+
+

सिंगापुरको चांगी विमानस्थल : यसरी बन्यो संसारकै उत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ४ गते १३:०९

४ वैशाख, काठमाडौं । हिसकन्दर जुल्कार्नेन आफ्नी पत्नी तथा दुई बच्चासहित हरेक केही हप्तामा सिंगापुरको चांगी अन्तराष्ट्रिय विमानस्थल पुग्छन् । त्यहाँ उनीहरुको गन्तव्य हो जेवेल, जुन टर्मिनल १ सँगै जोडिएको १५ लाख वर्गफिटको शपिंग मल हो । सो मल विश्वप्रसिद्ध क्यानेडाली आर्किटेक्ट मोशे साफडी र उनको टिमले डिजाइन गरेको हो ।

जुल्कार्नेनका बच्चाहरु उक्त शपिंग मलभित्र रहेको साततले पानीको झरनाप्रति निकै आकर्षित छन् । उक्त कृत्रिम झरना विश्वकै अग्लो भवनभित्रको झरना हो ।

शपिंग मलको डिज्नी थिमको प्रकाश तथा सांगितिक प्रस्तुती पनि उनीहरुको रोजाइमा पर्दछ । त्यसपछि जुल्कार्नेन परिवार टर्मिनल ३ मा पुगेर रोकिन्छ जहाँबाट ३ केही मिनेटको बस वा विद्यूतीय रेल चढेर बालबालिकामैत्री कार्निभलमा पुगिन्छ जहाँ बच्चाहरु गेम खेल्न तथा विभिन्न साधनहरु चढ्न पाउँछन् ।

आराम, किनमेल तथा खानपान समेतको गन्तव्यको रुपमा आफुलाई प्रस्तुत गरेको चांगी जस्तै अर्को कुनै विमानस्थल आफुले अहिलेसम्म फेला नपारेको उनी बताउँछन् । सिंगापुरको विश्व प्रसिद्ध शपिंग गल्लीको रुपमा रहेको अर्काड रोडमा पुग्न पनि उनलाई निकै मन पर्दछ ।

विश्वका विमानस्थलहरुको समीक्षा तथा सूचिकरण गर्ने परामर्शदातृ कम्पनी स्काइट्रयाक्सका अनुसार चांगी विश्वको सबैभन्दा उत्तम विमानस्थल हो । सो कम्पनीले विश्वकै बृहत दाबी गरिएको विमानस्थल प्रयोगकर्ताको सन्तुष्टि सर्भेक्षण गरेर विश्वका ५ सय ५० विमानस्थलको विमानस्थलहरुको सूचिकरण गरेको छ । त्यसमा हवाईयात्रुहरुबाट विमानस्थलमा उपलब्ध सेवा तथा सुविधाका बारेमा पृष्ठपोषणहरु लिने गरिन्छ ।

Skytrax को सूचिमा चांगी विमानस्थल १२ पटक विश्वको सर्वोत्कृष्ट विमानस्थलको रुपमा पहिलो नम्बरमा रहन सफल भएको छ । पछिल्लो एक दशकमा ८ पटक चांगीले बाजी मारेको छ ।

गत मार्च महिनामा चांगीले कतारको दोहास्थित हमाद अन्तराष्ट्रिय विमानस्थल तथा टोक्योस्थित हानेदा विमानस्थललाई पछि पार्दै विश्वको सर्वोत्कृष्ट विमानस्थलको रुपमा आफ्नो नम्बर वानको ताज फिर्ता ल्याएको छ ।

कोरोना महामारी अगाडि सन् २०१९ मा चांगी विमानस्थलबाट करीब ३ लाख ८२ हजारवटा उडान तथा अवतरण भए र ६ करोड ८० लाख हवाईयात्रुले सो विमानस्थलको प्रयोग गरेका थिए । यद्यपि, महामारी पछिको समयमा यात्रुको संख्या सो स्तरमा पूराउनका लागि चांगी अझै पनि प्रयासरत छ । चांगी विमानस्थल केवल यात्रा हबमात्र बनेको छैन सिंगापुरेहरुको लागि फुर्सदको समय बिताउने आइकनिक स्पट समेत बनेको छ ।

