+
+

यू-१९ विश्वकप पुग्न नेपाललाई एक जित आवश्यक, यूएईको चुनौती पार गर्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते १९:१३

१७ फागुन, काठमाडौं । अर्को वर्ष शीलंकामा आयोजना हुने यू-१९ क्रिकेट विश्वकपमा छनोट हुने लक्ष्यसहित यूएई पुगेको नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिम अब लक्ष्य पूरा गर्नबाट एक खेल मात्र टाढा छ ।

सिंगल राउण्ड रोविनका आधारमा भइरहेको यू१९ विश्वकप एसिया छनोटमा नेपालले लगातार खेल जितिसकेको छ ।

६ राष्ट्र सम्मिलित छनोटमा नेपाल र आयोजक यूएईले सबै चार खेल जितेर अपराजित छन् ।

अब लिगको अन्तिम खेलमा नेपाल र यूएई बिहीबार भिड्दैछन् । लिगको खेल भए पनि यो खेल फाइनल जस्तै हुनेछ । जित्ने टिम यू-१९ विश्वकपमा पुग्नेछ भने हार्ने टिमको विश्वकप खेल्ने सम्भावना सकिनेछ ।

यसअघि नै हङकङ, मलेसिया, सिंगापुर र कुवेत विश्वकप पुग्ने होडबाट बाहिरिसकेका छन् । सन् २०१६ मा पछिल्लो पटक बंगलादेशमा यू-१९ विश्वकप खेलेपछि उमेर समूहको टिमले फेरि विश्वकप खेल्न सकेको छैन ।

पछिल्लो तीन यू-१९ विश्वकपमा नेपाल छनोट हुनै सकेन । सन् २०१८ मा भएको यू-१९ विश्वकपमा नेपाल अफगानिस्तान भन्दा पछि पर्दै छनोट हुन सकेन ।

पछिल्ला दुई संस्करणमा भने नेपालका लागि यूएई नै बाधक बनेको थियो । २०२० को विश्वकप छनोटमा नेपाल यूएईसँग वर्षाले प्रभावित खेलमा १ रनले पराजित भएको थियो र त्यही १ रनको हार नै नेपालको लागि विश्वकपको ढोका बन्द गर्न निर्णायक बन्यो ।

त्यसबेला नेपालले दिएको २४७ रनको लक्ष्य पछ्याएको यूएईले ३० ओभरमा ३ विकेट गुमाएर १२२ रन बनाउँदा वर्षाका कारण खेल नै रद्ध भएपछि डकवर्थ लेविस नियमले यूएई १ रनले विजयी भएको थियो ।

गत वर्ष यू-१९ विश्वकप हुँदा कोभिड-१९ को कारण एसिया लगायत केही क्षेत्रको छनोट प्रतियोगिता हुन सकेन ।

नेपाल युवा टोलीले छनोट प्रतियोगिता जित्दै विश्वकप खेल्ने लक्ष्य राखेको थियो । तर कोभिड-१९ बाधक बन्दा यूएई भाग्यमानी बन्यो भने नेपाल अभागी ।

आईसीसीले यू-१९ विश्वकपको पछिल्ला पाँच छनोट प्रतियोगिताको आधारमा टिम छान्दा नेपाल भन्दा अघि रहँदै यूएईले गत वर्ष यू-१९ विश्वकप खेल्यो ।

यसपटक पनि नेपाल र यूएई नै यू-१९ विश्वकप पुग्ने होडमा छन् । घरेलु मैदानमै भइरहेको छनोटमा यूएईलाई होम एडभान्टेज हुनेछ ।

तर नेपाललाई ओडीआई मान्यता दिलाउने र २०१६ को यू-१९ विश्वकप खेलाउँदाका प्रशिक्षक जगत टमाटाको प्रशिक्षणमा रहेको युवा टोली यस पटक निकै आत्मविश्वासी छ र विश्वकपमा छनोट हुने लक्ष्य राखेको छ ।

सिनियर टिमबाट खेलिसकेका देव खनालको कप्तानीमा रहेको नेपाली यू-१९ टोलीले यूएईमा गज्बको प्रदर्शन गरिरहेको छ । ब्याटिङ र बलिङ दुवैमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । कप्तान देव र अर्जुन कुमालले एक एक शतक प्रहार गरिसकेका छन् । आकाश त्रिपाठी, विशाल विक्रम केसी, दिपक बोहरा लगायतले ब्याटिङमा राम्रो साथ दिइरहेका छन् ।

बलिङतर्फ फास्ट बलर आकाश चन्द र हेमन्त धामीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । नयाँ बलमा हेमन्त र आकाशको प्रदर्शन राम्रो छ । आकाशले कुवेत विरुद्धको खेलमा ६ विकेट लिएका थिए ।

उनीहरुले राम्रो सुरुवात दिलाएपछि स्पीनरहरु दिपेश कँडेल, सुबास भण्डारी र मिलन बोहराले त्यसलाई कायम राख्दै किफायती बलिङ गरिरहेका छन् ।

आकाशले तीन खेल खेल्दै नेपालका लागि सर्वाधिक ११ विकेट लिइसकेका छन् ।

चारै खेल खेलेका हेमन्तले ७ विकेट लिएका छन् । दीपेशले ३ खेलमा ७ विकेट लिएका छन् ।

चारै खेल खेल्दै किफायती बलिङ गरेका स्पीनर सुबासले ५ विकेट लिएका छन् । यसैको नतिजा नेपालले लगातार चार खेल जितेको छ ।

नेपालले पहिलो खेलमा सिंगापुर र दोस्रो खेलमा कुवेत विरुद्ध पहिला ब्याटिङ गर्दै ठूलो स्कोर बनाएर फराकिलो रन अन्तरको जित निकालेको थियो ।

त्यसपछि हङकङ र मलेसिया विरुद्ध भने पहिलो बलिङ गर्दा विपक्षीलाई कम स्कोरमा अलआउट गर्दै चाँडै लक्ष्य पूरा गरेको थियो ।

प्रशिक्षक टमाटाले नेपाली टिममा रहेका सबै खेलाडीलाई अवसर दिएका छन् । टिममा रहेका १४ खेलाडीले नै कम्तीमा एक खेल खेलेका छन्

यूएईका टप अर्डरले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । ओपनर आर्यन सक्सेना, आर्यशं शर्मा र ध्रुव पारासारले राम्रो ब्याटिङ गरिरहेका छन् । ध्रुवले अलराउण्ड प्रदर्शन गरेका छन् ।

उनले एक खेलमा ५ विकेट समेत लिएका थिए । ध्रुवले दुई अर्धशतक बनाउनुका साथै १० विकेट लिइसकेका छन् । यूएईको मिडल अर्डर खासै परीक्षण हुन पाएको छैन । बलिङमा कप्तान आयन खानलाई ध्रुवसहित हर्सिथ सेट, अरित सेट्टी र अमर बदामीले राम्रो साथ दिइरहेका छन् ।

सुरुमा गुलशन झाले यू-१९ टिमको कप्तानी गर्ने तय भए पनि सिनियर टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले गुलशनलाई लिग टूका लागि सिनियर टिममा राखे पनि देवले कप्तानी सम्हालेका थिए । देवको कप्तानीमा नेपालले गत वर्ष यू-१९ एसिया कप समेत खेलिसकेको छ । गुलशनद्ये लिग टुको पहिलो खेलमा पपुवा न्यु गिनी विरुद्ध उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका थिए ।

केही समयअघि घरेलु मैदानमा नेपालको सिनियर टिमले स्कटल्याण्ड र नामिबिया सम्मिलित लिग टुको शृखंला क्लिन स्वीप गरेपछि अहिले यू-१९ टिम पनि उत्साहित बनेको छ र उनीहरुको आत्मविश्वास खेलमा पनि देखिएको छ ।

त्यही लय र आत्मविश्वासलाई कायम राख्दै यूएई विरुद्धको अन्तिम खेल जित्दै विश्वकप पुग्ने लक्ष्यमा नेपाल छ ।

यूएईले पनि चारवटै प्रतिद्वन्दी सहजै हराएको छ । चार टिम नेपाल र यूएई भन्दा तुलानात्मक रुपमा केही तल रहेकोले नेपाल र यूएईको मुख्य परीक्षा अन्तिम खेलमै हुनेछ । सिनियर टिमबाट खेलिसकेको आयन अफजल खानलको कप्तानीमा रहेको यूएई-१९ टिममा गत संस्करणको यू-१९ विश्वकप खेलेका तीन खेलाडी छन् । कप्तान आयनसँगै ध्रुव पारासार र आर्यस शर्माले गत वर्ष यू_१९ विश्वकप खेलेका थिए ।

छनोटमा चार खेलमा नेपालको नतिजा

सिंगापुर विरुद्ध ९६ रनले विजयी

कुवेत विरुद्ध २४३ रनले विजयी

हङकङ विरुद्ध ९ विकेटले विजयी

मलेसिया विरुद्ध १० विकेटले विजयी

यूएईको चार खेलको नतिजा

मलेसिया विरुद्ध ७ विकेटले विजयी

हङकङ विरुद्ध १६३ रनले विजयी

सिंगापुर विरुद्ध ८ विकेटले विजयी

कुवेत विरुद्ध ८ विकेटले विजयी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?