+
+

गुल्सनलाई नफापेको यू-१९ क्रिकेट

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २४ गते १९:३६

२४ माघ, काठमाडौं । पुस तेस्रो साता नेपाली युवा टोली त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा एसीसी यू–१९ एसिया कपको तयारीमा व्यस्त थियो । समर्थक र शुभचिन्तक खेल्नु अगावैदेखि उत्साहित थिए ।

त्यसको मुख्य कारण सिनियर टोलीका अलराउन्डर गुल्सन झा यू–१९ टोलीबाट खेल्ने नेपाल क्रिकेट संघ (क्यान) को निर्णय थियो ।

पछिल्लो एक वर्षमा उनले सिनियर टोलीबाट महत्वपूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । आईसीसी विश्वकप लिग–२ को अन्तिम खेल युएईविरुद्ध ३११ रनको लक्ष्य पछ्याउने क्रममा उनले महत्वपूर्ण ५० रनको अविजित इनिङ खेलेका थिए ।

त्यसपछि नेपाल ४४ ओभरमा २६९–६ को अवस्थामा हुँदा डकवर्थ लेविस पद्धतिको आधारमा ९ रनले विजयी भएको थियो ।

कप्तान मोहम्मद वासिमलाई ४२ औं ओभरमा गुल्सनले एक छक्का र तीन चौका हान्दै २० रन जोडेका थिए । डकवर्थ लेविसमा जित्ने आधार पनि त्यही ४२ औं ओभर थियो ।

गुल्सनको क्रिकेट यात्रा नेपालमा तीव्र गतिको बलरको रुपमा भएको हो । गति र बाउन्समा प्रभाव छाडेपछि सन् २०२१ को काठमाडौं मेयर्स कपमा नेपाल पुलिस क्लबबाट खेलेको दुई खेलकै आधारमा नेपालले उनलाई २०२१ सेप्टेम्बरमा ओमान भ्रमणमा राष्ट्रिय टिमको टोलीको सदस्यमा समावेश गरेको थियो ।

बलिङमा केही आलोचना झेल्दा गुल्सनले ब्याटिङबाट तारिफ पाउँदै आएका थिए । त्यही खेलमा उनले ८ ओभरमा ६४ रन खर्चिएका थिए ।

मे १ मा एसीसी प्रिमियर कपको फाइनलमा त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रमा नेपाल २२–३ को अवस्थामा पुगेको थियो । गुल्सनले ८४ बलमा ३ चौका र ६ छक्कासहित ६७ रनको अविजित इनिङ खेल्दै एसिया कपमा भारत र पाकिस्तानसँग भेट पक्का गराएका थिए ।

त्यसपछि विश्वकप छनोट २०२३ को जुनमा वेस्ट इन्डिजसँग ४२ र आयरल्यान्डसँग ५७ रन बनाएका थिए । विश्व क्रिकेटका दुई पावर हाउस भारत र पाकिस्तानसँग सेप्टेम्बरमा एसिया कप खेले ।

२४ ओडीआईमा उनले ३ अर्धशतकसहित ४८८ रन बनाउनुको साथै २१ विकेट लिएका छन् । १४ टी–२० आईमा १४१ रन बनाउँदा १२ विकेट उनको नाममा छ ।

त्यसैले धेरैले गुल्सनबाट यू–१९ क्रिकेटको सदस्यको रुपमा पनि नेपाली क्रिकेट समर्थकले धेरै आशा राखेका थिए । उनले शतक वा चार विकेट लिँदै ठूलो टोलीलाई हराउन सक्छन् भन्ने अपेक्षा समर्थक र टोलीभित्र थियो । तर यथार्थमा त्यस विपरीत भयो । बलिया टेस्ट टोलीविरुद्ध बलिङमा प्रभाव देखाएपनि उनको ब्याटिङ चलेन ।

यू–१९ एसिया कप र विश्वकप दुबैमा गुल्सन आफ्नो ब्याटिङ सम्झन चाहँदैनन् । यू–१९ एसिया कपमा पाकिस्तानसँग १, अफगानिस्तानसँग १७ र भारतसँग ४ रन बनाएका थिए । दुबईमा भएको यू–१९ एसिया कपमा पाकिस्तान र अफगानिस्तानविरुद्ध भने उनले २–२ विकेट लिएका थिए ।

