+
+

वित्तीय समस्या समाधान गर्न सरकारले ठोस निर्णय गर्छ : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते १५:१३

२१ फगुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको वर्तमान वित्तीय समस्या समाधानबारे सरकारले ठोस निर्णय लिने बताएका छन् । आइतबार सिंहदरबारमा निजी क्षेत्रका प्रतिनिधिहरुसँग आयोजित छलफलमा प्रधानमन्त्री दाहालले सारेकारवालाहरुसँग छलफल गरेर समस्या समाधानमा ठोस निर्णय गर्ने बताएका हुन् ।

‘वर्तमान वित्तीय अवस्थाबारे सरकार चिन्तित छ,’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक सरकारी प्रतिनिधिले भने, ‘सरोकारवालासँगको छलफलपछि सरकारले चाँडै अघि बढ्छ, ठोस निर्णय लिन्छ ।’

छलफलमा प्रधानमन्त्री प्रचण्डले बैंकको ब्याज, लघुवित्तका समस्या, व्यवसायीहरूको चासो र वित्तीय अराजकता निम्त्याउन खोज्ने प्रवृत्ति लगायतका विषयलाई सरकारले गम्भीर रूपमा लिएको बताए ।

‘बैंकको ब्याजदरलाई लिएर व्यवसायीका गुनासो देखिएको छ। लघुवित्तका समस्याबारे दिनदिनैजसो समाचार प्रकाशित भइरहेका छन् । व्यवसायीहरूले विभिन्न ढंगले चासो र चिन्ता राखेका छन् । यही मौकामा अराजक तत्वले वित्तीय अराजकता निम्त्याउने कोशिस गरिरहेका छन् । यी सबै परिघटनालाई मैले गम्भीर रूपमा लिएको छु’ प्रधानमन्त्री प्रचण्डले भने ।

अर्थतन्त्र अप्ठ्यारो परिस्थितिमा रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री बनेपछि बसेको मन्त्रिपरिषद्‍को पहिलो बैठकले अर्थतन्त्रका समस्या समाधानका निम्ति निजी र सार्वजनिक क्षेत्रसँगको सहकार्यमा अगाडि बढ्ने निर्णय भएको जानकारी गराए ।

‘सरकार अर्थतन्त्रका चुनौती समाधान गर्न तल्लीन छ। बैंक र लघुवित्तका क्षेत्रमा जनताका गुनासोप्रति म जानकार र सचेत छु । यसलाई के–कसरी समाधान गर्न सकिन्छ, तपाईंहरूको सुझावको अपेक्षा गरेको छु । परिआए समस्या समाधानका निम्ति उच्चस्तरीय आयोग नै बनाउनुपर्ने पनि हुन सक्छ’ ती अधिकारीले भने ।

बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वर्तमानमा अर्थतन्त्रको अवस्थाबारे संक्षिप्त विषय राख्दै अर्थतन्त्रका सूचकहरू सकारात्मक दिशातर्फ अग्रसर भइरहेको बताए ।

बैठकमा निजी क्षेत्रका प्रतिनिधिहरू र बैंकिङ क्षेत्रका प्रतिनिधिहरूले निजी क्षेत्रको अवस्थाको चर्चा गर्दै बैंक तथा लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधानका निम्ति सरकारलाई विभिन्न सुझावहरू प्रस्तुत गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?