+
+

लिग टुमा नेपालको लगातार पाँचौं जित, पीएनजी ४ विकेटले पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १५ गते १८:४६

१५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेल नेपालले ४ विकेटले जितेको छ ।

लिग टुमा नेपालको यो लगातार पाँचौं जित हो । यसअघि घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियासहितको शृंखलामा नेपालले सबै चार खेल जितेको थियो ।

जितपछि नेपालले २९ खेलबाट २८ अंक जोडेको छ । छैटौं स्थानमा रहेको नेपाल पाँचौं स्थानको युएई भन्दा १ अंकले पछि छ । नेपालले अब शृंखलामा दोस्रो खेल बिहीबार युएईसँग नै खेल्नेछ ।

पपुवा न्युगिनीसँगके खेलमा ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेपछि दुबईमा २०४ रनको लक्ष्य नेपालले ४५.२ ओभर खेल्दै ६ विकेट गुमाएर २०७ रन बनाउँदै पूरा गर्‍यो । कुशल भुर्तेलले ६९ बल खेल्दै ५ चौका मद्दतमा सर्वाधिक ५६ रन बनाए ।

नेपालले लक्ष्य पछ्याउने क्रममा उत्कृष्ट सुरुवात गरेका थिए । पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ७६ रनको साझेदारी गरे । आसिफ शेखले रनआउट हुनुअघि ३९ बल खेल्दै ५ चौका मद्दतमा ४४ रन बनाए ।

त्यसपछि आएका ज्ञानेन्द्र मल्ल ३ रनमै बोल्ड भए । कप्तान रोहित पौडेल २० रन बनाएर आउट हुँदा नेपाल १३५-४ को स्थितिमा थियो । त्यसपछि आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय साझेदारी गर्दै नेपालको जितको आधार तयार गरे ।

आरिफ र दीपेन्द्रले पाँचौं विकेटका लागि ५४ रनको साझेदारी गरे । दीपेन्द्रले ४३ बल खेल्दै १ छक्का मद्दतमा २२ रन जोडेर ३९औं ओभरमा आउट भए ।

लगत्तै अर्को ओभरमा आरिफ पनि आउट भए । आरिफले ६२ बल खेल्दै १ चौका मद्दतमा ३३ रन बनाए । छक्का प्रहार गर्दै नेपालको जित पक्का गरेका कुशल मल्लले अविजित १२ जोडे ।

सोमपाल कामी ५ रनमा अविजित रहे ।

पीएनजीका लागि कप्तान असद भालाले ३ तथा नर्मन भानुअ र सेसे बाउले १-१ विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २०३ रन बनाएको थियो ।

सुरुको ३० ओभरमा १०० रन बनाएको पीएनजीले त्यसपछि २० ओभरमा १०३ रन बनाएको थियो । बलिङमा राम्रो सुरुवात गरे पनि नेपालले डेथ ओभरमा त्यसलाई कायम राख्न नसक्दा पीएनजीले २०० रन कटाएको थियो ।

पीएनजीले अन्तिम पाँच ओभरमा ४३ रन जोडेको थियो ।

पीएनजीका लागि चाड सपर र कप्तान असद भालाले सर्वाधिक ३६-३६ रन बनाए । सातौं नम्बरमा ब्याटिङ गरेका सपरले ५३ बल खेल्दै २ चौका मद्दतमा अविजित ३६ रन बनाएका हुन् ।

५३ बल नै खेलेका भालाले ४ चौका प्रहार गरे । यस्तै सेस बाउले ३१, विकेटकिपर किपलिन डफरिगाले २९ र नोर्मन भानुअले २५ रन बनाए । हिरी हिरी १० रन बनाएर आउट भए ।

पीएनजीका लागि डोरिगा र सेसे बाउले दोस्रो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए ।

यस्तै चाड सपर र नोर्मन भुनले आठौं विकेटका लागि ४३ रनको साझेदारी गरे ।

नेपालका लागि गुल्शन झाले सर्वाधिक ३ विकेट लिए । ९ ओभर बलिङ गरेका उनले २८ रन खर्चिए ।

कुशल मल्लले ८ ओभर बलिङ गर्दै ४३ रन खर्चेर २ विकेट लिए ।

सोमपाल कामी, करण केसी र डेब्युटान्ट प्रतिश जिसीले समान १ विकेट लिए ।

सोमपालले ६ ओभरमा १ मेडन राख्दै १७ रन मात्र खर्चिए । करणले ९ ओभरमा २ मेडन राख्दै ३० रन खर्चिए । नेपाली बलरहरुमध्ये केही महँगा बनेका प्रतिशले पहिलो खेलमा ६ ओभर बलिङ गर्दा ३७ रन खर्चिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?