+
+

निर्माण व्यावसायी खड्कालाई गोल्ड अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३० गते १२:११

३० फागुन, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले ‘ए’ र ‘बी’ क्लासको उत्कृष्ट गोल्ड अवार्ड निर्माण व्यावसायी सहदेव खड्कालाई प्रदान गरेको छ ।

निर्माण व्यावसायी महासंघको साधारण सभामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भिमेश्वर ड्रिलिङ तथा निर्माण सेवा प्रा. लि भक्तपुरका अध्यक्ष खड्कालाई उत्कृष्ट कार्य गरेको भन्दैं ‘ए’ क्लासको गोल्ड अवार्ड प्रदान गरेका हुन् । खड्का नै अध्यक्ष रहेको अर्को कम्पनी सगुन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रालिले ‘बी’ क्लासको उत्कृष्ट गोल्ड अवार्ड पाउन सफल भएको छ ।

खड्काको कम्पनीले चितवनको भरतपुरमा ६ लेनको सडक, भरतपुरमा सिटी हल, नारायणी नदी तटवन्ध, पूर्वी नवलपरासीको देउराली हुप्सेकोट खानेपानी आयोजना, मध्य पहाडी लोकमार्गको बसन्तपुर म्यागलुङ्ग सडक, कालिगण्डकी करिडोरक रिडि रुद्रवेनी हर्मिचौर सडकखण्ड, मदन भण्डारी राजमार्गको रिडी खज्याङ्ग सडकखण्ड निर्माण गरिरहेको छ ।

नागढुंगा–मुग्लिन सडक विस्तार आयोजनाको कामसमेत गरिरहेका खड्काले प्राप्त अवार्डले थप जिम्मेवार भएर समयमा नै काम गर्ने हौसला प्रदान गरेको बताए । ‘यो मेरो जीवनको सबैभन्दा खुसीको क्षण हो’ अवार्ड पाएपछि खड्काले भने, ‘यसले थप काम गर्ने हौसला मिलेको छ ।’ सगुनले २०७५ सालमा लुम्विनी प्रदेश सरकारबाट प्रदेश रत्न ‘ख’ अवार्डसमेत पाएको थियो ।

ए क्लासतर्फ समानान्तर निर्माण सेवाले सिल्भर र कन्काई इन्टरनेशनल बिल्डर्स प्रालिले ब्रोन्ज अवार्ड पाए ।

बी क्लासतर्फ सगुन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रालिले गोल्ड अवार्ड जित्दा एसएल कन्स्ट्रक्सन प्रालिले सिल्भर अवार्ड पाउन सक्यो ।

नेपाल निर्माण व्यवसायी महासंघले प्रदान गर्ने एफक्यान ग्लोरी अवार्ड निर्माण व्यवसायी जीप छिरिङ लामा शेर्पाले पाए । ११औं एफक्यान एक्सिलेन्स अवार्डमा कालिका कन्स्ट्रक्सनले विदेशमा उत्कृष्ट कार्य गरेको र स्वदेशमा ‘ए’ क्लासको कम्पनीको हैसियतले समयमै उत्कृष्ट काम गरेको गरी दुई विधामा अवार्ड पाएको हो । ‘बी’ क्लासतर्फ समयमै उत्कृष्ट काम गरेबापत् जय विष्णु निर्माण सेवाले सिल्भर अवार्ड जित्यो । उत्कृष्ट प्रदेश निर्माण व्यवसायी महासंघको अवार्ड वागमती प्रदेश महासंघले पाएको छ ।

महासंघले निर्माण व्यवसायीहरुसँग अवार्डका लागि प्रस्ताव आह्वान गरेको थियो । विभिन्न क्षेत्रका पाँच जना विषय विज्ञहरुको कमिटी बनाएर नोमिनेशनमा परेकाहरुको कामका आधारमा अवार्ड वितरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?