+
+

नेपाल विश्वकप छनोटमा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २ गते १३:२१

२ चैत, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले नेपाल एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ ।

बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो ।

जवाफमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भयो । यो जितसँगै नेपाल ४० अंकका साथ लिग टूको तेस्रो स्थानमा उक्लिएको छ । र, जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाउन सफल भएको छ ।

आसिफ खानको कीर्तिमानी शतक

यूएईले पहिलो विकेट सस्तैमा गुमाएको थियो । टिमको स्कोर १९ रन हुँदा आर्यन लक्रा व्यक्तिगत ६ रनमा आउछ भएका थिए । महम्मद वसिम र भृत्य अरविन्दले दोस्रो विकेटका लागि ७९ रनको महत्वपूर्ण साझेदारी गरे ।

बुधबार मात्र पपुवा न्यूगिनीविरुद्ध शतक बनाएका सिमलाई १६.२ ओभरमा व्यक्तिगत ६३ रनमा आउट गरेपछि नेपालले खेलमा फर्किने संकेत दिएको थियो । अरविन्दले एउटा एण्ड सम्हालेपछि नेपालले धेरै रन जोड्न दिएको थिएन र विकेट पनि लिएको थियो । पाँचौं विकेटका रुपमा रोहन मुस्तफा २० रनमा आउट हुँदा यूएईको स्कोर ३७.३ ओभरमा १७५ रन थियो । ४४औंभरको अन्त्यमा पनि उसको स्कोर २०८/५ थियो ।

तर अरविन्द र आसिफ खानको जोडीले अन्तिम ६ ओभरमा विस्फोटक ब्याटिङ गर्दै १०२ रन थप्यो । आसिफ खानले त छक्का र चौकाको वर्षा नै गरे । ४४ ओभर सकिँदा २० रन बनाएर खेलिरहेका उनले ४१ बलमा १०० रन पूरा गरे । सबभन्दा कम बलमा शतक पूरा गर्ने एशोसिएसट ब्याट्सम्यानको कीर्तिमान बनाएका उनी १०१ रनमा अविजित रहे । अरविन्द भने ९४ रन बनाएर इनिङकै अन्तिम बलमा आउट भए ।

नेपालका सन्दीप लामिछाने, ललित राजवंशी र सोमपाल कमीले १–१ विकेट लिए ।

निर्णायक ४२औं ओभर

जवाफमा नेपालको सुरुवात निकै खराब रह्यो । पहिलो ओभरमै आरिफ शेखलाई शुन्यमै गुमाएको नेपालका कुशल मल्ल ५ र कप्तान रोहित पौडेल पनि व्यक्तिगत १६ रनमै आउट भए । ३÷३७ को अवस्थामा रहेको नेपालको पारी चार ब्याट्सम्यानले लगातार अर्धशतक बनाएर सम्हाले ।

सुरुमा कुशल भुर्तेल र भीम सार्कीको जोडी जम्यो । दुबैले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरे । ३२ बलमा ३ चौका र ४ छक्काको मदतमा अर्धशतक पुरा गरेका कुशल थप तीन बलको सामना गर्दै ५० रनमै आउट भए ।

त्यसपछि भीम र आरिफ शेखले क्रिजमा जमेर खेले । दुबैले पाँचौं विकेटका लागि ८३ रनको साझदारी गरे । तर, ३१औं ओभरको अन्तिम बलमा भीम एलबीडब्लू धरापमा परे । ७६ बलको सामना गरेका उनी ९ चौकाको मदतमा ६७ रन बनाएर आउट भए । त्यसपछि आरिफले अर्धशतक पुरा गरे ।

गुल्सन झाले क्रिजमा टिकेर साथ दिँदा खुलेर खेल्ने प्रयास गरेका उनले ३९औं ओभरको तेस्रो बलमा चौका हान्दै अर्धशतक पुरा गरे । उनी पनि थप ३ बलको सामना गरेर व्यक्तिगत ५२ रनमा आउट भए । क्रिजमा गुल्सन झासँगै नयाँ ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी थिए ।

टिकेर खेल्दा नजिता नेपालको पक्षमा आउन सक्थ्यो, तर डिएल मेथडबाट निर्णय लिनुपर्दा जाँदा नजिता नेपालको पक्षमा थिएन । ४१औं ओभर सकिँदा नेपालको स्कोर २३५/६ थियो, जबकी डिएलअनुसार जितका लागि २४४ रन चाहिथ्यो ।

तर ४२औं ओभरमा पासा पल्टियो । महम्मद वसिमको बलमा गुल्सनले तीन चौका र एक छक्का प्रहार गरेपछि दुबै परिस्थितिमा खेल नेपालको अनुकल ढल्कियो । यो ओभरमा मात्र नेपालले आफ्नो खातामा २० रन थपेको थियो ।

थप २ ओभरपछि अम्पायरले खेल रोके, जतिबेला नेपालको स्कोर ४४ ओभरमा २६९/६ थियो । र, डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?