+

सुनिल नारायण : आईपीएलमा धमाका, तर विश्वकपमा नो

२०८१ वैशाख  २५ गते २०:३० २०८१ वैशाख २५ गते २०:३०
सुनिल नारायण : आईपीएलमा धमाका, तर विश्वकपमा नो

२५ वैशाख, काठमाडौं । हरेक खेलाडीले करिअरमा कुनै न कुनै समय खराब लयको सामना गर्नपर्छ नै ।

आलोचना खेप्नुपर्ने मात्र होइन, टोलीबाट बाहिर जानुपर्ने जोखिम पनि उत्तिकै हुन्छ । अझ इन्डियन प्रिमियर लिग (आईपीएल) मा त फ्रेन्चाइज टिमले रिलिज गरिदिने सम्भावना धेरै हुन्छ ।

कोलकाता नाइट राइडर्सका क्यारेबियन स्पिन अलराउण्डर सुनिल नारायणको पछिल्ला तीन संस्करण ब्याटिङमा प्रदर्शन सम्झन लायक थिएन । सन् २०२३ को सिजनमा उनले १४ खेलमा २१ रन जोड्दा ११ विकेट लिएका थिए ।

त्यसअघि २०२२ मा ७१ रन बनाउँदा ९ विकेट लिएका थिए । २०२१ मा ६२ रन र १६ विकेट, २०२० मा १२१ रन र ५ विकेट, अनि २०१९ मा १४३ रन र १० विकेट ।

एकपछि अर्को सिजन राम्रो प्रदर्शन गर्न नसकेपछि कोलकाताका समर्थकले भन्न थालेका थिए, सुनिल नारायण अब बुढो भए, खेल्न सक्दैनन् । बरु उनका लागि खर्चिएको ६ करोड भारुमा अर्को राम्रो म्याच विनर आउन सक्ने समर्थकको तर्क थियो ।

तर कोलकाताले २०२४ मा पनि ३६ वर्षीय सुनिल नारायणलाई निरन्तरता मात्र दिएन, ओपनरका रुपमा खेलायो ।

उनले पनि ब्याटिङ र बलिङमा दमदार प्रदर्शनबाट टिमको विश्वासलाई सही साबित गरिदिएका छन् ।

यस सिजनमा कोलकाताले ११ मध्ये ८ मा जित र ३ मा हारसहित १६ अंकका साथ शीर्ष स्थानमा छ । टिमलाई शीर्ष स्थानमा राख्न महत्वपूर्ण भूमिका खेलेका उनले एक शतक, ३ अर्धशतकसहित ४६१ रन बनाउँदा १४ विकेट लिएका छन् ।

जबकी यसअघि २०१८ को सिजनमा बनाएको ३५७ रन नै उनको सर्वाधिक स्कोर थियो ।

यो सिजन उनले १६ अप्रिलमा राजस्थान रोयल्सविरुद्ध इडेन गार्डेनमा ५६ बलमा १३ चौका र ६ छक्कासहित १०९ रनको शतकीय इनिङ खेले । स्पिन अलराउण्डर सुनिल नारायणको यो आईपीएल मात्रै नभई करिअरकै पहिलो शतक थियो ।

५ मेमा लखनऊविरुद्ध ३९ बलमा ६ चौका र ७ छक्कासहित ८१ तथा अघिल्लो महिना दिल्लीविरुद्ध ३९ बलमा ७ चौका र ७ छक्कासहित ८५ रनको इनिङ खेले ।

अफस्पिन बलिङ गर्ने उनी पावर प्ले र मध्यक्रममा त्यति नै प्रभावशाली प्रदर्शन गरेका छन् । २०१२ मा कोलकाताबाट राजस्थान रोयल्सविरुद्ध ८ अप्रिलमा डेब्यू गर्दा उनी २३ वर्षका थिए । कोलकातालाई पहिलो उपाधि जिताउन भूमिका खेलेका उनी २४ विकेटका साथ प्लेयर अफ द टुर्नामेन्ट चुनिएका थिए ।

२०१४ मा कोलकाताले दोस्रो पटक आईपीएल उपाधि जित्दा उनले २१ विकेट लिएका थिए ।

‘मलाई लाग्छ, सबैभन्दा महत्वपूर्ण कुरा राम्रो सुरुवात गर्नु हो । सपोर्ट स्टाफ (टिम म्यानेजमेन्ट) ले मलाई साथ दिए, कोचिङ स्टाफले मेरा लागि काम गरे’, यो पटक फेरि राम्रो लयमा देखिएका सुनिलले लखनऊविरुद्ध प्लेयर अफ द म्याच चुनिएपछि भने, ‘आशा छ, बाँकी प्रतियोगिता पनि राम्रो हुनेछ ।’

