+
+

फणीन्द्रले अस्वीकार गरे मन्त्री, एमालेबाट दोहोरिए वेदबहादुर र सीता

अमृत सुवेदी अमृत सुवेदी
२०८१ वैशाख २४ गते १९:५५

२४ वैशाख, पोखरा । गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटाले मन्त्री बन्न अस्वीकार गरेका छन् ।

सभामुख समेतलाई प्रयोग गर्दै विश्वासको मत लिएको घोषणा गराएका गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका थिए । नेकपा एमालेबाट सीता सुन्दास सामाजिक विकास तथा स्वास्थ्यमन्त्री र वेदबहादुर गुरुङ ऊर्जा, जलस्रोत तथा खानेपानी नियुक्त भएका हुन् ।

२०७९ पुसमा अधिकारी मुख्यमन्त्री भएकै बेला सुन्दास अर्थमन्त्री र गुरुङ कृषि तथा ऊर्जा मन्त्री थिए । अहिले दुवै दोहोरिएका छन्, तर मन्त्रालय फेरिएको छ ।

माओवादीले आफ्नो दलको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटालाई मन्त्री बन्न आग्रह गरेको थियो । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई मन्त्री बन्न आग्रह गरेका हुन् ।

तर देवकोटाले माओवादीको कोटाबाट मन्त्री बन्न अस्वीकार गरेका छन् । स्रोतका अनुसार सरकार कति दिन टिक्ने हो टुंगो नभएकाले पनि उनले मन्त्री बन्न रुचि नदेखाएका हुन् । देवकोटा सामाजिक विकास तथा कृषि समितिका सभापति छन् । मन्त्री बनेर जाँदा समिति सभापति मात्र गुम्ने देखेर फणीन्द्रले मन्त्री बन्न अस्वीकार गरेका माओवादीका एक सांसदले बताए ।

‘म मन्त्री बन्ने हो भने माओवादीको कोटाबाट होइन, नेपाल समाजवादी पार्टीकै तर्फबाट बन्ने हो’ सांसद देवकोटाले भने, ‘नेपाल समाजवादी पार्टीको २७ र २८ गते केन्द्रीय कार्यक्रम छ । त्यो पछाडि पार्टीको निर्णयअनुसार अगाडि बढ्छु ।’

फणीन्द्रले अस्वीकार गरेपछि माओवादी केन्द्रले मन्त्री बनाउने अर्को सांसदको नाम टुंगो लगाउन सकेन ।

यसअघि मन्त्री भइसकेका सुशीला सिम्खडा र रेमशबहादुर जुग्जाली मन्त्री नबन्ने बताउँदा सबैभन्दा बढी हरि भण्डारी र कुसुम बुढामगरको नाम चर्चामा थियो ।

तर माओवादीले मन्त्रीको नाम दिन नसकेपछि एमालेबाट दुई मन्त्री मात्र थपिएका छन् । मन्त्रीद्वय सुन्दास र गुरुङले सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । यससँगै मन्त्रिपरिषद् ५ सदस्यीय बनेको छ ।

मुख्यमन्त्री अधिकारीले आफू मुख्यमन्त्री नियुक्त भएकै दिन चैत २५ गते माओवादीका हरिबहादुर चुमान र मनाङबाट स्वतन्त्र सांसद बनेका राजीव गुरुङ (दीपक मनाङे)लाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए । वैशाख ८ गते मनाङेलाई भौतिक पूर्वाधार र चुमानलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?