+
+

लिग टू मा यूएई तेस्रो पटक पीएनजीसँग पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते १७:१२

२१ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू मा यूएई पपुवा न्यु गिनी (पीएनजी) सँग तेस्रो पटक पराजित भएको छ ।

घरेलु मैदानमा भइरहेको लिग टू अन्तर्गत शृखंलामा यूएई आइतबार पीएनजीसँग ५ विकेटले पराजित भएको हो । जारी शृंखलामा पीएनजीले दोस्रो पटक यूएईलाई पराजित गरेको हो । अघिल्लो खेलमा पीएनजीले यूएईलाई १३१ रनले पराजित गरेको थियो ।

यसअघि २०२२ मार्चमा यूएईमै भएको शृखंलामा पीएनजीले यूएईलाई लिग टू मा पहिलो पटक हराएको थियो ।

पीएनजीले लिग टू मा यो सहित अहिलेसम्म जम्मा चार खेल मात्र जितेको छ । जसमा तीन जित यूएई विरुद्ध हो भने एक खेल अमेरिका विरुद्ध ।

दुबईमा भएको लो स्कोरिङ म्याचमा यूएईले दिएको ९८ रनको लक्ष्य पीएनजीले २६.५ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गर्‍यो ।

पीएनजीका टोनी उराले अविजित ३५ रन बनाए । बलिङमा यूएईका रोहन मुस्ताफाले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएई २६.२ ओभरमा ९७ रनमा अलआउट भएको थियो । यूएईका लागि भृत्य अरभिन्दले सर्वाधिक २६ रन बनाए ।

एईलाई अलआउट गर्न पीएनजीका राइले हेकुरेल ४.२ ओभरमा १ मेडन राख्दै १३ रन खर्चेर ५ विकेट लिए ।

चाड सपरले ३ तथा चार्ल्स अमिनीले १ विकेट लिए ।

यूएईमा जारी शृखंलामा सोमबार नेपाल र यूएईबीच अन्तिम खेल हुनेछ । पीएनजीसँग पराजित भएपछि यूएईलाई शीर्ष तीनमा रहन बाँकी सबै ४ खेल जित्नुपर्ने बाध्यता बनेको छ ।

यस्तै नेपालले पनि शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउन बाँकी पाँचवटै खेल जित्नुपर्नेछ । सोमबार यूएई विरुद्ध हुने खेल नेपालको लागि जित्नैपर्ने अवस्थामा छ । यदी नेपाल यूएईसँग पराजित भए शीर्ष तीनको सम्भावना सकिनेछ ।

शीर्ष पाँचमा रहँदै ओडीआई मान्यता जोगाउन भने नेपालले पाँच मध्ये तीन खेल जिते पुग्नेछ । यूएई ३१ खेलबाट ३१ अंकसहित पाँचौ स्थानमा छ । समान खेलबाट ३० अंकसहित नेपाल छैटौं स्थानमा छ ।

३२ खेलबाट ९ अंक जोडेको पीएनजी अन्तिम स्थानमा छ । लिग टू को शीर्ष तीनमा रहने टोली जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्नेछन् ।

पहिलो स्थानमा रहेको स्कटल्याण्ड र दोस्रो स्थानमा रहेको ओमानले भने विश्वकप छनोटमा स्थान बनाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?