+

बुढ्यौलीपन रोक्ने ‘एन्टिअक्सिडेन्ट’ कस्तो खानेकुरामा पाइन्छ ?

२०७९ चैत  २६ गते १३:४० २०७९ चैत २६ गते १३:४०
बुढ्यौलीपन रोक्ने ‘एन्टिअक्सिडेन्ट’ कस्तो खानेकुरामा पाइन्छ ?

के बुढ्यौलीलाई रोक्न सम्भव छ ? झट्ट सुन्दा यो प्रकृति विरोधी प्रश्न जस्तै लाग्न सक्छ । किनभने बुढ्यौली एक प्राकृतिक प्रक्रिया हो । हरेक मान्छे यो चरणबाट गुज्रिनुपर्ने हुन्छ ।

मान्छे बुढो नै नहुने भन्ने हुँदैन तर बुढो हुने प्रक्रियालाई कम गर्न भने सकिन्छ । तपाईं हामीले देखेकै छौं, कति मान्छे उमेर नपुग्दै बुढो देखिन्छन् । कति मान्छे ५०-६० वर्षको उमेरमा पनि झरिलोभरिलो देखिन्छन् । उनीहरु वास्तविक उमेरभन्दा कम उमेरका देखिन्छन् । किन ?

यसमा धेरै कारण छन् । त्यसमध्ये एउटा हो, एन्टिअक्सिडेन्ट पनि ।

के हो एन्टिअक्सिडेन्ट ?

एन्टिअक्सिडेन्ट यस्तो पोषक तत्व हो, जसले शरीरका कोषिकाहरुलाई बचाउने काम गर्छ । खासगरी ती कोषिकाहरुलाई पोषणको कमी हुनबाट जोगाउँछ । यसको सबैभन्दा ठूलो काम भनेको शरीरलाई फ्रि-रेडिकल्स अर्थात् बुढ्यौली हुने क्रम सुस्त बनाइदिनु हो ।

फ्रि-रेडिकल्स यस्तो हानिकारक अणु हो, जसले हाम्रो स्वस्थ कोषिकालाई नष्ट गर्छ । जति-जति फ्रि-रेडिकल्स बढ्दै जान्छ, शरीर रोगी र जीर्ण हुँदै जान्छ । खासगरी यसले मान्छेलाई उमेरभन्दा चाँडै बुढो बनाउँछ ।

यस्ता केही अणु हाम्रो शरीरभित्र नै हुन्छन् । त्यसबाहेक खाना पचाउने जुन प्रक्रिया हुन्छ, त्यस क्रममा फ्रि-रेडिकल्स उत्पादन हुन्छ ।

सोही हानिकारक फ्रि-रेडिकल्ससँग लडेर स्वस्थ कोषिकाहरुलाई रक्षा गर्ने काम चाहिं एन्टिअक्सिडेन्टको हो ।

एन्टिअक्सिडेन्टले कसरी बचाउँछ ?

फ्रि-रेडिकल्स एउटा एकल कोषिका हो । स्थिर हुनका लागि यो जोडी खोज्दै हिंड्ने इलेक्ट्रोन हो । यी इलेक्ट्रोनहरुलाई एन्टिअक्सिडेन्टले आफ्नो इलेक्ट्रोनमध्ये एक इलेक्ट्रोन दिएर फ्रि- रेडिकल्स स्थिर बनाउँछ । फलतः यसबाट हामीलाई लाग्ने सक्ने घातक रोगहरुबाट बचाउने काम गर्छ ।

स्वस्थ रहन एन्टिअक्सिडेन्ट हाम्रो शरीरको अति आवश्यक तत्व हो । शरीरमा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट भएको अवस्थामा क्यान्सर, मुटुरोग, उच्च रक्तचाप, अल्जाइमर, पक्षघात र आँखा कमजोर वा धमिलो हुने जस्ता रोग लाग्नबाट जोगाउँछ ।

यसले शरीरलाई सम्भावित रोगबाट बचाउँछ । साथै रोग लागिसकेपछि पनि रोगसँग लड्ने क्षमता बढाउँछ ।

शरीरमा कसरी प्राप्त हुन्छ एन्टिअक्सिडेन्ट ?

एन्टिअक्सिडेन्टलाई भिटामिन वा मिनरल्सको रुपमा पनि बुझ्न सकिन्छ । कति एन्टिअक्सिडेन्ट शरीरभित्र बन्छ । कतिपय भने हामीले खाने खानाको स्रोतबाट प्राप्त हुन्छ ।

एन्टिअक्सिडेन्टको मुख्य स्रोत ग्रीन टी हो । ग्रीन टीमा भरपुर मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ । त्यसैगरी गोलभेंडा, एभोकार्डो, किबी, अदुवा, पुदिना, बदाम एन्टिअक्सिडेन्टका स्रोत हुन् । धेरै सागसब्जी र फलफूलमा एन्टिअक्सिडेन्ट पाइन्छन् । यद्यपि उक्त खानेकुरा प्राकृतिक रुपमा उत्पादन भएको हुनुपर्छ ।

(पोषणविद् महर्जनसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

एन्टिअक्सिडेन्ट बुढ्यौली
लेखक
सञ्जय महर्जन, पोषणविद्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय