+
+

जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु : प्रचण्ड प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ५ गते १४:२५

५ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन् ।

शनिबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले विश्वासको मत प्राप्त हुँदैन कि भन्ने चिन्ता नलिन आग्रह गरे ।

‘७ गतेको दिन विश्वासको मत लिनेछु । यो अवधिमा १३ पटक जति विश्वासको मत लिनुपर्ने परिस्थिति आएको देख्दैछु भनेर कांग्रेसको एक जना नेताले भन्नुभएको थियो, अहिले चौथो पटक लिनु परेको हुनाले यो पाँचौँ, छैटौं पटक लिनुपर्ने हो कि जस्तो त देखिन्छ तर जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा म विश्वस्त छु । धेरै टेन्सन लिनुपर्दैन’, उनले भने ।

३१ वैशाखमा जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । यसअघि प्रधानमन्त्री प्रचण्डले नियुक्ति हुँदा, एमालेले सत्ता गठबन्धन छाड्दा र कांग्रेसले सत्ता गठबन्धन छाड्दा गरी तीन पटक विश्वासको मत लिइसकेका छन् ।

संसदमा आफूलाई विश्वासको मत दिने सांसद संख्या घटबढ भइरहे पनि विश्वासको मत पाउनेमा आशंका नरहेको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले आइतबार विहानसम्म संसद सहज हुने विश्वास रहेको पनि बताए । आफूले सत्तारुढ दलहरु र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग निरन्तर छलफल गरिरहेको भन्दै उनले आइतबार संसद सञ्चालन हुनेमा आशावादी रहेको बताए ।

‘मैले केही दिनदेखि लगातार समीकरण भित्र र प्रतिपक्ष दलसँग पनि छलफल गरिरहेको छु । यो सहमतिको तहमा जाओस् र समाधान होस् भनेर छलफल भइरहेको छ । बिहान प्रमुख प्रतिपक्षसँग छलफल भएको थियो र अहिले नेकपा एमालेसँग छलफल छ । बिहानसम्म कतै न कतै एउटा टुंगोमा पुगोस् भनेर लागेको छु, यो हुन्छ भन्ने विश्वास छ’, प्रधानमन्त्री प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?