३४ वर्षीया राचेल टान आफु बस्ने ठाउँबाट १५ मिनेटको गाडीको यात्रा गरेर नियमित रुपमा चांगी विमानस्थलस्थित जेवेल शपिंग सेन्टरमा आउँछिन् किराना सामानहरु खरिद गर्न । उनी भन्छिन्, ‘तपाई पानीको फोहोर नजिकै बस्न सक्नुहुन्छ र जेवेलमा भएको अनुभूतिको आनन्द लिन सक्नुहुन्छ ।’

भूमिगत रेल तथा बसबाट समेत सजिलै पुग्न सकिने चांगीमा पुगेर दिनभर बिताउने मानिसहरु पनि धेरै छन् । तपाइँ त्यहाँ पुगेर मूभि हेर्न, खानेकुरा खान, सामानहरु खरीद गर्न तथा एकान्तमा बसेर परीक्षाको तयारीका लागि अध्ययन गर्न पनि सक्नुहुन्छ ।

साथै पछिल्ला वर्षहरुमा यो ठाउँ वैवाहिक फोटोशूट र पुनर्मिलन डिनरको लागि समेत चर्चित गन्तव्य बनेको छ । विमानस्थल भित्रका अन्य आकर्षणहरुमा एयर कन्डिसनयुक्त रेन फरेस्ट, भुलभुलैया तथा १२ मिटर अग्लो स्लाइड हुन् ।

त्यस्तै ट्रान्जिट एरियामा सुविधासम्पन्न स्पा रहनुका साथै निशुल्क रुपमा फिल्म देखाइने थिएटर र स्विमिङ पुल समेत रहेका छन् । त्यहाँ रहेका मसाज कुर्सी तथा पुतली बगैँचा पनि उल्लेखनीय ठाउँ हुन् ।

चांगी एयरपोर्टको आफ्नै पफ्र्युम छ । जसलाई विमानस्थलमा यत्रतत्र छरिएको हुन्छ र मग्मगाउने बासना आइरहेको हुन्छ । त्यस्तै टर्मिनल ४ बाहिर वास्तविक आकारकै डाइनोसर छ जुन करीब १ माइलसम्म फैलिएको छ ।

चाहे स्कुलको विषयमा होस् वा स्थानीय कलाकारको क्षेत्रमा किन नहोस् सबै विषयमा आफ्नो स्थानप्रति सिंगापुर निकै सचेत छ र सिँगापुरेहरु चांगीलाई आफ्नो प्रतिष्ठाको विषय बनाउँछन् ।

कुनैबेला एकजना भारतीय पत्रकारले सिंगापुरेहरुले चांगी विमानस्थललाई लिएर तर्कहीन गर्व गर्ने गरेको टिप्पणी त्यसको ठूलो आलोचना भएको थियो । उड्ययन कन्सल्टेन्सी कम्पनी इन्डाउ एनालिटिक्सका शुकोर युसोफका अनुसार सिंगापुरका अधिकारीहरुका लागि चांगी एयरपोर्टको वर्गीकरण कुनै धार्मिक आस्थाभन्दा कम छैन ।

यसले केवल उनीहरुलाई गौरवान्वित हुने शक्ति मात्र प्रदान गर्दैन विश्वका एयरलाइन्सहरुको उत्कृष्ट गन्तव्यको रुपमा चांगीको प्रतिष्ठालाई बलियो बनाउँदछ ।

महामारीको समयमा विमानस्थलको चेकइन काउन्टर तथा ड्युटी फ्री पसलहरु निकै सुनसान रहेको भएपनि भविष्यमा कुनै दिन सिंगापुर यात्रा गन्तव्य बन्नेछ भन्ने विश्वास लिएर सिंगापुर सरकारले उड्ययन क्षेत्रमा एक अर्ब डलरभन्दा धेरै लगानी ग्रेको थियो ।

