+

पूजामा अनिवार्य मानिने पञ्चामृतका फाइदा के छन् ?

२०८० वैशाख  १० गते १८:५३ २०८० वैशाख १० गते १८:५३
पूजामा अनिवार्य मानिने पञ्चामृतका फाइदा के छन् ?

काठमाडौं । कुनै पनि पेय पदार्थको स्वाद मीठो लागेमा पिएपछि ‘अमृत’ जस्तो भन्दै तारिफ गरेको सुनिरहेकै हुन्छौं । कसैको बोलीबचनकै तारिफ गर्दा पनि अमृत जस्तो अनमोल वचन  भनेको पक्कै सुनेका छौं ।

अमृतको गुणगान आज मात्र नभई ऋषिमुनिको पालादेखि नै हुँदै आएको पाइन्छ । त्यसमा पनि सबैभन्दा ठूलो बखान पञ्चामृतको छ । दूध, दही, सक्खर, मह र घिउ गरी पाँच तत्वको मिश्रणले बनेको पञ्चामृतको महिमा धर्मदेखि विज्ञानसम्म भएको पाइन्छ । आयुर्वेद तथा विज्ञानले औषधि र पोषणको रुपमा पञ्चामृतलाई लिएको छ भने धर्ममा शरीर शुद्ध र जीवनमा समृद्ध ल्याउन महत्वपूर्ण रहेको उल्लेख छ ।

धार्मिक महत्व

कुनै पनि धार्मिक कार्यको सुरुवात देवीदेवतालाई पञ्चामृत चढाएर गर्ने चलन छ भने समापन पनि पञ्चामृतलाई प्रसादको रुपमा ग्रहण गरेर मात्रै हुन्छ । अकाल मृत्यु नहोस्, सबै रोग नाश हुन् र शरीर पतनपछि जन्म र मरणका चक्रबाट मुक्त होस् भन्ने कामनाका साथ पञ्चामृत पूजापछि दिइने गरेको पण्डित रामहरि चापागाईं (उपाध्याय) बताउँछन् ।

‘यो पिउँदा मानिसमा सकारात्मक ऊर्जा उत्पन्न हुन्छ, भगवानलाई अर्पण गरिएको पञ्चामृत पिएर मानिस जन्म–मृत्युको बन्धनबाट मुक्त भएर मोक्ष प्राप्त गर्ने पनि विश्वास रहेको छ,’ पण्डित भन्छन् ।

पञ्चामृत स्वास्थ्यवर्द्धक

पञ्चामृत स्वास्थ्यको लागि फाइदाजनक हुने चिकित्सकहरु बताउँछन् । पूजामा प्रसादको रुपमा ग्रहण गर्दा भोको पेटमा शरीरलाई ऊर्जा दिने हुँदा यसलाई अनिवार्य रुपमा खाने नियम बनाइएको हुनुपर्ने आहारविद तथा जीवनशैली प्रशिक्षक डा. राजु अधिकारी बताउँछन् । ‘अमृत स्वास्थ्यवद्र्धक पोषिलो जलपान हो । यसको मीठो स्वादले शरीरका अंग प्रसन्न हुने भएकाले मन र तन दुवै खुसी हुन्छ,’ उनी भन्छन् ।

उनका अनुसार यसमा पाइने प्रि–बायोटिक र प्रो–बायोटिकले पाचनशक्तिलाई बलियो बनाउँछ । स्मरण क्षमता बढाउने, छाला स्वस्थ बनाउने, हड्डी बलियो बनाउनेदेखि शरीरको संरचनालाई राम्रो बनाउन भूमिका खेल्छ । साथै पञ्चामृतले रोगसँग लड्ने क्षमता बढाउने अधिकारी बताउँछन् ।

आयुर्वेदमा पञ्चामृत

हिन्दूधर्म संस्कृतिसँग मात्र नभएर आयुर्वेदमा पनि यसको विशेष महत्व रहेको आयुर्वेदिक चिकित्सक डा. पुनेश्वर केशरी बताउँछन् । उनका अनुसार यो मिश्रण पिउनाले शरीरमा रस, रगत, मासु, बोसो, हड्डीको क्षमता बढाएर शरीर बलियो हुन्छ । ‘दहीमा प्रोबायोटिक हुने, दूधमा क्याल्सियम, खनिज, बोसो जस्ता तत्व हुन्छ भने महमा एन्टिअक्सिडेन्ट तत्व हुन्छ । सक्खरले शरीरमा पित्त शान्त पार्छ, जसले गर्दा यी मिश्रित तत्वले रोग प्रतिरोधात्मक क्षमता बढाउने, शरीरमा उ,र्जा दिने र संक्रामक रोगबाट बचाउने गर्छ,’ केशरी भन्छन् ।

अमृतसरह शरीरलाई फाइदा गर्ने भए पनि यसको मिश्रण गर्दा बराबर मात्रा विष हुन सक्नेतर्फ पनि उनी सचेत गराउँछन् । ‘यसलाई बनाउन घिउ र महको मात्रामा विशेष ध्यान दिनुपर्ने हुन्छ । किनकि यी दुई तत्व बराबर हुँदा शरीरलाई हानि गर्छ,’ केशरी भन्छन् ।

कसरी बनाउने पञ्चामृत ?

डा. केशरीका अनुसार एकपटकको प्रयोग गर्न आधा कप दूधमा दुई ठूलो चम्चा दही, एक चौथाइ ठूलो चम्चा घिउ, आधा चम्चा सक्खर र थोरै मह राखेर मिश्रण गरी बनाउन सकिन्छ । ‘त्यसमा एसिड बन्न नदिन तुलसी मिसाउँदा झनै स्वास्थ्यलाई फाइदा पुग्छ । तुलसीको पात मिसाएर नियमित सेवन गर्दा कुनै पनि प्रकारको रोग लाग्दैन,’ केशरी भन्छन् ।

कोलेस्टेरोलका बिरामी र मधुमेहका बिरामीले भने नियमित सेवन गर्दा स्वास्थ्यलाई हानि पुर्‍याउन सक्ने भएका नखान उनी सुझाउँछन् ।

पञ्चामृत
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय