+
+

कांग्रेसमा बहस : पार्टी सञ्चालनमा चुक्यौं

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३० गते १९:१४

२९ चैत, काठमाडौं । प्रमुख दलहरुमाथि प्रश्न उठिरहेका बेला नेपाली कांग्रेसमा रुपान्तरणको बहस सुरु भएको छ ।

वैचारिक बहस गर्ने ध्येयले ‘नेपाली कांग्रेसको रूपान्तरणका एजेण्डाः के र कसरी ?’ संवाद कार्यक्रमको आयोजना गरेर पार्टीले हिँडिरहेको बाटोलाई सुधार गर्नुपर्ने वक्ताहरुले जोड दिए । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको संवाद श्रृंखला–१ अन्तर्गत महामन्त्री गगनकुमार थापाले पार्टीलाई पुर्नजागृत गर्ने भन्दै केही विषय प्रस्तुत गरे ।

कांग्रेसका नेता कार्यकर्ताको भेलामा महामन्त्री थापाले सदस्यता वितरण, उम्मेदवार चयन, आर्थिक पारदर्शिता, ल्याटरल इन्ट्री लगायतमा पार्टी नयाँ ढंगले अघि बढ्नुपर्ने बताए । आगामी वर्ष (२०८० साल) लाई पार्टी रुपान्तरणको वर्ष हुने गरी अभियान चलाउने र कांग्रेसमाथि नागरिकको भरोसा पुनर्स्थापित गराएरै छोड्ने प्रतिवद्धता व्यक्त गरे ।

नयाँ दलहरुले पाएको सफलतालाई कांग्रेसले चुनौती ठानेको छ । पुराना दलहरु सबै उस्तै हुन् भन्ने भाष्य सिर्जना गर्न खोजिएको भन्दै महामन्त्री थापा भन्छन्, ‘उत्ताउलो रोमाञ्चकताले कहिलेकाहीं मान्छेलाई भड्काउँछ पनि ।’ नयाँ नेपाल बनाउने भनी २०६४ पछि लाग्दै गर्दा कतिपय परिवर्तन गर्नुपर्ने विषयहरु दलहरुले भुलेको उनले बताए ।

हिंसाको चपेटाबाट मुलुकलाई निकास दिने क्रममा युवाहरुमा आशाको सञ्चार भएको स्मरण गर्दै थापाले यो बेला निराशा चरमवृद्धि भएको सुनाए । त्यो बेला आशा जगाउन नसकेको कांग्रेसले संविधान बनेर मुलुक स्थायित्व हुँदा समेत किन भरोसा दिन सकेन भनि कार्यक्रममा चिन्ता व्यक्त गरिएको थियो ।

‘त्यो बेला भविष्यप्रति आशावादी मान्छेहरु भेटिन्थ्यो’, उनले भने, ‘कांग्रेस छ भन्ने नागरिकमा थियो । हिंसाबाट मुक्त गर्न कांग्रेसले संवाद गर्दैछ भन्ने मानिसहरुमा आशा थियो ।’ नागरिकमा चरम निराशा हुनुमा सपनाको मलामी जानुपर्ने कारण भएको थापाको निर्क्योल छ ।

व्यवस्था परिवर्तनका क्रममा कांग्रेसले नेतृत्वदायी भूमिका खेल्दै आयो । कांग्रेसले खेलको भूमिकालाई हटाएर व्यवस्था परिवर्तनको इतिहास पुरा हुँदैन । विगतमा निर्णायक भूमिकामा रहेको कांग्रेस यतिबेला उस्तै किन हुन सकेन भनि सहभागीले चिन्ता व्यक्त गरे ।

पार्टी व्यवस्थापनमा चुक्दा प्रश्न उठिरहेको महामन्त्री थापाको बुझाइ छ । विपी कोइरालाकाल, प्रतिबन्धित काल, २०४६ पछि हरेका कालखण्डमा पार्टी व्यवस्थापनले समस्या सिर्जना गरेको उनले सुनाए ।

कांग्रेसमा क्रियाशील सदस्यताको विवाद हरेक महाधिवेशनमा उठ्छ । नेताले आफू निकटलाई क्रियाशील सदस्यता वितरण गर्ने र त्यसकै आधारमा आफू सुरक्षित हुने प्रणाली परिवर्तन गर्नुपर्ने आवाज बेला बेला उठ्छ । क्रियाशील सदस्यता वितरणलाई खुला बनाउनुपर्ने तर्क थापाले राखे । उनले भने, ‘कांग्रेसको क्रियाशील सदस्यता खुला गरेर जानुपर्दछ ।’

कांग्रेसका लागि निर्वाचन हुँदा हरेकपटक विवाद टिकट वितरणमा हुन्छ । विधान अनुसार ३ जनाको नाम सिफारिस मातहतका संरचनाले गर्नुपर्ने हुन्छ । तर, आकांक्षीको नाम केन्द्रमा तल्लो तहले पठाइदिन्छ ।

कहिलेकाहीँ तल्ला समितिबाट सिफारिस भएका उम्मेदवारले नै टिकट पाउँदैनन् । उम्मेदवार छनोट गर्ने अधिकार तल्लो संरचनालाई दिनुपर्ने महामन्त्री थापा तर्क गर्छन् । ‘प्रतिनिधि सभाको १६५ क्षेत्रमा कसलाई उठाउने भन्ने कुरा संसदीय बोर्डले छान्ने हो कि त्यहाँको कार्यकर्ताले ? यसबारेमा पार्टीमा छलफल हुनुपर्छ ।’

फरक क्षेत्रका विज्ञलाई पार्टीको माथिल्लो तहमा स्वतः प्रवेश गराउनुपर्ने आवाज कांग्रेसमा बेला बेला उठ्छ । ल्याटरल इन्ट्रीमार्फत उपल्लो तहमा ल्याउनुपर्ने तर्क महामन्त्री थापा राख्छन् ।

१४औं महाधिवेशन सकिएको ६ महिनामा नीति महाधिवेशन गर्ने कांग्रेसले जनाएको थियो । महाधिवेशन सकिएको डेढ वर्ष पुग्न लाग्दासमेत नीति महाधिवेशनको मिति तोकिएको छैन । केही समयपछि नीति महाधिवेशन गर्ने महामन्त्री थापाले प्रतिवद्धता व्यक्त गरे ।

‘कांग्रेसले लिने नीति के हो ? आगामी दश वर्षका पार्टीका एजेण्डा र लक्ष्य के हुन् ? नीति महाधिवेशनमा बहस हुन्छ । बहस मात्रै होइन, बाटो पनि देखाउँछ’, थापाले भने । भ्रातृ संस्था गठन र सञ्चालन प्रक्रियामा पनि थप बहस नीति महाधिवेशनमा हुने थापाले बताए ।

कांग्रेसलाई रुपान्तरण गर्ने उद्देश्यले केन्द्रीय सदस्य मधु आचार्यले वैचारिक बहस गर्ने थलोका रुपमा सामाजिक लोकतन्त्र अध्ययन केन्द्र बनाएका छन् । आचार्यले रुपान्तरणको एजेण्डा सहित मन्थन जारी रहने बताए । कांग्रेसले हिँडेको तरिकालाई जनताले मन नपराएको हो कि भनेर मन्थन गर्ने बेला आएको उनले बताए । पुरानो वस्तु गुणस्तरीय नागरिकको झुकाव नयाँतिर गएको प्रति बहस हुनुपर्ने उनले बताए ।

‘मतदाताको समर्थन घट्दै गएको छ । राजनीतिक बजार थप प्रतिस्पर्धी बन्दै गएको छ । जिम्मेवारीका प्राथमिकता फेरिएका छन्, त्यसतर्फ ध्यान पु¥याउन सकेनौं’, आचार्यले भने ।

संसदीय निर्वाचनमा पछिल्लो समय कांग्रेसको मत प्रतिशत घट्दै गएको छ । त्यसप्रति आचार्यले चिन्ता व्यक्त गरे । २०१५ मा ३७.२, २०४८ मा ३७.७५, २०५१ मा ३३.३८, २०५६ मा ३७.२९, २०६४ २१.१४, २०७० मा २५.५५, २०७४ मा ३२.७८, २०२२ मा २५.७१ प्रतिशत पार्टीले पाएको उनले तथ्यांक सुनाए ।

सहभागी कार्यकर्ताले कांग्रेस विधिसम्मत नचलेको चिन्ता राखे । महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको भूमिका माथि समेत प्रश्न उठाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?