+
+
आईसीसी विश्वकप लिग टू :

आसिफ र सन्दीपको कीर्तिमानी साझेदारीमा नेपालको जित

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १९ गते १८:५१

१९ फागुन, काठमाडौं । ओपनर आसिफ शेख र सन्दीप लामिछाने आठौं विकेटका लागि कीर्तिमानी साझेदारी गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टूमा पपुवा न्युगिनीलाई ३ विकेटले हराएको छ ।

ओपनर आसिफले धैर्यपूर्वक ब्याटिङ गर्दै अविजित ८६ रन बनाएपछि पपुवा न्युगिनीले दिएको १८० रनको लक्ष्य नेपालले ४८ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गर्यो ।

ब्याटिङमा नेपालको सुरुवात निकै खराब थियो । इनिङको पहिलो बलमै कुशल भुर्तेललाई गुमाएको नेपालले १०५ रन बनाउँदा ७ विकेट गुमाइसकेको थियो । सातौं विकेटका रुपमा कुशल मल्ल २३ रनमा आउट भएपछि सन्दीप ब्याटिङमा आएका थिए । प्रशिक्षक मोन्टी देशाईले यूएईविरुद्ध आक्रामक ब्याटिङ गरेका सन्दीपलाई करण केसी र सोमपाल कामीभन्दा अगाडि पठाएका थिए ।

सन्दीपले क्रिजमा टिकेर खेलिरहेका आशिफलाई साथ मात्र दिएनन्, आक्रमक ब्याटिङलाई निरन्तरता दिए । दुबैले आठौं विकेटका लागि ७७ रनको कीर्तिमानी साझेदारी गरे ।

यसअघि आठौं विकेटका लागि दीपेन्द्र र सोमपाल कामीले लिग टूमा स्कटल्याण्डविरुद्ध अविजित ५५ रनको साझेदारी गरेका थिए ।

१३० बल सामना गरेका आसिफले २ चौका र १ छक्काको मद्दतमा अविजित ८६ रन बनाए । सन्दीपले ५० बलमा ३ चौकासहित अविजित ३५ रन बनाए ।

सन्दीपले बनाएको ३५ रन करियरकै कुनै एक इनिङमा बनाएको सबभन्दा उच्च स्कोर हो ।

नेपालका अरु ब्याट्सम्यानले भने दोहोरो अंकसमेत जोड्न सकेनन् । दीपेन्द्र सिंह ऐरी र भीम सार्की समान ८/८ रनमा आउट भए, ज्ञानेन्द्र मल्लले ६ रन बनाए भने कप्तान रोहितकुमार पौडेल र आरिफ शेखले १–१ रन बनाए । कुशल भुर्तेल शून्यमै आउट भए ।

पीएनजीका लागि कप्तान असद भालाले ३ तथा सेमो कामिअ र सेसे बाउले समान २/२ विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको पीएनजीले ४९.२ ओभरमा सबै विकेट गुमाएर १७९ बनाएको थियो । उसका लागि ओपनर टोनी उराले सर्वाधिक ३९ रन बनाए । हिरी हिरीले ३१ र किप्लिन डोरिगाले २६ रन जोडे ।

नेपालका सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान २/२ विकेट लिए भने सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले आफ्नो नाममा एकएक विकेट लेखाएका छन् ।

जितपछि नेपालले ३१ खेलबाट ३० अंकका साथ छैटौं स्थानमै छ । नेपालले अब युएईमा भइरहेको शृखंलामा एक खेल खेल्न बाँकी छ । नेपालले युएईसँग आगामी सोमबार खेल्नेछ ।
त्यसपछि युएई र पीएनजी सहितको अन्तिम शृंखला घरेलु मैदानमा खेल्नेछ । नेपालले लिग टु को शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउन अब बाँकी पाँचवटै खेल जित्नुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?