+
+

के यो देशमा इनोभेसन सम्भव छैन ?

वास्तविक नवप्रवर्तन, विज्ञान प्रविधिमा आधारित सुरुवाती व्यवसायलाई दुरुत्साहित गरियो भने नवप्रवर्तनसँग सम्बन्धित क्रियाकलापहरू नहुने वा अत्यन्त कम हुनेहुन्छ । परिणामतः हामीले ज्ञानमा आधारित अर्थतन्त्रको परिकल्पना गर्न सक्दैनौं । यो देशमा इनोभेसन सम्भव छैन भनेर वास्तविक इनोभेटरलाई दुरुत्साहित गर्ने काम नगरौं । राज्य चाँडै बिउझियोस् ।

विक्रम आचार्य विक्रम आचार्य
२०८० वैशाख ११ गते १५:४३

इनोभेसन (नवप्रवर्तन) भन्ने बित्तिकै हाम्रो मस्तिष्कमा ‘नयाँपन वा सुधारिएको’ भन्ने कुरा आउँछ। जुनसुकै कुराहरू चाहे त्यो ‘सेवा’ होस् हो ‘वस्तु’ – यसमा पहिले नै भएको भन्दा सुधारिएको वा नितान्त नयाँलाई साधारणता हामी नवप्रवर्तित वस्तु वा सेवा भन्ने गर्दछौं। तर यतिले मात्रै यसको अर्थ पूर्ण भने हुँदैन।

नव प्रवर्तित ‘वस्तु’ वा ‘सेवा’ पहिलेको भन्दा ‘कम मूल्य’, ‘किफायती’ वा समाजलाई सकारात्मक रूपान्तरण गर्ने गुण भएकोलाई मात्रै भनिन्छ। नयाँ भन्ने बित्तिकै सबै नवप्रवर्तन हो भन्न सकिन्न । त्यसैले सबै नयाँ वस्तु वा सेवामा समाजमा सकारात्मक रूपमा रूपान्तरण गर्ने गुण हुनु पर्दछ, किफायती हुनु पर्दछ र उक्त नयाँ वस्तु वा सेवाको मूल्य परम्परागत वस्तुको भन्दा अवश्य कम हुनु पर्दछ ।

नवप्रवर्तन भन्ने बित्तिकै यथास्थितिलाई चुनौती दिने प्रकारको हुन्छ। भइराखेको वस्तु वा सेवामा नयाँपन थप्न धेरै अध्ययन अनुसन्धान गर्नुपर्ने हुन्छ तर सबै नयाँपनको लागि गरिने अध्ययन अनुसन्धानहरूबाट नवप्रवर्तन सम्भव भने नहुन पनि सक्छ । त्यसैले नवप्रवर्तन गर्नको लागि ‘साम, दाम, दण्ड, भेद’ अर्थात् सबै प्रकारको त्याग र तपस्याबाट मात्रै सम्भव छ। यसको मतलब दक्ष जनशक्ति, लगानी, उचित टिम र वातावरणको आवश्यकता पर्दछ।

नवप्रवर्तनबाट आउने उत्पादनले सधैँ भइराखेको वस्तु वा सेवामा सुधार नै ल्याउने मात्रै हुँदैन । त्यसले त भइराखेको वस्तु वा सेवाका अस्तित्वलाई नै चुनौती दिँदै नयाँ वस्तु वा सेवाको नितान्त नयाँ तरिकाले सुरुवात पनि गर्न सक्छ।

विक्रम आचार्य

यदि भइराखेको वस्तु वा सेवाको अस्तित्वलाई नै चुनौती दिने नवप्रवर्तनलाई ‘डिस्रप्टिभ इनोभेसन’ (विघटनकारी नवप्रवर्तन) भनिन्छ। अक्सर यस्ता विघटनकारी नवप्रवर्तन बजारमा उचित व्यवस्थापन हुनको लागि विद्यमान नीति तथा कानुनी अड्चन बन्न सक्छन् । त्यस्ता विघटनकारी नवप्रवर्तनलाई प्रोत्साहन दिन राज्य सधैँ सचेत रहनु पर्दछ र उचित वातावरण बनाइदिनु पर्दछ ।

जुन जुन देशमा राज्यहरू नवप्रवर्तनप्रति सजग भए त्यहाँ इनोभेसन मात्रै होइन विघटनकारी नवप्रवर्तन पनि सम्भव भए र त्यस्ता धेरै ‘डिस्रप्टिभ इनोभेसन’को कारणले गर्दा हामीले कुनै समयमा प्रयोग गरिराखेका सामानको वा सो सामान उत्पादन गर्ने कम्पनीहरूलाई आज देख्न पाउँदैनौं । उदाहरणको लागि कुनैबेला अत्यधिक प्रयोग हुने प्रविधिजन्य सामानहरू एनालग क्यामेरा, फ्लपी/ कम्प्याक्ट डिस्क (सीडी), पेजर, म्याग्नेटिक टेपदेखि धेरै पर्दछन्।

