+

स्वस्थ जीवन र लामो आयुका लागि सात्विक भोजन

२०८० वैशाख  ३ गते १८:११ २०८० वैशाख ३ गते १८:११
स्वस्थ जीवन र लामो आयुका लागि सात्विक भोजन

सात्विक भोजनअन्तर्गत मानसिक र शारीरिक दुवै रुपमा स्वस्थ राख्न मद्दत गर्ने खानेकुरा पर्छन् । प्राकृतिक रुपमा सजिलै पकाउन सकिनु, भरपूर पोषण दिनु, शरीरलाई हल्का गराउनु,  ऊर्जा दिनु सात्विक भोजनका मुख्य विशेषता हुन् । जसकारण पनि आयुर्वेद क्षेत्रमा सात्विक भोजनलाई मानव शरीरको विकास, स्वस्थता र दीर्घजीवनको  लागि उत्तम मानिन्छ ।

संस्कृत शब्द सात्विकको अर्थ शुद्ध, सत्य, नैतिक, ऊर्जावान, स्वच्छ, बलियो, बुद्धिमान र जीवित वा अति आवश्यक हो । सात्विक खानामा प्रकृतिले दिएको मौसमी फलफूल र तरकारी, दूध र दुग्धजन्य पदार्थ, अन्न, ताजा फलफूलको रस, दाल, मह र चिया समावेश छन् । जसमा गुलियो, नुनिलो, अमिलो, टर्रो, पिरो र तितो रस पाइन्छन् । यी रसहरुको मात्रा मिलाएर दैनिक खाँदा पूर्ण पोषण मिल्ने बताइन्छ ।

यद्यपि, यी खानेकुरा खाएर मात्र हुँदैन, खाने समय, मात्रा र शरीरको मागमा पनि ध्यान दिनुपर्ने हुन्छ । सात्विक खानेकुराले शारीरिक बल, मानसिक स्वास्थ्य र दीर्घायु हुने विश्वास गरिन्छ । यस्तो खानाको सेवनले तन र मन शुद्ध हुने, शक्ति मिल्ने, सुन्दरता र प्रसन्नता मिल्ने बताइन्छ ।

चिकित्सकहरुले पनि स्वस्थ रहन प्राकृतिक खानेकुरालाई प्राथमिकता दिन सुझाउने गर्छन् जुन सात्विक भोजनबाट प्राप्त हुन्छ ।

सात्विक भोजनका फाइदा

-सात्विक आहारमा भरपूर पोषण, फाइबर, खनिज, भिटामिन, प्रोटिन तथा एन्टिअक्सिडेन्ट पाइने भएकाले यसको सेवनले शरीरको प्रतिरोधात्मक बलियो बनाउन मद्दत गर्छ ।

-सात्विक खाना हल्का र सहज रुपमा पच्ने हुँदा पाचनप्रक्रिया स्वस्थ रहनुका साथै दिनभर  शरीरलाई ऊर्जा दिन्छ । त्यसैले पाचन समस्या पेट दुख्ने, ग्यास, कब्जियतको समस्या भएका व्यक्तिले सात्विक आहार खानुपर्छ । यसले बिस्तारै पेटलाई सन्तुलन गराउँदै पाचनशक्ति बलियो बनाउँछ ।

-यसमा धेरै कम तेल र मसला प्रयोग गरिन्छ, जसले गर्दा यसले पेट, मस्तिष्क र दिमागलाई सन्तुलनमा राख्छ । साथै सात्विक खानामा फलफूल, तरकारी, सलाद धेरै प्रयोग गरिन्छ । जसमा क्यालोरी निकै कम हुने भएकाले तौल घटाउन पनि मद्दत गर्छ ।

-सात्विक खानामा हुने अन्न, मौसमी फलफूल र तरकारीमा भिटामिन र मिनरल्सलगायत धेरै पोषक तत्व पाइन्छ, जसले छालालाई चम्किलो बनाउन मद्दत गर्छ ।

-सात्विक आहारमा तैलीय मसलाको सट्टा फाइबर, एन्टिअक्सिडेन्ट र पोषक तत्वले भरिपूर्ण खानेकुरा पाइन्छ, जसले हामीलाई दीर्घकालीन रोगबाट बचाउन मद्दत गर्छ ।

तामसी र राजसी भोजन

तरकारीमध्ये प्याज र लसुनलाई तामसी आहारमा राखिएको छ । यसले व्यक्तिलाई उत्तेजित गर्ने हुँदा सात्विक भोजनमा वर्जित गरिएको पाइन्छ । त्यसबाहेकका  सबै प्रकारका  प्रशोधित खानेकुरा, परिष्कृत खाना, बासी खाना, धेरै पकाएको र धेरै मसलादार खाना, माछामासु, चिया, कफी जस्ता खानेकुरा राजसी र तामसी भोजनमा पर्छन् । यस्ता खानेकुराले शरीरलाई भारी गराउने, रिस, चञ्चलता, उत्तेजित गर्नुका साथै पाचनप्रक्रियामा असर गरी विभिन्न रोगलाई जन्म दिने बताइन्छ ।

सात्विक आहार नखाँदा बढ्यो दीर्घरोगको समस्या 

आफ्नो जमिनमा उब्जाउ भएको अन्न, फल, आफ्नो भान्साकोठामै तयार गरिएको खानेकुरा भन्दा बाहिरका खानेकुरा खाने प्रवृत्ति बढ्दा कलिलै उमेरमा रोगको सिकार हुनुपर्ने अवस्था आएको छ ।

आयुर्वेदले मात्र नभई विश्व स्वास्थ्य संगठनले पनि क्यान्सर, उच्च रक्तचाप, क्यान्सर र मधुमेह जस्ता रोगको वृद्धि हुनुको मुख्य कारण आधुनिक खानपान रहेको बताएको छ । जब शरीरले माग्छ तब मात्र खानेकुरा खानुपर्छ । तर अहिले अरुले खाएको देखेर खाने, अरुलाई साथी बस्दिन पनि खाइदिने, खानेकुरा देख्ने बित्तिकै शरीरले माग्दै नमागी खाँदा पाचन रस तयार नै नहुने भएकाले बिस्तारै रोगतर्फ धकेल्न सक्छ ।

(आयुर्वेदिक चिकित्सक डा. उपाध्याय आयुर्वेद विभागका महानिर्देशक हुन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

सात्विक भोजन
लेखक
डा. वासुदेव उपाध्याय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय