+
+

वेटर : छोटो अवधिको तालिमपछि सोझै रोजगारी

अतिथि सत्कारसँग जोडिएको एक महत्वपूर्ण पेशा हो वेटर । वेटरको बानी–व्यवहार र प्रस्तुतिले समग्र होटल-रेस्टुरेन्टकै साख जोगाउँछ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २५ गते १३:४५

मानौं, तपाईं छोटो अवधिको तालिम लिएर रोजगार बजारमा प्रवेश गर्न चाहनुहुन्छ, कमाइ गर्दै आफ्नो पढाइलाई पनि जारी राख्नुहुन्छ । यदि त्यसो हो भने तपाईंको लागि काइदाको विकल्प हुनसक्छ, वेटर ।

यसका लागि तपाईंसँग कस्तो दक्षता हुनुपर्छ ? त्यस्तो सीप कहाँ लिन सकिन्छ ? कति शुल्क लाग्छ ? यसको जवाफ खोज्नुअघि रोजगारको अवस्थाबारे चर्चा गरौं । किनभने वेटरको कोर्स सकाएपछि कसरी काम खोज्ने, कहाँ खोज्ने, कति कमाइ हुन्छ भन्ने कुरामा यतिबेला तपाईं बढी उत्सुक हुनुहुन्छ ।

कहाँ अवसर ?

सामान्यदेखि स्तरीय रेस्टुरेन्ट, ब्याङ्केट हुँदै पाँचतारे होटलसम्म वेटरको खपत हुन्छ । देशदेखि विदेशसम्म वेटरले कामको अवसर पाउन सक्छन् । यसको सोझो अर्थ हो, वेटरको दक्षता भएकाले फुर्सदमा बस्नुपर्दैन ।

के भनिन्छ भने आगामी सन् २०३० सम्ममा नेपालमा शेराटन, होलिडे इन, क्राउन प्लाजा जस्ता तारेस्तरका होटलहरु भित्रिंदैछन् । त्यो पनि दर्जनौंको संख्यामा । नेपालमा अहिले ११ वटा पाँचतारे होटलसहित तारे, बुटिक, रिसोर्ट गरी डेढ सय हाराहारीमा लक्जरियस होटल सञ्चालनमा छन् । यो तथ्यांकले के देखाउँछ भने हस्पिटालिटीमा रोजगारीको अनन्त अवसर छ । त्यसको एउटा अभिन्न अंश हो, वेटर पनि ।

वेटर के हो ?

सरल रुपमा बुझ्दा वेटर त्यस्तो जनशक्ति हो, जसले होटल–रेस्टुरेन्टमा आगन्तुकको अर्डर लिने र परिकार पुर्‍याउने (सर्भ गर्ने) काम गर्छन् । अतिथि सत्कारसँग जोडिएको एक महत्वपूर्ण पेशा हो यो । वेटरको बानी–व्यवहार र प्रस्तुतिले समग्र होटलकै साख अनि मूल्य जोगाउन सक्छ । किनभने होटल-रेस्टुरेन्टमा प्रवेश गर्ने हरेक पाहुनासँग सबैभन्दा पहिले सम्पर्कमा आउने जनशक्ति नै वेटर हुन् ।

वेटरले पाहुनालाई कसरी स्वागत गर्छन् ? कसरी उनीहरुले चाहेको परिकारको टिपोट गर्छन् ? कसरी उक्त परिकार टेबुलमा ल्याइपुर्‍याउँछन् ? कसरी आगन्तुकले खान चाहेको नचाहेको कुराबारे जिज्ञासा राख्छन् ? कसरी पाहुनाको सन्तुष्टिमा ख्याल गर्छन् ?

होटल व्यवस्थापनका लागि यो कुरा सर्वाधिक महत्वको हुन्छ । वेटरले आगन्तुकलाई सन्तुष्ट बनाउँछन् वा बनाउँदैनन् भन्ने कुराले होटलको व्यपारमा सोझै प्रभाव पार्छ । त्यसले हस्पिटालिटीमा वेटरको पेशा खास मानिन्छ ।

कस्तो हुनुपर्छ वेटर ?

वेटरका लागि शारीरिक कुनै शारीरिक मापदण्ड तोएिको छैन । यद्यपि झट्ट हेर्दा आकर्षक, सफा सुग्घर, हँसमुख, छरितो, मिजासिलो हुनुपर्छ । उनीहरुमा संवाद गर्ने कला पनि हुन जरुरी छ । किनभने आगन्तुकसँग उनीहरुले नै अन्तरक्रिया गर्नुपर्ने हुन्छ ।

वेटरको रुपमा रोजगारी सुरु गर्नुअघि सम्बन्धित काममा दक्षता हासिल गर्नुपर्ने हुन्छ । यसका लागि उच्च शिक्षामा तपाईंले हस्पिटालिटी म्यानेजमेन्ट पढ्नुभयो भने गज्जब हुन्छ । यद्यपि छोटो अवधिका तालिमबाट पनि वेटरको सीप सिक्न सकिन्छ ।

सरकार मातहातको नेपाल एकेडेमी अफ टुरिज्म एन्ड होटल म्यानेजमेन्ट (नाथम) पनि वेटरको छुटै कोर्स गराउँदै आएको छ । त्यसैगरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले पनि आफ्ना आंगिक शिक्षालय एवं तालिम केन्द्रबाट छोटो अवधिको वेटर तालिम उपलब्ध गराउँदै आएको छ । त्यसबाहेक कतिपय निजी तालिम केन्द्रले पनि वेटरको तालिम दिने गरेको छ ।

कति दिनको तालिम, कति लाग्छ शुल्क ?

हस्पिटालिटीका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (नाथम)मा हस्पिटालिटी म्यानेजमेन्टको स्नातकोत्तरसम्मको कोर्स गर्न सकिन्छ । यो एकेडेमिक कोर्सबाहेक छुटै तालिमको पनि यहाँ व्यवस्था छ । त्यसै अन्र्तगत छोटो अवधिको वेटर तालिम लिन सकिन्छ ।

नाथमका बीएचएम प्रोगाम को-अडिनेटर विनोद अर्यालका अनुसार उक्त कोर्स तीन महिनाको छ । त्यसमा एक महिना सैद्धान्तिक कोर्स गराइन्छ भने बाँकी दुई महिना प्रयोगात्मक कोर्स गराइन्छ ।

यसैगरी सीटीईभीटीले पनि हस्पिटालिटी अन्तर्गत डिप्लोमा लेभलको कोर्स गराउँदै आएको छ । १८ महिनाको उक्त कोर्समा कुलिनरी आर्टदेखि वेटरसम्मको सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान लिन सकिन्छ ।

त्यसैगरी सीटीईभीटीले ६५ दिने छोटो अवधिको कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । यसमा वेटर, वारिष्ठा, बार टेन्डर जस्ता विषयमा तालिम लिन सकिन्छ । यो कोर्स सीटीईभीटी मातहतका शिक्षालयबाट लिन सकिन्छ । बर्सेनि १० देखि १५ हजार जनालाई उक्त कोर्स निःशुल्क रुपमा उपलब्ध गराइरहेको सीटीईभीटीका सूचना अधिकृत एकराज अधिकारी बताउँछन् । यस्तो कोर्स गर्न सामान्य लेखपढ मात्र गर्ने भए पुग्छ ।

सीटीईभीटीका देशभर ६५ वटा आंगिक शिक्षालय छन् भने ५२ वटा स्थानीय तहमा गैरनाफामूलक संस्थासँगको सहकार्यमा पनि विभिन्न तालिम गराउँदै आएको छ । त्यसबाहेक ६०० बढी सामुदायिक विद्यालय र ५०० बढी निजी इन्स्टिच्युटमा सीटीईभीटीको विभिन्न कोर्स गर्न सकिन्छ ।

के सिकाइन्छ ?

वेटरको कोर्स सैद्धान्तिक र प्रयोगात्मक दुवै हुन्छ । त्यसमा उनीहरुलाई हस्पिटालिटीको सम्पूर्ण आधारभूत कुराहरु सिकाइन्छ । भाँडावर्तनदेखि व्यञ्जनबारे उनीहरुलाई जानकारी गराइन्छ । त्यससँगै कसरी आगन्तुकको स्वागत गर्ने, कसरी उनीहरुको अर्डर लिने, कसरी आगन्तुकसँग प्रस्तुत हुने, कसरी जुठो भाँडावर्तन उठाउने भन्नेसम्मको कुरा प्रयोगात्मक रुपमा सिकाइन्छ ।

‘उनीहरुले हस्पिटालिटीको आधारभूत जानकारी लिनुपर्ने हुन्छ,’ नाथमका बीएचएम प्रोगाम को–अडिनेटर अर्याल भन्छन्, ‘त्यसपछि प्रयोगात्मक कक्षा लिनुपर्छ ।’

कति हुन्छ पारिश्रमिक, कस्तो छ भविष्य ?

सरकारले तोकेको श्रम मापदण्ड अनुसार वेटरको पारिश्रमिक १५ हजार रुपैयाँबाट सुरु हुन्छ । नेपालका सामान्य होटल–रेस्टुरेन्टहरुले यति नै पारिश्रमिकबाट वेटरलाई काममा राख्ने गरेको नाथमका अर्याल बताउँछन् ।

‘होटल, रेस्टुरेन्टको स्तरअनुसार उनीहरुको पारिश्रमिक फरक हुन सक्छ,’ उनी भन्छन्, ‘सामान्य होटलमा भन्दा रिसोर्ट वा तारे होटलमा राम्रो पारिश्रमिक पाउन सक्छन् ।’ त्यसो त वेटरका तालिम लिएकाले वैदेशिक रोजगारीमा पनि राम्रो आर्जन गर्न सक्ने उनी बताउँछन् ।

‘विदेशमा वेटरको पारिश्रमिक ३३ हजार रुपैयाँबाट सुरु हुन्छ,’ अर्याल भन्छन्, ‘वैदेशिक रोजगारीमा अदक्ष कामदारले भन्दा धेरै आकर्षक पारिश्रमिक उनीहरुले आर्जन गर्न सक्छन् ।’

सामान्यतया हस्पिटालिटी अन्तर्गत वेटर तालिम लिएका वा कोर्स गरेकाहरुले आफूलाई अब्बल बनाउँदै फुड एण्ड वेभरेज म्यानेजरसम्म बन्न सक्ने अर्याल बताउँछन् । ‘यो तहमा पुगेपछि उनीहरुले राम्रै आयआर्जन गर्न सक्छन्,’ उनी भन्छन् ।

सीटीईभीटीमासाधरण लेखपढ गर्नेलाई पनि निःशुल्क तालिम

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले हस्पिटालिटी म्यानेजमेन्टको डिप्लोमा तहको कोर्स गराउँदै आएको छ । त्यसबाहेक वेटर, बारिष्ठा, बार टेन्डर जस्ता विषयमा छुट्टाछुटै तालिम दिंदै आएको छ । यो छोटो अवधिको कोर्स हो, ५६ दिनमा पूरा हुन्छ ।

सीटीईभीटीका सूचना अधिकृत एकराज अधिकारीका अनुसार उक्त कोर्स गर्नका लागि यत्ति नै पढेको भन्ने छैन । साधारण लेखपढ गर्न सक्नेले तालिम लिन सक्छन् । त्यसैगरी उक्त कोर्स गर्न कुनै शुल्क लाग्दैन । वर्षमा १० हजारदेखि १५ हजार जनालाई देशभरबाट यस्तो तालिम निःशुल्क दिने गरिएको छ । त्यसमा वेटरदेखि हस्पिटालिटीका अन्य जनशक्ति पनि पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?