+
+

नागरिक उड्डयन र हवाई सेवा प्राधिकरण अलग अलग बनाउनुपर्छ : सोविता गौतम

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १५ गते १८:११

१५ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालमा नागरिक उड्डयन प्राधिकरण र हवाइ सेवा प्राधिकरण अलग अलग चाहिने बताएकी छन् ।

हाल नेपालमा नागरिक उड्डयन प्राधिकरणले नै हवाइ सेवाको नियमन गर्नुका साथै विमानस्थल सञ्चालन र पूर्वाधार विकासको काम गर्दै आएको भन्दै उनले नियमन र हवाइ सेवाको अलग अलग निकाय बनाउनुपर्ने बताएकी हुन् ।

‘नेपालको सन्दर्भमा नियमनकारी संस्था नियमनतर्फ भन्दा विमानस्थल सञ्चालन, विमानस्थल आयोजना तथा पूर्वाधार विकास र एयर नेभिगेसन सेवा आदिको क्षेत्रमा बढी केन्द्रित हुँदा नियमनकारी जिम्मेवारी ओझेलमा पर्न गएको देखिन्छ’, उनले बुधबारको प्रतिनिधिसभाको विशेष समयमा भनिन् ।

नेपालमा हवाई दुर्घटना बढ्नुको कारण पनि नागरिक उड्डयन प्राधिकरणले नियमनमा बढी ध्यान दिन नसक्नुको परिणाम भएको उनको भनाइ छ । सांसद गौतमले  नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक यथाशीघ्र प्रतिनिधि सभामा ल्याउन सरकारको ध्यानाकर्षणसमेत गराएकी छन् ।

नागरिक उड्डयन प्राधिकरणले नै विमानस्थल सञ्चालन, हवाई ट्राफिक सेवा, प्राविधिकहरुको नियुक्ति, तालिम-दक्षता परीक्षण तथा प्रमाणीकरण गर्ने र आफैंले छानबिन गर्ने हुँदा हवाइ क्षेत्रको सेवा सुरक्षा तथा गुणस्तरमा प्रश्न उठेको सांसद गौतमले बताइन् ।

नेपालको हवाई सेवा नसुधारेसम्म पर्यटक बढ्न नसक्ने उनको भनाइ छ । ‘नेपालको आर्थिक समृद्धिमा पर्यटन उद्योगको महत्वपूर्ण योगदान रहने कुरामा दुई मत छैन तर पर्यटन उद्योगको मेरुदण्ड मानिएको हवाई क्षेत्र सुरक्षित छ भन्ने सन्देश विश्व बजारमा पुर्‍याउन सकिएन भने पर्यटन उद्योग धारासायी हुने निश्चित छ’  सांसद गौतमले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?