+
+

पोखराको महेन्द्रपुलमा स्मार्ट सार्वजनिक शौचालय बनाइने

रासस रासस
२०७९ चैत २८ गते १४:१०

२८ चैत,  कास्की । पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण सुरु भएको छ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले सार्वजनिक शौचालय बनाउन पोखरा महानगरसँग साझेदारी गरेको हो ।

महानगर प्रमुख धनराज आचार्यले सार्वजनिक शौचालय निर्माणको सोमबार शिलान्यास गरे । महेन्द्रपुलको उत्तरतर्फ रहेको पाँच आना क्षेत्रफलमा एनआरएनए र पोखरा महानगरपालिको संयुक्त लगानीमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृह निर्माण हुनेछ ।

यसमा एनआरएनएले ६० लाख र पोखरा महानगरपालिकाले ४० लाख रुपैयाँ लगानी गर्नेछन् । महानगरपालिकामा हाल १५ बढी स्थानमा महानगरले निर्माण गरेका सार्वजनिक शौचालय र ६० बढी स्थानमा निजी साझेदारीमा सञ्चालन गरिएका सार्वजनिक शौचालय छन् ।

महेन्द्रपुलको दक्षिण भागमा भने महानगरपालिकाले अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माणको तयारी गरेको छ । त्यसको शिलान्यास आगामी वैशाख १ गते गरिनेछ । त्यहाँ संयुक्त राष्ट्र सङ्घमा आवद्ध एक सय ९३ देशसहित साझेदार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाको झन्डासमेत राखिने महानगरले जनाएको छ । पार्ककोबीच भागमा नेपालको सबैभन्दा ठूलो झन्डा राखिनेछ । विशेष अवसरमा झण्डात्तोलनका लागि सोही स्थानमा कार्यक्रम गरिने बताइन्छ ।

शौचालयको शिलान्यास गर्दै प्रमुख आचार्यले पोखराको पर्यटन प्रवर्द्धन तथा नागरिकको सेवाका लागि सो स्थानमा सार्वजनिक शौचालयको आवश्यकता महसुस गरिएको बताए । जीर्ण भवन विस्थापित गरी जनतालाई सर्वसुलभ तरिकाबाट सेवा प्रदान गर्ने उद्देश्यले चमेना गृहसहितको सार्वजनिक शौचालय निर्माण गर्न लागिएको महानगरपालिकाका प्रमुख आचार्यले बताए ।

‘यो शौचालय पोखराका लागि नमुना शौचालय हुनेछ, अत्याधुनिक प्रविधिको प्रयोगमार्फत स्मार्ट शौचालय निर्माण हुनेछ’, प्रमुख आचार्यले भने, ‘चमेनागृहसहित महिला दिदीबहिनीका लागि स्तनपान कक्ष र सेनेटरी प्याडको भण्डारसमेत समावेश हुनेछ ।’

शौचालयबाट निकाल्न सकिने ग्यासको प्रयोगबाट चमेनागृह पनि सञ्चालन गरिने छ । त्यो नेपाली शैलीको हुने प्रमुख आचार्यको भनाइ छ । आसपासमा केही चौतारी निर्माण गरिनेछन् । अधिकांश स्थान भने खुल्ला नै राखिने प्रमुख आचार्यले बताए ।

एनआरएनएकी मेगा प्रोजेक्ट संयोजक रविना थापाले पोखरा महानगरपालिकाको महेन्द्रपुलमा आफूहरूले नेपाली शैलीको अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृह निर्माणका लागि महानगरपालिकासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन् । एनआरएनएका कार्यकारी अध्यक्ष बद्रिबहादुर केसीले विदेशमा जस्तै पोखरामा पनि सुविधा सम्पन्न अत्याधुनिक शौचालय निर्माण गरिने बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?