+
+

सुदूरपश्चिमका जनताको पीडा र अपमान नदेख्ने शासक

कुनै समय कुमाउ-गढवाल क्षेत्र नेपालको आफ्नै भूमि थियो, पिथौरागढमै वीर बलभद्र तथा अमरसिंहले बनाएको किल्ला पनि रहेछ । अन्त्यमा विद्या भन्छिन्, ‘कुनै बेला ती बलभद्र र अमरसिंहको वीरताको कथा भन्ने ठाउँमा अहिले हजारौं बलभद्र र अमरसिंहहरू बाँच्नको लागि संघर्ष गरिरहेका छन् ।’

हिरा विश्वकर्मा हिरा विश्वकर्मा
२०७९ चैत ११ गते १६:४३

कुरा २०३७ सालतिरको हो । हामी अमृत साइन्स क्याम्पसको विद्यार्थीको रूपमा भारतका विभिन्न शहरको शैक्षिक भ्रमणमा गएका थियौं, लखनऊबाट काठगोदाम हुँदै पहाडकी रानी भनेर चिनिने नैनीताल पनि गयौं । पोखराका फेवा, वेगनास र रूपातालको भ्रमण गरिसकेको सन्दर्भमा पहाडकी रानी भनिने ठाउँमा अवस्थित नैनीताल विशाल र सुन्दर होला भन्ने सोचिएको थियो । तर, त्यसको विपरीत पहाडको खोंचमा नहर मार्फत पानी थुनेर बनाइएको सो ताल हेर्दा हाम्रो पोखराका तालहरूसँग तुलनै गर्न नसकिने लाग्यो ।

आजभन्दा ४२ वर्ष अगाडि नै पर्यटनका लागि चाहिने सबै पूर्वाधार बनेका थिए । सँगसँगै भारतका प्रतिष्ठित नेता तथा व्यापारीका छोराछोरीहरूले समेत अध्ययन गर्ने स्कुलहरू एकसे एक भएको हुँदा त्यो ठाउँको पर्यटकीय मात्रै नभइकन शैक्षिक महत्व पनि रहेको थियो । त्यही नैनीतालको शेरउड भन्ने स्कुलमा भारतीय चलचित्रका महानायक अमिताभ बच्चन र प्रधानमन्त्री राजीव गान्धीले समेत अध्ययन गरेका थिए ।

पर्यटक रमाउने गरी पूर्वाधार विकास गरेको देख्दा त्यतिबेला हाम्रा पर्यटकीय गन्तव्यहरू भर्खर वामे सर्दै गरेको भान हुन्थ्यो । त्यतिबेला पनि त्यहाँको सानो बसपार्कमा हातमा नाम्लो र कसैकसैले पछाडि बोरा बोकेका भरियाहरू हरेक सवारी आउँदा दौडेर त्यसमा भएका भारीहरूलाई तँछाडमछाड गर्दै निकालेका देखिन्थे । भारीका लागि छिनाझपटी गर्दा एकापसमा झगडा समेत गरेको देखिन्थ्यो ।

पछि बुझ्दै जाँदा त्यसरी भारी बोक्नको लागि तँछाडमछाड गर्नेहरू सबै नेपाली रहेछन्, त्यो पनि सुदूरपश्चिमका विभिन्न जिल्लाका । आज भन्दा ४२ वर्ष अगाडिको सो दृश्य पुनः ताजा र ज्वलन्त भयो, जब मैले कान्तिपुर टेलिभिजनबाट प्रसारित विद्या चापागाईं प्रस्तोता र कमलकुमार निर्देशक रहेको ‘हेर्ने कथा’को १०१औं शृंखला हेरें । यो वृत्तचित्र कुनै बेला नेपालकै एउटा भूभाग रहेको कुमाउ-गढवालको पिथौरागढमा वर्षौंदेखि अपमानित जीवनमा पनि आफ्नो रोजीरोटीका लागि अनवरत संघर्षरत नेपाली भरियाको हृदयविदारक जीवनलाई चित्रित गर्दै बनाइएको रहेछ ।

हिरा विश्वकर्मा

त्यसो त नेपाली मूलधारका मिडियाले रिपोर्टिङको लागि कम योग्य सम्झेका पुछारमा रहेका आम मान्छेका कथा, व्यथा र पीडालाई ‘हेर्ने कथा’ले देखाउने गर्छ । त्यस्तै शृंखलामध्येको एक यो पनि हो । तर यसले भुईंमान्छेको कथा-व्यथा मात्रै देखाएको छैन, एकैसाथ देशप्रतिको भावना र प्रेम, राजनैतिक व्यवस्थाप्रति असन्तुष्टि र कटाक्षसँगै नेपाल र नेपालीप्रतिको आफ्नोपन पनि देखाएको छ ।

‘हेर्ने कथा’ मेरो विचारमा यस्तो वृत्तचित्रहरूको शृंखला हो, जसले विना उद्देश्य, विना पटकथा, विना कथा जे भेटिन्छ त्यसको छायांकन गर्दै जान्छ र पछि त्यसलाई कथाको स्वरूप दिएर दर्शकको सामु प्रस्तुत गरिन्छ । यसको शृंखलामा यसका प्रस्तोता र निर्देशकद्वय विद्या चापागाईं र कमलकुमार आफैं पनि त्यसका पात्र तथा सूत्रधार भइदिन्छन् । उनीहरूको मलाई मनपर्ने अर्को शैली हो, पात्रहरूको भोगाइलाई जस्ताको तस्तै राख्नु । उनीहरूको अवस्थालाई असर पार्ने शासक वा शासन व्यवस्था प्रति पनि कुनै आग्रह वा पूर्वाग्रह नदेखिनु ।

उनीहरू समाजशास्त्रका विद्यार्थी वा अध्येता हुन् कि होइनन् मलाई थाहा छैन, तर उनीहरूका हरेक प्रस्तुति समाजशास्त्रीय हिसाबले बेजोड हुन्छन्, भन्नु र भनाउनु पर्ने विषयहरूलाई पात्र मार्फत नै व्यक्त गराइएका हुन्छन् । यी दुई प्रस्तोताहरू कठिन भन्दा कठिन र दुर्गम भन्दा दुर्गम ठाउँमा आफैं पुगेका र पात्रहरूसँगै खाने, बस्ने र रमाउने गरेका हुन्छन् ।

कतिपय सन्दर्भमा उनीहरूको पहिरनलाई फरक नदेख्ने हो भने मानौं उनीहरू पनि पात्रमध्येकै पात्र हुन् । खानाको लागि पनि पात्रहरूसँग जे उपलब्ध छ वा उनीहरूले जे खान्छन् काठमाडौंकी सम्भ्रान्त महिला विद्याले पनि त्यही खाइरहेकी हुन्छिन् । यो अर्थमा उनको पत्रकारिता बेजोड मात्रै नभइकन अन्यका लागि अनुकरणीय छ । उनीहरूको कथालाई अन्त्य गर्ने शैली पनि मलाई रोचक लाग्छ, त्यसमा न त कुनै समाधान देखाइएको हुन्छ न त समस्या, यो सबै सोच्ने र गर्ने जिम्मा संभवतः उनीहरूले दर्शकलाई नै छोड्न चाहेका हुन् । हेर्ने कथाको अर्को सशक्त पक्ष भनेको यसको शीर्ष गीत, जो यति कर्णपि्रय छ कि यसले समेटेका दृश्यहरू हेर्दा मनलाई भावुक बनाइदिन्छ । नेपालका भुईंमान्छेहरूको जिन्दगी सबैको यस्तै हो भनेर सोच्नुपर्ने बनाइदिन्छ ।

मैले चर्चा गर्न लागेको पिथौरागढमा जीवन बिताइरहेका नेपाली भरियाहरूको कथालाई हेर्दा यसका दृश्यहरूले दर्शकलाई भावुक मात्र बनाइदिन्न आँशु समेत निकालिदिन्छ । सामान्यतया चलचित्रहरूले देखाउने दृश्यहरू हाम्रो सामाजिक तथा पारिवारिक जीवनसँग जोडिएका हुन्छन् र कुनै मार्मिक दृश्यहरू आए भने दर्शकको आँखामा स्वतः आँशु आउँछ तर आम वृत्तचित्रमा त्यस्तो कमै हुन्छ, किनभने त्यसमा कुनै नाटक हुँदैन, न त यसमा अत्यधिक सिर्जनात्मकता प्रयोग गरिएको हुन्छ ।

तर यो कथाका धेरै पात्र र दृश्यले भावुक बनाइदिन्छ । उनीहरूले त्यहाँ कुनै ठूलो उपलब्धिको लागि संघर्ष गरिरहेका हुँदैनन्, केवल बाँच्नको लागि संघर्ष गरिरहेका हुन्छन् । अहिले हामी एक्काइसौं शताब्दीमा छौं । संसार कहाँबाट कहाँ पुगिसक्यो, तर हाम्रा सुदूरपश्चिमका नेपाली दाजुभाइ पलपलमा हुने अपमान सहेर बाँच्नकै लागि छिमेकी देशमा संघर्ष गर्नु परेको देख्दा कसलाई चित्त बुझ्ला ?

दर्शकको रूपमा तीनवटा दृश्यहरूले मेरो मन छियाछिया मात्र भएन, आँखाबाट धरधरी आँशु समेत आयो । एकजना भरिया पिथौरागढमा एक दशक भन्दा बढी समयदेखि छन् । उनले संवाद गर्दै जाने क्रममा आफ्नो सम्झेर उनीहरूको दृश्य खिचिरहेकी आफ्नो देशकी चेली विद्यालाई आफ्नो सुरुवालको भित्री खल्तीबाट झिकेर ५०० भारु दिन्छन् । ५०० विद्याका लागि कुनै ठूलो रकम होइन र आवश्यकता पनि तर ती भरियाले कर गरेर दिंदा उनले आफ्नो आँशु थाम्न सक्दिनन् । एउटा कुनामा गएर भक्कानिन्छिन् । त्यो दृश्य हेर्दा दर्शकले पनि आँशु थाम्न सक्ने कुरा भएन ।

एउटा सामूहिक बसाइमा रहेका धेरै भरियाले पेट भर्नको लागि सुक्खा रोटी ग्याँसमा बनाइरहेको देखाइन्छ । आफ्ना लागि बनाएको रोटी विद्यालाई पनि दिइन्छ तर त्यसमा कुनै दाल र तरकारी हुँदैन, रोटी माथि मुलाका चाना राखिएको हुन्छ त्यही रोटी विद्याले पनि खान्छिन् । दिनभरि अत्यन्तै बल पर्ने कठिन काम भारी बोकेर पनि साँझ मीठो चोखो खानुको सट्टा रोटी र मुलाले पेट भरेको दृश्य देखिन्छ । उनीहरूको कति धेरै कष्टपूर्ण जीवन रहेछ ? कथामा देखाइए अनुसार पिथौरागढका भारतीयहरूले नेपालीलाई गर्ने पलपलको अपमान र शोषण पनि हो ।

राम्रो गर्नेले महिनामा ३० हजारसम्म कमाउने नत्र १०/१२ हजार कमाउने, आफूले सुक्खा रोटी मुलाको चानासँग खाएर बचेको पैसा घरमा पठाउने । धेरै जसोले त भारी बोक्दा जति कबोल गरेको छ त्यति दिने तर कसै कसैले ५०० भनेको ठाउँमा पैसै नदिने र दिएमा पनि थोरै दिने र पिटेर समेत पठाउने गर्छन् भन्दा कुन हदको अपमान र शोषण रहेछ, थाहा हुन्छ ।

यो एउटा पुस्तामा मात्रै सीमित हो कि भन्ने लाग्छ तर ४० वर्षदेखि त्यहीं पसिना बगाइरहेकाहरूले आफ्नो छोरा र कतिपयले परिवार समेत त्यहीं लगेर राखेको देखिन्छ । दोस्रो पुस्ताका युवा भन्छन्, ‘देशमा रोजगारी भएको भए यहाँ किन आउनुपर्थ्यो  !’

त्यहाँ पुगेका महिलाहरूले पनि कुचो, पोछा लगाउने तथा भाँडा माझेर बसेको बताउँछन् । यदि देशमा बस्ने वातावरण भएको भए हामी यहाँ भारतीयहरूको हेपाइ खान किन आउँथ्यौं भन्छन् । उनीहरूलाई राजनैतिक रूपमा समेत अपमान गर्दै भनिन्छ, ‘तिमीहरूको देश अब गणतन्त्र भइसक्यो अब चीनले तिमीहरूलाई हेर्छ, तिमीहरू त्यता नगएर किन यहाँ आउँछौं ?’ यसैबाट थाहा हुन्छ, उनीहरूले कुनस्तरको अपमान सहेका रहेछन् भन्ने ।

उनीहरूको देशप्रेमको कुरा गर्दा ती पात्र भन्छन्, ‘पिथौरागढको डाँडाबाट पारिपट्ट बैतडीका विभिन्न ठाउँ देखिन्छ । ती ठाउँहरूलाई देख्दा पनि एकदम सन्तोष लाग्छ र आफ्नो देशको तिर्सना केही हदसम्म भए पनि मेटिन्छ । कहिलेकाहीं पुल पार गरेर नेपालको माटो छुन पाउँदा आफू धन्य भएको जस्तो लाग्छ ।’

कुनै समय कुमाउ-गढवाल क्षेत्र नेपालको आफ्नै भूमि थियो, पिथौरागढमै वीर बलभद्र तथा अमरसिंहले बनाएको किल्ला पनि रहेछ । अन्त्यमा विद्या भन्छिन्, ‘कुनै बेला ती बलभद्र र अमरसिंहको वीरताको कथा भन्ने ठाउँमा अहिले हजारौं बलभद्र र अमरसिंहहरू बाँच्नको लागि संघर्ष गरिरहेका छन् ।’

यो हेर्ने कथाको शृंखला हेरेपछि मन अमिलो भयो । हामीले शासन व्यवस्था त फेर्‍यौं । देउवा, ओली र प्रचण्डहरूलाई पटक-पटक सत्तामा पुर्‍यायौं तर यी भुईंमान्छेहरूलाई स्वदेशमै राख्ने काम त के प्रयास समेत भएको देखिंदैन । अनि मलाई भन्न मन लाग्यो- धिक्कार छ हाम्रा शासकहरूलाई !

लेखकको बारेमा
हिरा विश्वकर्मा

लेखक विगत चार दशकदेखि सामाजिक विकास, दलित अधिकार तथा लघुवित्तको क्षेत्रमा क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?