समर्थकले गुल्सनले एसिया कपको प्रदर्शनबाट गल्ती सुधार गर्दै यू–१९ विश्वकपमा शानदार प्रदर्शन गर्ने आशा मारेका थिएनन् । स्कटल्यान्डविरुद्ध अभ्यास खेलमा ११४ रनको शतकीय इनिङ खेलेपछि अपेक्षा झनै बढेको थियो । तर यू–१९ विश्वकपमा गुल्सनले ५ खेलमा जम्मा २५ रन मात्रै बनाउन सके ।

पाकिस्तानसँग सर्वाधिक १८, न्युजिल्यान्डसँग २, बंगलोदशसँग ३, अफगानिस्तान र भारतसँगको खेलमा १–१ रन जोडे । भारतविरुद्ध ३ विकेट लिँदा न्युजिल्यान्डविरुद्ध २ र अफगानिस्तानविरुद्ध १ विकेट लिएका थिए ।

यू–१९ क्रिकेट टोलीका कप्तान देव खनाल गुल्सनले बलिङमा भने राम्रो गरेको बताए । ‘क्रिकेटमा सधैं राम्रो हुन्छ भन्ने हुँदैन । सबैलाई थाहा छ गुल्सनको प्रदर्शन भएन । मलाई लाग्छ बलिङमा उसले एकदमै राम्रो गर्‍यो । ब्याटिङमा त्यस्तो राम्रो गर्न सकेन । गुल्सन झा भनेको कुन खेलाडी हो पूरै नेपालीलाई थाहा छ’, कप्तान देवले भने, ‘उसले नेपाललाई कतिवटा खेल जिताएको छ । ओडीआई स्टाटस रिटेनदेखि एसिया कप खेल्नमा गुल्सनको योगदान महत्वपूर्ण थियो ।’

नेपाली यू–१९ टोलीका मुख्य प्रशिक्षक जगत टमाटा विश्वकप खेलका तीन दिन गुल्सनका लागि खराब भएको बताउँछन् । ‘उसको ब्याडलक हो । खेल्दा खेल्दै पनि भएन । खराब दिन पनि हुने रहेछ भनेर प्रमाणित भएको छ’, टमाटाले भने ।
गुल्सनले आगामी दिनमा झनै राम्रो गर्नसक्ने क्षमता रहेको टमाटा बताउँछन् । ‘उसले धेरै कुराहरु सिकेको छ । गुल्सन भनेको नेपालको हिरो हो । आगामी दिनमा राम्रो खेल्न म शुभकामना दिन्छु’, टमाटाले थपे ।

धेरै क्रिकेट विश्लेषकहरु गुल्सनबाट उच्च अपेक्षा राखेका कारण उसले पूरा गर्न नसकेको बताए । राम्रो प्रदर्शन गर्न उसलाई राष्ट्रिय टोलीमा सहभागी भएदेखि नै दबाब थियो । यु–१९ विश्वकपमा त्यो दबाबका कारण उनको ब्याट खुल्न सकेन ।

गुल्सन पनि प्रतियोगितामा आफ्नो प्रदर्शनबाट सन्तुष्ट छैनन् । ‘मैले त्यस्तो दबाब केही लिएको थिइनँ । पक्कै पनि अपेक्षाहरु धेरै थियो । म आफैंले पनि धेरै अपेक्षा गरेको थिएँ’, उनले भने । उनी विश्वकपमा आफ्नो खराब समय चलिरहेको भनेर चित्त बुझाउँछन् ।

‘बलिङ त राम्रो भएको थियो । तर ब्याटिङमा रन आएन कहिलेकाहीँ यस्ता दिनहरु पनि हुन्छ । यसलाई इन्जोय (रमाइलो) गर्ने हो । एउटा खेलाडीको जीवनमा सबै हुन्छ । यो बुझ्नुपर्छ’, उनले भने ।

बिहीबारदेखि सोमबारसम्म क्यानडासँग त्रिवि क्रिकेट मैदानमा हुने तीन ओडीआई सिरिजमा नेपालले उनलाई विश्राम दिएको छ ।

फेब्रुअरी १५ देखि २५ सम्म नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदान त्रिविमा हुने आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा भने उनी टोलीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?