+
+
आईसीसी क्रिकेट विश्वकप लिग टू :

नेपालको लयमा यूएईले लगायो ब्रेक

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते १८:०९

१८ फागुन, काठमाडौं ।ब्याटिङमा कमजोर प्रदर्शन गरेपछि आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृंखलाको आफ्नो दोस्रो खेलमा नेपाल घरेलु टोली यूएईसँग पराजित भएको छ ।

लिग टू शृंखलामा घरेलु मैदानमा शतप्रतिशत जित निकाल्दै यूएई पुगेको नेपालले लगातार पाँचौं जित निकाल्ने क्रममा गएको सोमबार पपुवा न्युगिनीलाई पराजित गरेको थियो ।

नेपाल टिमले पछिल्लो तीन साता उत्कृष्ट क्रिकेट खेल्दै ब्याटिङमा उल्लेख्य सुधारिएको प्रदर्शन गरेको थियो । तर टक्करको प्रतिस्पर्धी यूएई र विदेशी विकेट कन्डिसनमा फेरि एकपल्ट नेपालको ब्याटिङ उदांगिएको छ ।

यूएई जानुअघि कप्तान रोहितकुमार पौडेल र नवनियुक्त प्रशिक्षक मोन्टी देशाईले यूएईको परिस्थितिका लागि विशेष योजना बनाइरहेको बताएका थिए । बिहीबार सन्दीप लामिछाने प्रेरित नेपालको बलिङ आक्रमण अपेक्षाकृत रहँदा ब्याटिङमा भने धेरै कमजोरीहरु एकसाथ उजागर भएका छन् ।

पाँचौं नम्बरमा आएका कुशल मल्लले ६० रनको अर्धशतकीय पारी खेले पनि अन्य ब्याटरहरु सस्तैमा आउट भए । नेपालका प्रमुख ब्याटरहरु ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल र आरिफ शेखले रन बनाउनै नसक्नु दुवईमै हुने आगामी दुई खेलका लागि नेपालका लागि चिन्ताको विषय हो । २०८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ३१.५ ओभरमा १३९ रनमै अलआउट भयो । यसले खेलाडीहरुले क्रिजमा टिकेर विकेट बचाउने धैर्यतासमेत नदेखाएको प्रष्ट हुन्छ ।

यूएईलाई जिताउन धेरैपल्ट नेपालमा आएर फ्रेन्चाइज क्रिकेट खेलेका रोहन मुस्ताफाले अलराउण्ड प्रदर्शन गरे । ब्याटिङमा संयमित हुँदै अविजित ५२ रन बनाएका उनले बलिङमा ३ विकेट लिए ।

यूएईसँग पराजित भएपछि लिग टू को शीर्ष तीनमा रहेर विश्वकप छनोटमा पुग्ने नेपालको सम्भावना कठिन बनेको छ । अब नेपालले शीर्ष तीनमा पर्न बाँकी रहेको ६ वटै खेल जित्नुपर्नेछ । तर, शीर्ष पाँचभित्र रहेर नेपालले एकदिवशीय मान्यता कायमै राख्न भने चार खेल जितेमात्र पनि सम्भव छ । यो खेल जितेर लिग टू शृंखलाको पाँचौं स्थानमा पुग्ने अवसरसमेत नेपालले गुमाएको छ ।

नेपालको ३० खेलबाट २८ अंक छ भने यूएईको समान खेलबाट ३१ अंक भएको छ । चौथो स्थानमा रहेको अमेरिकाले सबै खेल खेलेर ३५ अंक जोडेको छ । लिगका सबै ३६ खेलबाट स्कटल्याण्ड ५० अंकसहित लिग विजेता बन्दा समान खेलबाट ओमानको ४४ अंक छ भने नामिवियाको ३७ अंक छ ।

नेपालले यसअघिका पाँचै खेलमा टस जितेर पहिले बलिङ गर्दै लक्ष्य पछ्याएर जित निकालेको थियो । आजको खेलमा पनि नेपालले टस जितेर नै पहिला फिल्डिङ गरेको हो ।

लिग टू मा नेपालले यूएईलाई पराजित गर्न सकेको छैन । लिग टू को तीन खेलमै नेपाल यूएईसँग पराजित भएको छ । गत नोभेम्बरमा नेपालमै भएको ओडीआई शृखंलामा नेपालले यूएईलाई २–१ ले जितेको थियो । तर त्यो प्रदर्शन यूएई विरुद्ध दोहोर्‍याउन सकेन ।

कुशलले ५३ बल खेल्दै ९ चौका र १ छक्का मद्दतमा सर्वाधिक ६० रन बनाए । ११औं नम्बरमा ब्याटिङ गरेका सन्दीप लामिछानेले २४ बल खेल्दै ४ चौका मद्दतमा अविजित २६ रन बनाए । ओपनर आसिफ शेखले १७ रन जोडे । तीन खेलाडी खाता नखोली आउट भएको नेपाली इनिङ्समा बाँकीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कप्तान रोहित पौडेल, ज्ञानेन्द्र मल्ल र आरिफ शेखले एक रन पनि बनाउन सकेनन् । ओपनर कुशल भुर्तेल ५ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरी ७, गुल्शन झा र सोमपाल कामी समान ४ रनमा आउट भए ।

नेपाललाई अलआउट गर्न यूएईका अलराउण्डर रोहन मुस्ताफाले १० ओभरमा २ मेडन राख्दै ३१ रन खर्चेर ३ विकेट लिए । यस्तै अर्का स्पीनर कार्तिक मेइयाप्पन ८.५ ओभरमा १ मेडन राख्दै २६ रन खर्चेर ३ विकेट लिए । फास्ट बलर जुनैद सिद्दिकीले २ तथा सबिर अली र जहुर खानले समान १ विकेट लिए ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोली यूएईले ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन बनाएको थियो ।

ओपनर आसिफ खान र रोहन मुस्ताफाको अर्धशतक मद्दतमा यूएईले २०० रनको स्कोर पार गरेको थियो । यूएईका लागि आसिफ खानले सर्वाधिक ७२ रन बनाए । रोहन मुस्ताफाले अविजित ५२ रन बनाए ।

पहिलो ओभरमै ओपनर मुहम्मद वासिमलाई नेपालका करण केसीले बोल्ड गरेपछि आसिफ खानले एक छेउबाट इनिङ्स सम्हालेका थिए । उनले दोस्रो विकेटका लागि भृत्य अरभिन्दसँग ४६ रनको साझेदारी गरे । अरभिन्दले १८ रन जोडे ।

नेपालका सन्दीप लामिछाने अरभिन्दलाई कुशल भुर्तेलबाट क्याचबउट गराए । श्याम ढकालको स्थानमा नेपाली टिममा समावेश भएका सन्दीप बुधबार यूएई गएका थिए । उनी अघिल्लो खेलमा पपुवा न्युगिनीविरुद्ध डेब्यू गरेका प्रतिश जिसीको स्थानमा प्लेइङ सेटमा थिए ।

यस्तै आसिफ खानले तेस्रो विकेटका लागि कप्तान सिपी रिजवानसँग ४३ रनको साझेदारी गरे । २२ रन बनाएरका कप्तान रिजवानलाई कुशल मल्लले दीपेन्द्र ऐरीबाट क्याचबउट गराए ।

आसिफले ३७औं ओभरमा आउट हुनुअघि रोहन मुस्ताफासँग चौथो विकेटका लागि ५० रनको साझेदारी गरे ।

आसिफ खानले ९९ बल खेल्दै ५ चौका र ३ छक्का मद्दतमा ७२ रन बनाए । उनलाई सन्दीपले करण केसीबाट क्याचआउट गराए ।

त्यसपछि क्रसमा आएका आलिसान शाराफुलाई आसिफ शेखले बोल्ड गरे । मुस्ताफा र आर्यल लाक्राले छैटौं विकेटका लागि ५८ रनको साझेदारी गर्दै यूएईको स्कोर २०० र्पुयाएका थिए । सन्दीपले ४९औं ओभरमा लाक्रालाई बोल्ड गर्दै साझेदारी तोडेका थिए । लाक्राले २८ रन बनाए ।

मुस्ताफाले अन्तिमसम्म खेल्दै ७५ बल खेल्दै २ चौका मद्दतमा ५२ रन बनाए । अन्तिम ओभरमा यूएईका दुई खेलाडी रनआउट भए ।

७ बलर प्रयोग गरेको नेपालका लागि सन्दीपले १० ओभर बलिङ गर्दै २७ रन खर्चेर ३ विकेट लिए ।

आरिफ शेखले ९ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए । कुशल मल्लले ५ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । यस्तै कर केसीले ७ ओभरमा १ मेडन राख्दै ४३ रन खर्चेर १ विकेट लिए ।

दीपेन्द्र सिंह ऐरीले विकेट नलिए पनि १० ओभर बलिङ गर्दै १ मेडन राखेर ३५ रन मात्र खर्चिए । सोमपाल कामीले ७ ओभरमा १ मेडन राख्दै ३२ रन खर्चिए भने विकेट लिन सकेनन् ।

अघिल्लो खेलमा उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका गुल्शन झाले भने २ ओभर बलिङ गर्दै १५ रन खर्चिए भने विकेट लिन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?