+
+
लिग टू क्रिकेट :

नेपालले यूएईलाई दियो २३० रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २२ गते १५:०५

२२ फागुन, काठमाडौं । भीम सार्कीले एकदिवशीय अन्तर्राष्ट्रिय करिअरको पहिलो अर्धशतकसहित सर्बाधिक ७० रन बनाउँदा आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृंखलाको अन्तिम खेलमा नेपालले यूएईसामू २३० रनको लक्ष्य पेश गरेको छ ।

दुवई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा घरेलु टोलीविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालको मध्यक्रमले संहालिएर खेल्दा निर्धारित ओभरमा ८ विकेट गुमाएर २२९ रनको योगफल खडा गरेको हो ।

कुशल भुर्तेल ग्रोइन इन्जूरीका कारण खेल्न नसक्ने भएपछि नेपालले ओपनिङ जोडी परिवर्तन गरेको थियो । ज्ञानेन्द्र मल्ल र आसिफ शेखको ओपनिङ जोडी प्रभावकारी देखिएन । पावरप्ले (१० ओभर) भित्रै नेपालले दुवै ओपनरलाई गुमाइसकेको थियो । ज्ञानेन्द्रले ११ रन बनाउँदा पपुवा न्युगिनीसँगको खेलमा ८६ रनको पारी खेल्दै टिमलाई जिताएका आशिफ ६ रनमै आउट भए ।

तेस्रो नम्बरमा आएका कुशल मल्लले एउटा छेउबाट विकेट बचाए पनि अर्को छेउबाट कप्तान रोहितकुमार पौडेल १ रन र लिग टूमा अहिलेसम्म ब्याटिङबाट राम्रो प्रदर्शन गर्न नसकिरहेका दीपेन्द्रसिंह ऐरी ४ रनमै आउट भए ।

कुशलले ३२ बलमा ४ चौका र २ छक्कासहित ३२ रन बनाए । १७.१ ओभरमा पाँचौं विकेट गुमाउँदा नेपालले ६८ रनमात्र बनाएको थियो ।

भीम सार्की र सन्दीप लामिछानेले छैटौं विकेटका लागि ५६ रनको साझेदारी गर्दै पारी उकासेका थिए । जारी शृंखलाका अघिल्ला खेलमा राम्रो ब्याटिङ गरेपछि उपल्लो क्रममा तानिएका सन्दीप लामिछाने २७ रन बनाएर आउट भए ।

त्यसपछि आएका आरिफ शेखसँग मिलेर भीमले सातौं विकेटका लागि पनि ५६ रनको अर्को साझेदारी गरे । अरिकरकै उत्कृष्ट ब्याटिङ गर्ने क्रममा भीमले ९९ बलमा ७ चौकासहित ७० रन बनाए । आरिफ ५६ बलमा २ चौका र १ छक्कासहित ४३ रनमा अविजित रहे ।

करण केसी १७ रन बनाएर आउट भए । प्रतिश जिसी ११ रनमा अविजित रहे । नेपालले अन्तिम चार ओभरमा ४३ रन जोडेको थियो । बलिङमा यूएईका जुनियाद सिद्धिकीले ३ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दै ५३ रन खर्चिए । रोहन मुस्तफा र आर्यन लाक्राले २–२ विकेट लिए । कार्तिक मेइयाप्पनले १ विकेट लिए ।

लिग टू शृंखलाको शीर्ष तीनभित्र रहनका लागि नेपालले यो खेल जित्नैपर्ने छ ।

यूएईले केहिबेरमा जवाफी ब्याटिङ गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?