+
+

‘अरू शहरले प्रगति गरे विराटनगर उस्तै रह्यो’

देशका अरू क्षेत्र विकासमा पछिपरेका बेला विराटनगरले ‘आर्थिक राजधानी’ को ट्याग पाएको थियो । तर, अहिले धेरै ठाउँमा नयाँ–पुराना शहर बसे, अरूले विराटनगरलाई उछिने ।

ताराचन्द खेतान, उद्योगी/व्यवसायी ताराचन्द खेतान, उद्योगी/व्यवसायी
२०७९ चैत २४ गते ११:५७

विराटनगरको इतिहास पुरानो छ । मोरङको सदरमुकाम रंगेलीबाट विराटनगर सरेको सय वर्ष नाघ्यो । नेपालमा आधुनिक औद्योगीकरणको सुरुवात विराटनगरबाट भएको हो । आधुनिक कालमा अन्तर्राष्ट्रिय व्यापारको सुरुवात पनि यसले गरेको हो । १९९३ सालमा विराटनगर जुट मिल्सको स्थापना भएपछि मुलुकमा आधुनिक औद्योगीकरण सुरु भयो र यहाँ उद्योगहरू खुल्ने क्रम चल्यो ।

जुद्ध मैच फ्याक्ट्री, रघुपति जुट मिल्स, मोरङ सुगर मिल, अशोक टेक्सटाइल लगायत ठूला उद्योगहरू स्थापना भए । सँगैसँगै धान–चामल उद्योग पनि स्थापना भए । त्यही बेला नेपालबाट समुद्रपार व्यापार सुरु भयो । त्यसअघि पनि नेपालबाट जुट, धान, चामल भारत जान्थ्यो । विराटनगर जुट मिल खुलेपछि तेस्रो मुलुकमा समेत व्यापार विस्तार भयो ।

व्यापारको सम्भावना भएपछि उद्योगहरू थपिंदै गए । निर्यातको केन्द्र नै विराटनगर बन्यो । जुट निर्यातको केन्द्र, धान–चामल निर्यातको पनि केन्द्र बन्यो । विस्तारै स्टील उद्योग पनि थपिए, अरू उद्योग पनि आए । आर्थिक गतिविधि व्यापक भएपछि यसले आर्थिक राजधानीको मान्यता पायो । त्यसबेलै हो, विराटनगर नेपालको आर्थिक राजधानी भनेर चिनिएको ।

जतिबेला विराटनगर आर्थिक राजधानीको रूपमा चिनिंदै थियो, त्यसबेला देशका अरू शहरहरू त्यो रफ्तारमा विकसित भएका थिएनन् । आर्थिक राजधानी बनेको विराटनगर विस्तारै राजनीतिक क्षेत्रको पनि राजधानी बन्यो ।

आर्थिक र राजनीतिक राजधानी हुँदा देशमा विराटनगरको विशेष स्थान थियो । तर त्यसबेलाको राजनीतिक नेतृत्वले जसरी विराटनगरको विकासमा ध्यान दिनुपर्ने हो, दिएन । राजनीतिक परिवर्तनको नेतृत्व गरेको कोइराला परिवार विराटनगरकै थियो । विराटनगरले अरू प्रधानमन्त्री पनि दियो ।

विराटनगरबाट राजनीतिक नेतृत्व क्रमशः पश्चिमतर्फ गयो । राजनीतिक राजधानीको पकड गुमाउँदै जाँदा विकास र बजेटमा पनि पकड कमजोर भयो । अनि विकास पनि क्रमशः पश्चिमतिर सर्दै गएपछि विकास पनि उत्तरतिर सर्दै गयो ।

अर्काे कुरा विराटनगरले परम्परागत व्यापार मात्रै ग¥यो । नयाँ अवधारणाका उद्योग–व्यवसायलाई विराटनगरले आत्मसात् गर्न सकेन । काठमाडौं सहित अन्य शहरले नयाँ कन्सेप्टलाई अगाडि बढाए । विराटनगर परम्परागत शैलीमै रह्यो । बैंक, उड्डयन, पर्यटन लगायत उद्योगलाई अन्य क्षेत्रले आत्मसात् गरे । नयाँ बिजनेस आउँदा विराटनगरले ध्यान दिन सकेन ।

