+
+

रवि–स्वर्णिम मिलाउने श्रीराम ‘फ्याक्टर’

अर्थविद स्वर्णिम वाग्ललाई उपचुनावको मुखमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गराउन तनहुँबाट चितवन सरेका कांग्रेस कार्यकर्ता श्रीराम न्यौपानेले पुलको भूमिका निर्वाह गरेका छन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०७९ चैत १९ गते २१:५५
श्रीराम न्यौपाने

१९ चैत, काठमाडौं । लामो समयदेखि नेपाली कांग्रेसमा आस्था राख्ने चितवन–२ का मतदाता श्रीराम न्यौपानेले यसपटक चुनाव चिह्न फेरेर भोट दिए ।

तनहुँको भानुबाट बसाइसराईं गरेर चितवन झरेका उनले पछिल्लो पटक घण्टी चुनाव चिह्न रोजे । पेशाले इन्जिनियर न्यौपानेले घण्टीमा मत दिनुको कारण रवि लामिछानेतर्फको आकर्षण थियो ।

आफूले मत दिएको उम्मेदवारलाई बधाई दिने अभिप्रायले न्यौपानेले रविलाई फोन गर्न खोजे । सिधा सम्पर्क हुन नसकेपछि पिएलाई फोन गरेर भने, ‘म र मेरो परिवारले रविलाई भोट दिएका हौं । एकपटक भेट्न चाहन्छु ।’ रवि निर्वाचित भएको ३ दिनपछि उनले भेटे ।

नागरिकता विवादसम्बन्धी मुद्दामा १३ माघमा रविको सांसदसँगै उपप्रधान तथा गृहमन्त्री पद गयो । यतिबेलासम्म आइपुग्दा रविमा परिपक्वताको कमी हो कि भन्ने उनलाई लागेको थियो । अरुले पनि एक समय वैकल्पिक शक्तिका रुपमा उदाएको विवेकशील साझा जस्तै रास्वपा पनि कमजोर हुनसक्ने टिप्पणी गरेका थिए ।

त्यसैबेला रविलाई भेट्न न्यौपाने पुनः पुगे । त्यसपछि उनी रवि र स्वर्णिमलाई जोड्न लागे । उनका अनुसार मास आकर्षित गर्ने क्षमता रविमा छ । अर्थतन्त्र, परराष्ट्र जस्ता क्षेत्रका बारेमा स्वर्णिममा ज्ञान छ । दुबैमा ‘देशका लागि केही गर्ने’ हुटहुटी भएकाले दुबैलाई जोड्न लागेको श्रीराम बताउँछन् ।

२० बर्ष पुरानो चिनजान भएका स्वर्णिमका लागि न्यौपानेले प्रस्ताव ल्याए–रास्वपामा प्रवेश गर्ने । ४ मंसिरको चुनावमा कांग्रेसबाट उम्मेदवार बन्न चाहेका स्वर्णिमले टिकट टिकट पाएका थिएनन् । त्यसकारण स्वर्णिममा रहेको असन्तुष्टिलाई बुझेका उनले प्रस्ताव राखे, ‘तपाई र रविजीको क्षमता फ्युजन गरौं ।’

स्वर्णिमले अस्वीकार गरे । बरु ‘वैकल्पिक लोकतान्त्रिक शक्ति’का रुपमा रास्वपालाई अघि बढाउनुपर्ने शर्तमा रवि सहमत भए पार्टीमा प्रवेश गर्ने संकेत गरे ।
तनहुँ १ मा उपनिर्वाचन हुने निश्चित भएपछि रास्वपाका नेताहरु नै सक्रिय भएर स्वर्णिमलाई पार्टीमा भित्र्याउन लागे ।

रास्वापाका अरनिको पाण्डे, शिशिर खनाल, मनिष झा, लिमा अधिकारी लगायत स्वर्णिमलाई मनाउन लागे । वातावरणविद् अरनिकोसँग स्वर्णिमको लामो समय देखिको मित्रता थियो । स्वर्णिमलाई रास्वपामा भित्र्याउन पहल गरिरहेका खनाल र झाको पृष्ठभूमि पनि कांग्रेस थियो ।

स्वर्णिमलाई रास्वपा भित्र्याउन प्रयास भइरहको बेला न्यौपानेले पुनः रविलाई भेट्न गए । त्यो भेटमा आफूले राखेको प्रस्ताव न्यौपानेले सुनाए, ‘खस्केको साख पनि पुरानै अवस्थामा आउँछ । तनहुँ १ को उपनिर्वाचनमा उम्मेदवार हुने गरी रास्वपामा प्रवेश गराउनुस् ।’ रवि त्यसमा सहजै तयार भए ।

केही दिन काठमाडौं बाहिर जाने न्यौपानेअनुसार उनीहरु कास्कीको सिक्लेस भ्रमणमा निस्के । चैत ५ मा सिक्लेसमा खिचिएको तस्विर सार्वजनिक गर्दै स्वर्णिमले लेखे, ‘अन्नपूर्ण–२ को काख सिक्लेसमा कास्की–१ का सांसद मनबहादुर गुरुङजीसँग ।’

स्वर्णिम, रविसँग भेट्ने निधोमा पुगे । चैत १३ गते रविलाई भेट्न काठमाडौंबाट भरतपुरतिर लागे । त्यही भेटमा तनहुँ १ बाट स्वर्णिमले उम्मेदवारी दिने र निर्वाचित भएको अवस्थामा संसदीय मोर्चा सम्हाल्ने समझदारी बन्यो । ‘निर्वाचित भएँ भने संसदीय भूमिकामा हेर्ने मेरो जिम्मेवारी हुन्छ । पार्टीभित्र कुनै पदमा कुरा भएको छैन’, स्वर्णिमले भने, ‘अरु विषय महाधिवेशनमा टुंगिन्छ ।’

रविसँग सहमतिपछि उपनिर्वाचन लड्न लागेको क्षेत्रका मतदाता, भौगोलिक अवस्था अध्ययन गर्न चितवनबाट स्वर्णिम र न्यौपाने तनहुँ– १ तिर लागे । रास्वपा सांसद शिशिर खनाल पनि जान खोजेका थिए । आफ्नो तरिकाले जान स्वर्णिमले सुझाए । यसपछि आ–आफ्नो तरिकाले उनीहरु निर्वाचन क्षेत्रमा लागे ।

तनहुँ जानुको मुख्य उद्देश्य मतदाताको अपेक्षा र राय बुझ्नु थियो, त्यसैले चैत १४ र १५ गते मतदातासँग भेटघाट गरे । ‘भूमि नै नटेकी काठमाडौं बसेर उम्मेदवारी दिनु राम्रो हुन्न भनेर एक फन्को घुम्यौं । त्यहाँ हामीले १८ घण्टा वितायौं,’ न्यौपाने भन्छन्, ‘घण्टीमा मत दिन्छौं भन्ने मतदाता निक्कै भेटिए ।’

त्यसको भोलिपल्ट १६ चैतमा स्वर्णिमले कांग्रेस परित्याग गरेको घोषणा गरे । पार्टी परित्याग गर्ने मनस्थिति बनाएका स्वर्णिम केही दिनदेखि पार्टी नेताहरुको सम्पर्क विच्छेद गरेका थिए । पार्टी परित्याग गरेको घोषणा गरेकै दिन चार नेतालाई ह्वाट्एप मेसेज गरे । त्यसयता शीर्ष तहका नेताहरुसँग उनको दोहोरो संवाद भएको छैन । केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलसँग भने कुराकानी गरेका थिए ।

स्वर्णिमको बहिर्गमन राष्ट्रपति कार्यालयसँग पनि जोडिएको छ । पौडेलले राष्ट्रपतिमा निर्वाचित भएसँगै विज्ञका रुपमा स्वर्णिमलाई आफनो सचिवालयमा भूमिका दिन खोजेका थिए । तर प्रक्रिया अघि बढेन । त्यसमा पनि सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाको भूमिका रहेको दाबी छ । यसबारे स्वर्णिम भन्छन्, ‘कांग्रेस छोड्नु परेको त्यो प्रधान कारण होइन, एउटा पक्षले गरेको निरन्तर अपमानको श्रृङ्खलामध्ये यो एक हो ।’

तनहुँ १ को चुनावमा चार फ्याक्टर

गएको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुबैतर्फ तनहुँ १ मा कांग्रेस पहिलो दल बनेको छ । प्रत्यक्षमा २५ हजार ३६१ प्राप्त गरेको कांग्रेसले समानुपातिक तर्फ २० हजार १५८ मत पाएको छ । एमालेले प्रत्यक्षमा १९ हजार ९८१ र समानुपातिकमा १६ हजार ६८३ मत ल्याएको थियो ।

समानुपातिकमा १२ हजार ७७३ मत सहित तेस्रो स्थानमा रहेको रास्वपाले प्रत्यक्षमा भने चौथो स्थानको मत पायो । प्रत्यक्षमा स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८८६ ल्याउँदा रास्वपाका उम्मेदवारले ६ हजार ४४ मत पाएका थिए ।

तनहुँको राजनीति जान्नेहरुका अनुसार उपनिर्वाचनमा चार ‘फ्याक्टर’ ले काम गर्नेछ । कांग्रेस उम्मेदवार गोविन्द भट्टराईप्रतिको सहानुभूति, स्वर्णिमको व्यक्तित्व, कांग्रेसका पूर्व नेता गोविन्दराज जोशी पक्षको मत, राष्ट्रपति पौडेलको अप्रत्यक्ष सहयोग यी चार पक्ष आगामी निर्वाचनमा महत्वपूर्ण हुनेछन् ।

‘रामचन्द्र पौडेल र गोविन्दराज जोशी जिल्लामा सधैं द्धन्द्धरत पक्ष हो । तर जोशीसँग गोविन्दको विवाद भएको छैन,’ कांग्रेस तनहुँका एक नेता भन्छन्, ‘त्यसैले जोशी पक्षको मत धेरै गोविन्दलाई आउँछ ।’ जोशी पक्षले उपनिर्वाचनमा उम्मेदवारी नदिने बताएको छ । गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले आफूहरुले उम्मेदवारी नदिने बताए ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?