कोलकाताले दुई पटक उपाधि जित्दाका कप्तान गौतम गम्भीर यस पटक मेन्टरको रुपमा फर्किएका छन् । २०१८ मा गम्भीरले दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेपनि खराब प्रदर्शनले बीचमै कप्तानी छाडेका थिए ।

२०२२ र २०२३ मा गम्भीर लखनऊ सुपर जायन्ट्समा थिए । यो पटक कोलकातामा मेन्टरका रुपमा आएका उनले आफ्नो आत्मविश्वास बढाएको सुनिल बताउँछन् ।

‘गम्भीरले मलाई कन्फिडेन्स दिँदै ओपनरको रुपमा खेल्छु भन्ने आश्वासन दिए’, राजस्थानविरुद्ध शतक हानेपछि नारायणले भनेका थिए, ‘म टोलीलाई सबै खेलमा धेरै राम्रो सुरुवात दिलाउन चाहन्छु ।’ यद्यपि त्यो खेलमा कोलकाता २ विकेटले पराजित भएको थियो । तर उनले ओपनरको भूमिका पाइरहे ।

आईपीएलमा उत्कृष्ट प्रदर्शनसँगै टी–२० विश्वकप खेल्ने वेष्टइण्डिज टिममा उनको पुनरागमनबारे समेत चर्चा सुरु भयो । वेष्टइण्डिजले अर्को महिना अमेरिकासँग मिलेर टी–२० विश्वकपको आयोजना गर्दैछ ।

अनि, पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद आमिर र मोहम्मद वासिम पनि सन्न्यास फिर्ता लिएर विश्वकप छनोट प्रक्रियामा छन् ।

त्यसैले सुनिल नारायण पनि सन्न्यास फिर्ता लिँदै वेष्टइण्डिजबाट टी–२० विश्वकप खेल्नसक्ने अनुमान थियो ।

वेष्टइण्डिजका टी–२० कप्तान रोभम्यान पावेलले समेत अघिल्लो महिना उनलाई टोलीमा फर्खाउन प्रयास गर्ने बताएका थिए । तर सुनिल नारायणले सन्यास फिर्ता नलिने अडान लिए ।

‘मेरो हालको प्रदर्शनले मानिसहरु सन्यास फिर्ता लिएर आगामी टी–२० विश्वकप खेल्न उत्प्रेरित गरेका छन्’ वेष्टइण्डिजले टी–२० विश्वकप खेल्ने टोली घोषणा गर्नु अघि नै उनले २३ अप्रिलमा इन्टाग्राममा लेखे, ‘म त्यो निर्णयबाट कहिल्यै निराश हुन्न । मेरो वेष्टइन्डिजको टोलीमा फर्किने ढोका बन्द छ ।’

कमजोर प्रदर्शन गरेका टिमले विश्वास गरेकाले यो पटक विश्वकप टोलीमा पर्न नचाहेको मानिन्छ ।

२०१२ मा वेष्टइण्डिजले पहिलो पटक टी–२० विश्वकप जित्दा सुनिल नारायणले ९ विकेट लिँदै उत्कृष्ट प्रभाव छाडेका थिए ।

२०१६ मा बलिङ एक्सनमा प्रतिबन्ध लागेपछि ब्याटरको रुपमा मात्रै उनी टोलीमा पर्न सकेनन् । फाइनलमा कार्लोस ब्रेथवेटले इंग्लयाण्डका बेन स्टोक्सलाई लगातार ४ छक्का प्रहार गर्दै दोस्रो पटक उपाधि जिताएका थिए ।

सुनिल नारायण २०२१ र २०२२ को टी–२० विश्वकप खेल्न चाहन्थे । तर टोलीमा नपरेपछि २०२३ नोभेम्बरमा नारायणले लिए ।

यो पटक सन्यास फिर्ता लिएर टिममा फर्किन नचाहेका उनले वेष्टइण्डिज टिममा भएका खेलाडीहरु नै उपाधि दिलाउन सक्षम रहेको प्रतिक्रिया दिएका छन् ।

उनले अगाडि भने, ‘पछिल्लो केही महिनादेखि खेलाडीहरुले कडा मिहिनेत गरेका छन् । हाम्रा अद्भूत समर्थकलाई अर्को उपाधि जिताउन उनीहरु सक्षम छन् ।’

कोलकाता नाइट राइडर्स सुनिल नारायण
लेखक
भुपेन्द्र जि.सी.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय