+
+

पीएनजीले गुमायो ओडीआई मान्यता, विश्वकप छनोटमा पुग्न ५ टिम होडमा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २० गते १३:००

२० चैत,  काठमाडौं । पपुवा न्युगिनी पीएनजीले एकदिवसीय अन्तर्राष्ट्रिय ओडीआई मान्यता गुमाएको छ ।

नामिबियामा जारी विश्वकप क्वालिफायर प्लेअफमा लगातार चार खेल हारेपछि पीएनजीले ओडीआई मान्यता गुमाउने पक्का भएको हो ।

आइतबार भएको खेलमा पीएनजी अमेरिकासँग ११७ रनले पराजित भएको थियो । लगातार चार हारपछि पीएनजी ६ टोली सम्मिलित प्लेअफमा अंकबिहीन हुँदै पुछारमा छ ।

अंकतालिकामा पुछारको दुई स्थानमा रहने टोलीले आईसीसीको अर्को साइकलमा च्यालेन्ज कप खेल्नुपर्नेछ । पीएनजीले अब क्वालिफायर प्लेअफमा क्यानडासँग अन्तिम खेल खेल्न बाँकी छ । त्यो नै पीएनजीका लागि वर्तमान साइकलको अन्तिम ओडीआई खेल हुनेछ ।

क्रिकेट विश्वकप लिग टू मा पीएनजी पुछारमा रहँदै क्वालिफायर प्लेअफ खेल्नुपरेको थियो । लिग टू मा अन्तिम दुईमा रहेपछि पीएनजी र यूएईको ओडीआई मान्यता धरापमा परेको थियो । तै पनि क्वालिफायर प्लेअफबाट ओडीआई मान्यता जोगाउने अवसर दुवैलाई थियो ।

तर लगातार चार हारपछि पीएनजीले औपचारिक रुपमै ओडीआई मान्यता गुमाउने भएको हो ।

च्यालेन्ज कपको शीर्ष दुईमा रहेर क्वालिफायर प्लेअफ खेलिरहेका क्यानडा र जर्सीमध्ये अब एकले ओडीआई मान्यता पाउनेछ । लिग टू को चौथो भएको नामिबिया र पाँचौ भएको अमेरिकाले पनि लिग टू बाटै ओडीआई मान्यता बचाइसकेको छ । यी दुई टिम प्लेअफमा जुन स्थानमा रहेपनि ओडीआई मान्यता जोगिनेछ । तर विश्वकप छनोटमा पुग्न हालको क्वालिफायर प्लेअफको शीर्ष दुईमा रहनुपर्नेछ ।

क्वालिफायर प्लेअफको शीर्ष दुईमा रहने टिम आगामी जुन-जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछन् । त्यसका लागि पीएनजी बाहेकका बाँकी पाँच टिम अझै होडमा छन् ।

क्वालिफायर प्लेअफमा चार खेल मात्र बाँकी रहँदा ५ वटै टिमको सम्भावना बाँकी छ ।

अमेरिका र यूएई त्यसका अगाडि छन् । दुवैले ४ खेल खेल्दा ३ जित र १ हारबाट समान ६ अंक जोडेका छन् । क्यानडा ३ खेलबाट ४ अंकसहित तेस्रो स्थानमा छ । ४ खेल खेलिसकेको नामिबिया ४ अंकसहित चौथोमा छ ।

३ खेलबाट १ खेल जितेर २ अंक जोडेको जर्सी पाँचौ स्थानमा छ । जारी क्वालिफायर प्लेअफमा पहिलो पटक ओडीआई क्रिकेट खेलिरहेको जर्सीले पीएनजीमाथि ऐतिहासिक जित समेत हात पारेको थियो ।

आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने वान डे विश्वकपका लागि अन्तिम छनोटमा १० टिमले प्रतिस्पर्धा गर्नेछन् । जहाँ सुपर लिगको पुछारको पाँच टिम, लिग टू को शीर्ष तीन टिम र क्वालिफायर प्लेअफको शीर्ष दुई टिमले प्रतिस्पर्धा गर्नेछन् ।

सुपर लिगबाट चार टिम (नेदरल्याण्ड्स, श्रीलंका, वेष्ट इन्डिज र जिम्बावे) टुङ्गो लागिसकेको छ ।

अब दक्षिण अफ्रिका र आयरल्याण्डमध्ये एक टिम सिधै विश्वकप पुग्नेछ भने एक टिमले विश्वकप छनोट खेल्नुपर्नेछ ।

यस्तै लिग टू बाट स्कटल्याण्ड, ओमान र नेपालले विश्वकप छनोटमा स्थान बनाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?