भने सबैभन्दा पहिले त्यसको प्याकेजिङ हेर्नुहोस् । सिल गरिएको वा प्याकेट बन्द गरिएका उत्पादनहरूको सिल जाँच गर्नुहोस् । यदि प्याकेजिङ बिग्रिएको छ वा ब्रान्डको नाम अलि फरक छ भने त्यसलाई नकिन्नु उचित हुन्छ । ब्रान्डको नाम फरक छ वा प्याकेजिङ बिग्रिएको छ भने त्यो खाद्यवस्तु नक्कली हुन सक्छ ।

२. उत्पादन मिति र उपभोग गरिसक्नुपर्ने अवधि

प्याकेट बन्द खाद्यान्न किन्दा उत्पादन मिति र उपभोग गरिसक्नुपर्ने अवधि (एक्सपायरी डेट) हेर्न भुल्नु हुँदैन । मिति हेरियो भने उत्पादन धेरै पुरानो वा म्याद सकिएको छ कि छैन भन्ने कुरा थाहा पाउन सकिन्छ ।

यदि उत्पादनको मितिमा कुनै परिवर्तन गरिएको देखिन्छ भने त्यो रिसाइकल सामग्री हुन सक्छ । जसले विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

३. अधिकतम मूल्य

कुनैपनि प्याकेट बन्द खाद्यान्न खरिद गर्दा प्याकेटमा त्यस खाद्यान्नको अधिकतम मूल्य हेर्नुपर्छ । यसो गर्दा बिक्रेताले खाद्यान्नको मूल्यमा केही हेरफेर गरेको छ कि भन्ने कुरा थाहा हुन्छ ।

४. के-के मिसाएर बनाइएको हो ?

प्याकेट बन्द गरिएको कुनै पनि खाद्यवस्तु किन्नुअघि प्याकेटको पछाडिको भाग जाँच गर्नुपर्छ । त्यहाँ लेखिएको जानकारी खासमा उपभोक्ताका लागि निर्देशिकाजस्तै हो ।

कानुनअनुसार प्याकेज गरिएका वस्तुहरू बिक्री गर्ने सबै कम्पनीले उक्त वस्तुमा रहेका सम्पूर्ण सामग्रीको नाम र परिमाण उल्लेख गरेको हुन्छ । के-के मिसाइएको छ ? कति मात्रामा मिसाइएको छ भन्ने जानकारी त्यहाँ हुन्छ ।

५. कुन तत्त्व बढी छ ?

खाद्यान्न खरिद गर्दा त्यसमा कुन तत्त्व बढी छ भन्ने कुरा पनि हेर्नुपर्छ । खासगरी प्याकेट बन्द चिप्स, चाउचाउ लगायत खानेकुरामा सोडियमको मात्रा बढी हुन्छ । सोडियम बढी भएको खानेकुरा उच्च रक्तचापको बिरामीले प्रयोग नगरेको राम्रो हुन्छ । त्यसरी नै कुनैमा ट्रन्सफ्याट, कुनैमा चिनीको मात्रा बढी भएको हुन सक्छ । त्यसैले कुन तत्त्व बढी मात्रामा छ भनेर हेरेर मात्र किन्नु उचित हुन्छ ।

६. रङ र बनावट

कुनै प्याकेट बन्द खाद्यान्न पारदर्शी प्याकेटमा बन्द गरिएका हुन्छन् । त्यस्ता खाद्यान्नको रंग र बनावट हामी प्याकेट बाहिरबाट पनि नियाल्न सक्छौं । यस्तो अवस्थामा खाद्यान्नको रंग तथा बनावट परिवर्तन भएको छ वा छैन भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । रंग तथा बनावटमा परिवर्तन भएको छ भने त्यो बिग्रिएको हुन सक्छ ।

जान्नैपर्ने कुरा

बजारमा अहिले सबैजसो खानेकुरा प्याकेटबन्द उपलब्ध हुन्छन् । हामीलाई खरिद गर्न पनि त्यस्तै सजिलो लाग्छ । सहरका सुपरस्टोरदेखि किराना पसलसम्ममा त्यस्ता खानेकुरा छ्यापछ्याप्ती हुन्छन् । तर यस्ता खानेकुरा खरिद गर्नुअघि त्यहाँ उत्पादन मिति, म्याद गुज्रिने मिति, तौल, अधिकतम मूल्य आदि उल्लेख छ वा छैन हेर्नैपर्छ । यदि यी कुराहरु उल्लेख छैन वा स्पष्ट छैन भने त्यो कमसल हुने जोखिम धेरै हुन्छ । त्यसैले त्यस्ता खानेकुरा किन्न हुँदैन ।

(कार्की पोषणविद् हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?