+
+

नेपालमा रहेका शरणार्थीहरुको व्यक्तिगत घटना दर्ताको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ७ गते १३:२९

७ वैशाख, काठमाडौं । सरकारले नेपालमा रहेका शरणार्थीको पनि व्यक्तिगत घटना दर्ता (जन्मदर्ता, मृत्युदर्ता, विवाह, सम्बन्ध विच्छेद, बसाईं सराई) गर्ने तयारी गरेको छ । यसका लागि कानुनी व्यवस्था गर्न लागिएको छ ।

‘अहिले शरणार्थीको व्यक्तिगत घटना दर्ता गर्ने कानुन छैन् । त्यसकारण शरणार्थीहरुको अभिलेख मात्रै राख्ने गरिएको छ, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक नवराज जैसी भन्छन्, ‘व्यक्तिगत घटना दर्ता नहुँदा शरणार्थीले भोग्नु परेका समस्याहरुमा सरकारको चासो गएको छ।’

निर्देशक जैसीका अनुसार शरणार्थीको व्यक्तिगत घटना दर्ता गर्ने व्यवस्थासहितको कानुनको मस्यौदा तयार भएको छ ।

महिला, कानुन र विकास मञ्चले बिहीबार राजधानीमा गरेको ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्बन्धी ऐन र नियमावलीका प्रावधानहरुमा आवश्यक परिमार्जन विषयक संवाद’ कार्यक्रममा बोल्दै विभागका निर्देशक जैसीले शरणार्थीको व्यक्तिगत घटना दर्ता गर्न गरी कानुनको मस्यौदा तयार भएको जानकारी दिएका हुन् ।

शरणार्थीको व्यक्तिगत घटना दर्ता गरेपछि हुने सहजता र आउन सक्ने जटिलताका विषयमा समेत छलफल चलिरहेको उनले बताए ।

गृह मन्त्रालयका अनुसार नेपालमा २० हजार बढी शरणार्थी छन् । भुटान र तिब्बतीबाहेक म्यानमार, पाकिस्तान, अफगानिस्तान, श्रीलंका, बंगलादेश, इराक, इरानसहित अफ्रिकी मुलुक सोमालिया र कंगोका नागरिकसमेत शरणार्थीका रुपमा नेपालमा रहेका छन् ।

सरकारले भुटान र तिब्बतीबाहेक अन्य मुलुकका नागरिकलाई शरणार्थीको हैसियत दिएको छैन । शरणार्थीको हैसियत नपाएका देशका नागरिकलाई सरकारले गैरकानुनी रुपमा बसोबास गरिरहेका व्यक्तिको सूचीमा राख्दै आएको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार शरणार्थीको हैसियत पाएका देशका नागरिकहरुको मात्रै व्यक्तिगत घटना दर्ता गर्ने सोच सरकारले बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?