त्यसबेला विराटनगरका लागि काम थियो, उद्योग थिए, निर्यात व्यापार राम्रो थियो । विराटनगरको व्यापारमा धक्का लागेको १७ चैत २०३४ को निर्णयपछि हो । त्यस दिन सरकारले निर्यातमा दिने ‘इन्सेन्टिभ’  खारेज गरिदियो । त्यसबेला सामग्री अनुसार वस्तु निर्यात गर्दा ३० देखि ४० प्रतिशतसम्म आयातको ‘लाइसेन्स इन्सेन्टिभ’ को रूपमा दिइन्थ्यो । त्यसरी सामान ल्याउँदा व्यापारीलाई पनि फाइदा थियो । जसले गर्दा व्यापार गुल्जार थियो । निकासीको इन्सेन्टिभ खारेज भएपछि विराटनगरको व्यापारमा ठूलो धक्का लाग्यो । यो धक्काले उद्योग क्षेत्रलाई मात्रै होइन, अरू व्यापारलाई पनि असर पु¥यायो । त्यसअघि नेपालबाट तेस्रो मुलुक जुटका सामान निर्यात हुन्थ्यो । समुद्रपार व्यापारमा भारतले कोटा लगाएपछि उद्योगीलाई निराश बनाएको थियो ।

२०३४ देखि २०४६ सालको अवधिमा विराटनगरको व्यापार सुस्तायो । व्यापारमा मन्दी छायो । २०४६ सालको आन्दोलनपछि आएको परिवर्तनले आर्थिक उदारीकरणको सुरुवात भयो । उदारीकरणले निजी क्षेत्रका धेरै विषयलाई खुला गरिदियो ।

उदारीकरणले विकासको एउटा अवसर देखायो । त्यसपछि परम्परागत व्यापार भने कमजोर भयो । धेरै मजदुरमा आधारित भन्दा पनि मेसिन प्रयोग गरेर उत्पादन गर्ने नयाँ उद्योग स्थापना भएसँगै नयाँ अवसर आयो । अहिले विराटनगरदेखि इटहरीसम्म सडकका दायाँ–बायाँ उद्योगका लाइन छन् । ती उद्योग उदारीकरणपछि खुलेका हुन् ।

त्यसैले विराटनगर कमजोर भयो भन्ने कुरामा म थोरै मात्रै सहमत छु । निश्चय नै यहाँको व्यापारको प्रकृतिमा परिवर्तन आयो । हिजोको व्यापार जुट र धान–चामलको थियो । ती उद्योग कमजोर हुँदा त्यसको सट्टामा अरू आधुनिक उद्योगहरू थपिएका छन् । संख्यात्मक हिसाबले त उद्योग बढेकै छन् । तर हिजोको जस्तो निर्यात भएन ।

विराटनगरको विकासको रूप परिवर्तन भयो, अवरुद्ध नै भएको चाहिं छैन । अहिले पनि विराटनगरबाट निर्यातको व्यापार पनि रामै्र छ । पहिले जुट, धान–चामल निर्यात हुन्थ्यो, अहिले त्यो छैन; तर स्टील, तेल, जुस लगायत सामग्री अहिले पनि निर्यात भइरहेका छन् ।

आर्थिक राजधानीको ट्याग अरू क्षेत्र विकास नहुँदा पाएको थियो । तर अरू क्षेत्र विस्तार भएपछि त्यो ट्याग कमजोर भएको मात्रै हो ।

परिवर्तन नियमित प्रक्रिया हो, उद्योगहरू खुल्छन्, समय अनुसार चल्छन् र बन्द हुन्छन् । त्यसको पनि एउटा समय हुन्छ । हिजोको बिजनेस ‘लेभर ओेरियन्टेड’ थियो । व्यापार जुटमा केन्द्रित थियो । अहिले त्यो परिवर्तन भएको छ । जुटको सट्टा सेन्थेटिक्सका सामान आउन थाले । त्यसको लागत कस्ट पनि कम भयो ।

यस्तै अरू ठाउँमा अवसर र विकास हुँदा त्यहाँ उद्योग स्थापना भए । राजधानी काठमाडौं भएका कारण विराटनगरका उद्योगहरूको कार्यालय पनि काठमाडौंमा खुले । अवसरको खोजीमा उद्योगीहरू सम्भावना भएको स्थानमा पुग्नु सामान्य हो । उद्योग विस्तारका लागि विराटनगरबाट अन्य क्षेत्रमा व्यवसायीहरू पुगेका छन् ।

अर्को कुरा, राजनीतिक नेतृत्वले विराटनगरलाई पक्षपातपूर्ण व्यवहार गर्दा यो विकासमा पछि परेको हो । त्यसबेला विराटनगर विकसित नै छ बजेट किन दिनुप¥यो भन्ने सोचका कारण विराटनगरलाई पाखा लगाएको हो जस्तो लाग्छ ।

हिजो विराटनगरको जग बलियो थियो । बलियो जगको आधारमा जसरी अगाडि बढ्नुपर्ने हो त्यसरी अगाडि बढ्न सकेन । नेपालका अन्य ठाउँको तुलनामा यो विकसित थियो । तर, अहिले अरू क्षेत्रले विराटनगरलाई उछिने पनि ऊ आफ्नै गतिमा हिंडिरहेको छ ।

(८१ वर्षीय पुराना उद्योगी/व्यवसायी खेतानसँग अनलाइनखबरका लागि हरि अधिकारीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?