+
+

शार्दुल र स्पीनर चम्किँदा बेंगलोरमाथि कोलकाताको शानदार जित

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २४ गते ६:२०

२४ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा शार्दुल ठाकुरले शानदार ब्याटिङ अनि स्पीनरहरुले घातक बलिङ गरेपछि कोलकता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ८१ रनले पराजित गरेको छ ।

बिहीबार घरेलु मैदान इडन गार्डेनमा जित निकाल्ने क्रममा कोलकाताका लागि शार्दुलले आक्रामक ब्याटिङ गर्दै २९ बलमै ६८ रन बनाएका थिए । बलिङमा वरुण चक्रवर्तीले ४ तथा यसै खेलबाट डेब्यु गरेका सुयास शर्माले ३ र सुनिल नारिनले २ विकेट लिए ।

पहिलो जितपछि कोलकाताले दुई खेलबाट २ अंक जोडेको छ । यसअघि पहिलो खेलमा पञ्जाबसँग कोलकाता पराजित भएको थियो । पहिलो खेलमा मुम्बईलाई हराएको बेंगलोरको भने यो पहिलो हार हो ।

घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले खराब सुरुवात गरेपछि रहमानुल्लाह गुर्बाज र शार्दुल ठाकुरको अर्धशतकमा ७ विकेट गुमाएर २०४ रन बनाएको थियो । ८९ रनमै ५ विकेट गुमाएको कोलकाताका लागि शार्दुल र रिंकु सिंहले १०३ रनको साझेदारी गरे । सातौं नम्बरमा ब्याटिङ गरेका शार्दुलले २९ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ६८ रन बनाए ।

ओपनर गुर्बाजले ४४ बल खेल्दै ६ चौका र ३ छक्का मद्दतमा ५७ रन जोडे । यस्तै रिंकु सिंहले ३३ बल खेल्दै २ चौका र ३ छक्का मद्दतमा ४६ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । मन्दिप सिंह र आन्द्रे रसेल खाता नखोली आउट भएका थिए ।

बेंगलोरका लागि डेविड विली र कर्ण शर्माले २–२ तथा मोहम्मद सिराज, माइकल ब्रेसलवेल र हर्शल पटेलले समान १ विकेट लिए ।

दोस्रो इनिङ्समा कोलकाताका लागि स्पीनर चम्किएपछि २०५ रनको लक्ष्य पछ्याएको बेंगलोर १७.४ ओभरमै १२३ रनमा अलआउट भयो । बेंगलोरका लागि कप्तान फाफ डु प्लेसिसले सर्वाधिक २३, विराट कोहलीले २१, माइकल ब्रेसवेलले १९ र डेविड विलीले अविजित २० रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बेंगलोरलाई अलआउट गर्न कोलकाताका वरुण चक्रवर्तीले ३.४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । सुयास शर्माले ४ ओभरमा ३० रन खर्चेर ३ तथा सुनिल नारिनले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । शार्दुल ठाकुरले पनि १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?