+
+

विद्यार्थीका लागि ‘बाइक टु स्कुल’ सचेतना अभियान

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १२ गते १६:३९

१२ चैत, काठमाडौं । माइ वे ग्रीनवे (मेरो बाटो, हरियाली बाटो) को अवधारणाका साथ अघि बढिरहेको ग्रीन वे नेपालले ‘बाइक टु स्कुल’ अर्थात विद्यालयसम्म साइकल सचेतना अभियानलाई तीब्रता दिएको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थी, युवायुवतीलाई लक्षित गरी युवास्तरबाटै कार्बन उत्सर्जनको सचेतना बढाउन र वातावरण प्रदूषण घटाउन विभिन्न जिल्लामा अभियान सञ्चालन गर्दै आएको छ ।

ग्रीन वे नेपालका कार्यक्रम व्यवस्थापक प्रजुल मानन्धरका अनुसार ग्रीन वे नेपाल र प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कुल, ललितपुरको समन्वयमा आउँदो चैत १६ गते बिहीबारबाट अभियान सञ्चालन हुनेछ । उक्त विद्यालयका कक्षा ११ का ४१ जना विद्यार्थीलाई प्रशिक्षणमा सहभागी गराइने उनले बताए ।

प्रशिक्षणमा विद्यार्थीलाई ग्रामीण तथा सहरी क्षेत्रमा साइकल चलाउँदा अपनाउनुपर्ने सुरक्षाबारे साइकल सिटी नेटवर्क नेपालले प्रशिक्षण दिनेछ । विद्यार्थीलाई प्रशिक्षकको रुपमा स्थापित गर्न प्रशिक्षण लिएका विद्यार्थीहरुबाट केही विद्यार्थी छनौट गरिने र उनीहरुले अन्य विद्यालयका विद्यार्थीलाई तालिम प्रदान गर्ने ग्रीन वे नेपालले जनाएको छ ।

तालिम लिएका विद्यार्थीले चैत २० गते विरगञ्जको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पुगेर त्यहाँ अध्ययनरत विद्यार्थीलाई प्रशिक्षण दिने छन् । उक्त विद्यालयका ४० जना विद्यार्थी प्रशिक्षणमा सहभागी हुने छन् । विशेष गरी, तराई क्षेत्रका मानिसले बढी मात्रामा साइकल प्रयोग गर्ने र उनीहरुले सहरी क्षेत्रमा पनि सुरक्षित तवरले साइकल चलाउन सकुन् भन्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिने कार्यक्रम व्यवस्थापक मानन्धरले जानकारी दिए ।

‘तराईका अधिकांश विद्यार्थी साइकल प्रयोग गर्छन् । विद्यालय आउजाउ पनि साइकलबाटै गर्छन् । अन्य मानिसले पनि बढीमा मात्रामा साइकल नै प्रयोग गर्छन्’ मानन्धरले भने, ‘तर, ती व्यक्ति सहरी क्षेत्रमा प्रवेश गरेपछि साइकलको विकल्प खोज्छन् । विकल्प खोज्नुको सट्टा साइकल चलाउने सुरक्षित विधि पाएमा उनीहरुले सहजै चलाउन सक्छन् । उनीहरुले सतर्क भएर साइकल चलाउन सकुन् भन्ने हाम्रो लक्ष्य हो ।’

सो लक्ष्यलाई साथ दिँदै प्रिमियर स्कुलले पनि आफ्नो तर्फबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत निम्न आर्थिकस्तर भएका र साइकल नभएका विद्यार्थीलाई साइकल उपलब्ध गराउने  प्रधानााध्यापक सरमिस्था आचार्य मुखर्जीले बताइन् ।

ग्रीनवे नेपालले यसअघि पनि ‘बाइक टु स्कुल’ अन्तर्गत गत माघ २३ गते काष्ठमाण्डप विद्यालय, काठमाडौंका विद्यार्थीलाई साइकल संस्कृतिबारे सचेतना गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?