लगानीको औचित्य पुष्टि गर्दै त्यसबेला सिंगापुरका यातायात मन्त्रीले भनेका थिए कि सिंगापुरलाई विश्वको व्यापार तथा व्यवसायको हबका रुपमा स्थापित गर्नका लागि उड्ययन क्षेत्रको निकै महत्वपूर्ण भूमिका छ ।

चांगी एयरपोर्ट केवल उत्कृष्ट गन्तव्य मात्र होइन विश्वकै सबैभन्दा उत्कृष्ट मध्येको एक ट्रान्जिट एयरपोर्ट पनि हो । ठूलो क्षेत्रफलमा फैलिनुका बाबजुत पनि चांगी एयरपोर्ट फ्रांकफर्ट तथा एम्सटर्डम सिपोल जस्ता विमानस्थल भन्दा धेरै व्यवस्थित तथा सुविधासम्पन्न छ ।

स्विजरल्याण्डको जूरिच बस्ने एलेक्स चानले एक वर्षमा ४ पटकसम्म चांगी एयरपोर्टलाई ट्रान्जिट बनाएर यात्रा गरेका छन् । प्रायः ६० जनासम्मको समूह लिएर यात्रा गर्ने चानलाई चांगी एयरपोर्टमा अहिलेसम्म कसैको पनि लगेज हराएको वा नभेटिएको अनुभव छैन । विश्वका अरु ठूला एयरपोर्टमा कनेक्टिङ्ग उडानहरु छुट्ने समस्या हुने गरेपनि चांगीमा त्यस्तो समस्या छैन ।

हालै चांगी एयरपोर्टमा प्राविधिक समस्याका कारण घण्टौँसम्म अध्यागमन क्लियरेन्स अबरुद्ध भएको घटनाका बाबजुत पनि विश्वका धेरै अन्तराष्ट्रिय यात्रुहरुले चांगी एयरपोर्टलाई नै ट्रान्जिटको रुपमा छान्ने गरेका छन् । कुनैपनि विमानस्थलमा समय, उर्जा तथा लगानी खर्च गरिएको हिसाबले चांगी एयरपोर्ट विश्वमै अग्रणी छ ।

सन् १९९० को दशकमा जतिबेला सिंगापुरमा हेर्न पाइने भनेकै सिंगापुरको सरकारी टेलिभिजनमा आउने सिरियल मात्रै थियो त्यसबेला चांगी विमानस्थलको आइकनिक कन्ट्रोल टावर प्रायः नयाँ सिरियलको छायांकनको सुरुवात गर्ने दृश्यको रुपमा हुन्थ्यो ।

चांगी विमानस्थल सन् १९८१ मा खुलेको हो र सुरुमा त्यहाँ केवल एउटा टर्मिनल र एउटा मात्रै रनवे थियो । तर समयक्रममा विमानस्थल विस्तार तथा तिव्र आधुनिकिकरण भयो । यसप्रतिको आकर्षण अद्धितीय छ । सन् २०१९ मा खुल्ला भएको सुरुको ६महिनामै जेवेल सपिंग मलमा पुग्ने आगन्तुकको संख्या ५ करोड पुगेको थियो ।

चांगी विमानस्थलमा अहिले पाँचौ टर्मिनल निर्माणाधीन छ र सन् २०३० को मध्यसम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।

वकिल तथा सामाजिक विश्लेषक एड्रियन तान भन्छन्, ‘विश्वमा सायद अरु कुनै यस्ता एयरपोर्ट छैनन् होला जहाँ स्थानीय मानिसहरु केवल रमाइलोका लागि पनि भ्रमण गर्दछन् ।’

उनका अनुसार सिंगापुरेहरुका लागि चांगी एयरपोर्ट छिमेकको कफीशप अर्थात् कोपिटियाम जस्तै बनेको छ । उनका अनुसार चांगी महान छ । यसले आफ्नै मौलिकतामा रहेर दक्षता र शिष्टाचारमा सिंगापुरको उत्कृष्टताको प्रतिनिधित्व गर्दछ। बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?