+
+

उपराष्ट्रपतिको उम्मेदवार महिला मात्रै हुन पाउने व्याख्या गलत : जसपा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २६ गते १३:४१

२६ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी जसपाले उपराष्ट्रपतिको उम्मेदवार महिला मात्रै हुन पाउने व्याख्या सही नहुने बताएको छ ।

निर्वाचन आयोगले राष्ट्रपतिमा पुरुष र खसआर्य समुदायका रामचन्द्र पौडेल निर्वाचित भएकाले यो भन्दा फरक लिंग वा समुदायको व्यक्ति उपराष्ट्रपति पदको उम्मेदवार हुनसक्ने भनी विज्ञप्ति निकालेको छ ।

आयोगले विज्ञप्ति निकालेपछि जसपाले निर्वाचन आयोगले पुरुष राष्ट्रपति भएकाले महिला मात्रै उपराष्ट्रपतिको उम्मेदवार हुुन सक्ने भन्न नमिल्ने प्रतिक्रिया दिएको हो ।

‘निर्वाचन आयोगलाई आफूखुसी संविधानको व्याख्या गर्ने अधिकार छैन । यदि उपराष्ट्रपतिको उम्मेदवार महिला मात्रै हुन सक्छ भनियो भने त्यो गलत हुन्छ’ जसपाका सांसद प्रदीप यादवले भने ।

जसपाले उपराष्ट्रपति आफूले पाउनुपर्ने दाबी सत्ता गठबन्धनमा गरेको छ । र उसले बारा-२ बाट प्रतिनिधि सभामा निर्वाचित रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति उठाउने निर्णय नै गरिसकेको छ ।

जसपा निकट श्रोतका अनुसार रामसहायप्रसाद यादव उपराष्ट्रपति भएमा उनको क्षेत्रमा उपनिर्वाचन हुने र त्यहाँबाट उपचुनाव लड्ने अध्यक्ष उपेन्द्र यादवको तयारी छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव गत चुनावमा सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?