+
+

राष्ट्रिय बुद्धिचाल : रुपेश र सुजनाको जित निरन्तर

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ८ गते १९:३५

८ वैशाख, काठमाडौं । राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिप अन्तर्गत खुलातर्फ शीर्ष वरीयताका फिडेमास्टर रुपेश जैशवाल र महिलातर्फ सुजना लोहनीले आआफ्नो जितयात्रालाई छैटौं चरणसम्म पुर्‍याउँदा  एकल अग्रतालाई कायम राखेका छन् ।

प्रतियोगिताको चौथो दिन शुक्रबार पाँचौं र छैटौं चरणको खेलमा रुपेशले लगातार जित निकाले ।

रुपेशले पाँचौं चरणमा राजन पुरीलाई हराउँदा छैटौं चरणमा पूर्व नेपाल च्याम्पियन सुरवीर लामालाई पराजित गरे ।

१४ वर्षीय युवा खेलाडी पुरुषोत्तम सिलवाल ५ अंकसहित रुपेशलाई पछ्याइरहेका छन् ।

बिहीबार चौथो चरणमा रुपेशसँग पराजित भएका पुरुषोत्तमले शुक्रबार पाँचौं चरणमा साविक विजेता पुरुषोत्तम चौलागाईंलाई ४१औं चालमा जित हासिल गरे ।

छैटौं चरणमा पूर्व नेपाल च्याम्पियन केशव श्रेष्ठलाई ४६औं चालमा निराश पारे । फिडेमास्टर क्षितिज भण्डारी साढे ४ अंकसहित तेस्रो स्थानमा छन् । पाँचौं चरणमा राजन सुवेदीसँग बराबरी खेलेका क्षितिजले छैटौं चरणमा राजीव कार्कीमाथि जित हासिल गरे ।

नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा जारी प्रतियोगितामा राजन सुवेदी चार अंकसहित चौथो स्थानमा छन् ।

दिव्यांश मल्टी प्रोडक्सनको प्रमुख प्रायोजन तथा रुक्मिणी टूर्स एण्ड ट्राभल्सको सह प्रायोजनमा भइरहेको प्रतियोगिताको महिलातर्फ वुमन फिडेमास्टर सुजना लोहनीले शतप्रतिशत जितयात्रालाई कायम राख्दै शीर्ष स्थानमा १.५ अंकको अग्रता बनाइन् ।

पाँचौं चरणमा उनले विनिता कपालीलाई पराजित गरिन् भने छैटौं चरणमा पुनम प्रसाईंलाई हराइन् । सुशीला गुरुङ साढे ४ अंकसहित दोस्रो स्थानमा छिन् भने तेस्रो स्थानमा रहेकी शान्ती धिमालले ४ अंक जोडेकी छन् ।

सुशीलाले पाँचौं चरणमा पूजा भण्डारीलाई हराउँदा छैटौं चरणमा रिया श्रेष्ठसँग बराबरी खेलिन् । शान्तिले पाँचौं चरणमा रियालाई पराजित गरेकी थिइन् । छैटौं चरणमा विनिता कपालीलाई हराइन् । लाजिम्पाटस्थित होटल ले हिमालयमा भइरहेको प्रतियोगितामा शनिबार सातौं र आठौं चरणका खेलहरु हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?