तिनका उत्पादक ठूला ठूला कम्पनीहरू आज इतिहास भएका छन् । तीमध्ये कोडाक, ब्ल्याकबेरी मोबाइल, नोकिया फोन, फुजिफिल्म त केही नाम मात्रै हुन्छ- यिनीहरूको सूचि लामो नै छ ।

बदलिएको अवस्थाअनुसार नवप्रवर्तन गर्न नसक्ने कम्पनीहरूले टाट पल्टिएका प्रशस्तै उदाहरण छन् । कुनै समय विश्व बजारमा ९० प्रतिशत हिस्सा ओगटेको कोडाक ब्रान्डको क्यामेरा कम्पनी आफूले नै गरेको नवप्रवर्तनलाई चिन्न नसक्दा सकियो ।

कोडाक कम्पनीमा नै काम गर्ने एक इन्जिनियरले सन् १९७५ मा नै पहिलो डिजिटल क्यामेरा बनाएका थिए । त्यसलाई बेवास्ता गर्दै तत्कालीन समयमा भएको बजार हिस्साको दम्भले नवप्रवर्तनको बाटो रोक्यो र केही वर्षपछि टाट पल्टिनुपर्ने अवस्थामा पुग्यो।

नोकियाको पनि अवस्था त्यही नै हो। ठ्याक्कै त्यही समयमा कोडाकको बजारको दबदबालाई चुनौती दिनको लागि क्यानन कम्पनीले डिजिटल क्यामेरा प्रविधिलाई बजारमा ल्याएको थियो जुन परम्परागत प्रविधिको लागि विघटनकारी प्राविधिक नवप्रवर्तन थियो ।

कोडाकले आफ्नो लागि सन्नीकट ठूलो चुनौती आएको देखेर १९९० तिर ठूलो धनराशि खर्च गर्दै डिजिटल प्रविधि विकासमा प्राथमिकता दिन थाल्यो तर यो धेरै ढिला भइसकेको थियो । सन् २००३ मा टाट पल्टेको स्वघोषणा गर्न पुग्यो । प्रविधिमा काम गर्ने यस्ता हजारौँ कम्पनीहरू टाट पल्टेका छन्, कति आफ्नै कारणले त कति आवश्यक वातावरणको अभावको कारणले टाट पल्टेका छन् ।

यस्ता विघटनकारी प्रविधि वा वस्तुलाई समयमा नै चिन्ने कम्पनी भने तोसिबा हो। आफ्नो खस्कँदो बजारको हिस्सालाई समयमा नै चिन्यो। तोसिबाका एक जना इन्जिनियरले आफूसँग ल्यापटप बनाउन सक्ने स्केचहरू भएको उच्च पदस्थ कर्मचारी तथा कार्यकारीहरूसँग भनेका थिए तर त्यसलाई ठूलो लगानी लाग्ने भएकोले तत्काल सुरु गर्न नसक्ने बताउँदै आएका थिए ।

त्यही समयमा तोसिबा कम्पनीको युरोप क्षेत्र हेर्ने बजार व्यवस्थापकले युरोपमा छोटो समयमा नै दश हजार वटासम्म ल्यापटप बिक्री गर्न सक्ने प्लान सुनाए । लगत्तै तोसिबा कम्पनीले उक्त इन्जिनियरलाई अन्य सहयोगी दक्ष इन्जिनियर सहितको टिम बनाएर आवश्यक सबै आर्थिक जोहो गरेर काम गर्ने वातावरण बनाइदिएको थियो ।

दुई वर्ष पश्चात् ती इन्जिनियरले पहिलो ल्यापटपको प्रोटोटाइप दिएका थिए । त्यस पश्चात् कम्पनीले तत्काल ठूलो सङ्ख्यामा उत्पादन समेत सुरु गरी आफ्नो खस्कँदो बजारलाई इनोभेसन मार्फत आफ्नो पकडमा लिएको थियो।

नवप्रवर्तनसँग सम्बन्धित क्रियाकलापमा निजी संस्था मात्रै संलग्न हुन्छन् भन्ने हुँदैन। सरकारले समेत नवप्रवर्तनका विभिन्न क्रियाकलापहरू गरिराखेको हुन्छ जसलाई हामी नीति नवप्रवर्तन (पोलिसी इनोभेसन) भन्दछौँ। त्यस्ता पोलिसी इनोभेसनले हाम्रो दैनिकीलाई सहज बनाएको हुन्छ र विभिन्न रूपमा र प्रकारले समाजको सकारात्मक रूपान्तरण गरिरहेको हुन्छ । सही नीति प्रवर्तनले सरकारी सेवाहरू चुस्त दुरुस्त हुन्छन्, सबै क्षेत्रहरू उच्च उत्पादकत्वसहित उत्पादनशील हुन्छन्, उच्च रोजगारीको सिर्जना गर्न सक्ने जनशक्ति हुन्छ वा यस्तै यस्तै ।

जस्तो चीनले विदेशी लगानी भित्र्याउन, भारतले विदेशी सूचना प्रविधिका कम्पनीहरूको लगानी भित्र्याउन, अस्ट्रेलिया, अमेरिका, क्यानडाले विदेशका दक्ष जनशक्ति आफ्नो देशमा भित्र्याएर आर्थिक वृद्धिदर उच्च राख्न वा खाडी मुलुकहरूको उच्च विकास गर्नको लागि गरेका इनोभेसनहरू सरकारी तवरबाट भएका पोलिसी इनोभेसन नै हुन् ।

परिणामतः उनीहरूले समग्र समाजलाई सकारात्मक रूपान्तरण गरेका छन् । तर जहाँ पोलिसी इनोभेसन हुँदैन त्यहाँ चारैतिर निराशा हुन्छ व्यवसायहरू नीति कानुनी अड्चन वा सरकारी संयन्त्रका ढिलासुस्ती वा अकर्मण्यताका सिकार बन्छन्।

देशमा के भइराखेको छ वा बाहिरी संसारमा के भइराखेको छ भन्ने कुरा सरकारले थाह पाउँदैन भन्ने हुँदैन। सरकारसँग देशमा वा अन्तर्राष्ट्रिय स्तरमा के भइराखेको छ भन्ने थाहा पाउनको लागि एक भन्दा बढी संयन्त्रहरू हुन्छन् । यस्तो अवस्थामा नवप्रवर्तनसँग सम्बन्धित क्रियाकलापहरूका बारेमा सरकारले थाहा नपाउने कुनै गुन्जाइस हुँदैन। हुन त नवप्रवर्तन सम्बद्ध प्राज्ञहरू नेपालको राष्ट्रिय नवप्रवर्तन प्रणाली (नेसनल इनोभेसन सिस्टम) हुँदै नभएको वा भए पनि साह्रै कमजोर अवस्थामा रहेको भन्न पछि पर्दैनन्।

यहाँ संसारले चमत्कार गरिसक्दा यहाँका शासकहरू वा यहाँका प्राज्ञहरू बिउँझेका हुँदैनन् भन्छन् किनभने यहाँ विश्वविद्यालय, सरकार तथा व्यवसाय बीचको सम्बन्ध तथा सहकार्यहरू अत्यन्तै कमजोर छन् । एकले अर्कोलाई कि त चिन्दैनन् कि त उसका क्रियाकलापहरूलाई नकार्छन् र एक अर्का बीचमा भविष्यमा हुन सक्ने प्रत्यक्ष र परोक्ष सहकार्यलाई समेत अवरोध सिर्जना गर्दछन् ।

हालसम्म सरकार देशमा हुने कुनै पनि क्रियाकलापलाई सहजीकरण गर्न भन्दा पनि नियन्त्रण गर्न उद्धत छ भन्दा फरक नपर्ला। उदाहरणका लागि ‘यात्री’ मोटरसाइकल दर्ताको कुरा गरौं । यहाँ राज्यले सहजीकरण भन्दा नियन्त्रण गर्ने तरिका अपनायो । नागरिक तहबाट व्यापक रूपमा आवाज उठेपछि मात्र दर्ता प्रक्रिया सुरु हुने भएको छ । काम गर्न हौसला दिने पनि हाम्रो संयन्त्रले पत्ता पाएन वा कानमा तेल हालेर बस्यो । यसको मतलब सरकार सहजीकरण भन्दा पनि नियन्त्रण गर्न उद्धत भएको नै प्रस्ट हुन्छ।

इनोभेसन सिस्टम अध्येताहरूले नवप्रवर्तनलाई राज्यले ‘नयाँ कुरा हुनु भन्दा अगाडि नै नीति/कानुन बनाएर’ र ‘नयाँ कुरा भइसके नीतिगत वा कानुनी अड्चनलाई तत्काल समाधान गरेर’ गरी दुई प्रकारले सम्बोधन गर्छ भन्ने गर्दछन्। तर यी दुवै कुरामा नेपाल सरकार चुकेको मात्रै होइन विभिन्न माध्यमबाट दबाब दिँदा समेत यससँग सम्बन्धित कुनै पनि नीतिगत तथा कानुनी सहजता उपलब्ध गराउन नसक्दा हाम्रो इनोभेसन प्रणाली नै नभएको प्रस्ट हुन्छ।

इनोभेसन प्रणालीको एक महत्त्वपूर्ण अंग विश्वविद्यालय भित्र व्यवहारिक ज्ञानको प्रवर्धन गर्न तथा नवप्रवर्तन गर्न नै भनेर केही अनुसन्धान केन्द्रहरू खोलिएका थिए जसले सन् १९९० को दशक तिर नै सुधारिएको चुलोको आविष्कार गरेको थियो । तर आज तिनै अनुसन्धान केन्द्रहरू रित्ता छन् र प्राध्यापक, अनुसन्धानकर्ता बस्ने कुर्सी समेत छैन।

नेपालको ठूलो तथा पुरानो विश्वविद्यालयमा अध्ययन अनुसन्धान, नवप्रवर्तन मार्फत देशको आर्थिक स्थिति कायापलट गर्ने भनेर खोलिएका अनुसन्धान केन्द्रहरू कै छिमेकी बनेर महावीर पुनले इनोभेसन कसरी गर्नु पर्दछ भनेर ‘व्यवहारिक’ ज्ञान दिँदै छन्।

त्यस्तै अन्य सरकारी संयन्त्रहरू पनि इनोभेसन केन्द्रित अनुसन्धान गर्दै छन् तर आफैंले विकास गरेको बिउ किसानको घर घरमा पुग्न सक्ने संयन्त्र बनाउन नसकेर अहिले पनि २-४ सय बेर्ना उत्पादन गरेर दूर दराजदेखि किसानलाई राजधानी सहर बोलाएर बेच्नु नै ठूलो उपलब्धि मानेका छन्।

कसैले इनोभेसनलाई विकेन्द्रीकरण गर्ने भन्दै विभिन्न स्थानमा केन्द्रको नाममा सुरक्षा गार्डलाई सबै जिम्मा लगाउँदै भाडाको कोठामा समान थन्क्याएर सरकारबाट तक्मा थाप्दै हिँडेका छन्।

सरकारी संयन्त्र भने नवप्रवर्तनबाट आएको प्रोटोटाइपलाई पूर्ण रूपमा विकास गरी बजारसम्म पुर्याउने सुरुवाती व्यवसाय सुरु गर्न २०-२५ लाखको लागि आवेदन माग्दै बसेको छ। तर वास्तवमा इनोभेसन गर्ने दक्षहरू, सुरुवाती व्यवसाय सरकारको २०-२५ लाखको सहयोग बिना नै काम गर्न तम्सेकाहरू उचित वातावरण र नीतिको अभावमा विदेश पलायन हुँदैछन्।

भर्खर मात्रै ‘यात्री’ ब्रान्डको इलेक्ट्रिक मोटरसाइकल उत्पादन गर्ने भनेर तम्सेका उद्यमीहरू उक्त मोटरसाइकल बजारीकरणको लागि लाख याचना गर्दा पनि नीति अड्चनको कारण व्यवसाय अगाडि बढ्न नसक्ने अवस्था सिर्जना गरियो । यो भन्दा अगाडि टुटल वा पठाओको पनि हालत त्यही थियो । प्रहरीहरूले टुटल/पठाओका राइडरहरू देख्ने बित्तिकै व्यवधान गरेको समाचार हामीले पढ्यौं। अहिलेको ‘यात्री’ त मिडियामा आएका वा मिडियासम्म पहुँच भएका र सबैको नजर परेका प्रतिनिधि पात्र मात्रै हुन्।

योसहित अन्य विभिन्न घटनालाई हेर्दै निचोड निकाल्ने हो भने नेपालमा इनोभेसन सम्भव छ त भन्ने गंभीर प्रश्न अगाडि आएर तेर्सिन्छ। सम्भव त्यति खेर मात्रै हुन्छ जतिखेर जुनसुकै अड्चन भए पनि कार्यकारीको ठाडो आदेश कुर्नु पर्दैन- सबै सिस्टममा नवप्रवर्तकहरूलाई रातो कार्पेट बिछ्याउँछन् ।

तर हाम्रोमा त्यो सम्भव छैन किनकि यहाँ उद्योग, सुरुवाती व्यवसायमा नवप्रवर्तनले, अध्ययन अनुसन्धानले कुनै पनि स्थान पाउँदैन- आवेदन दिएर पैसा लैजाऊ भनेर नव प्रवर्तनलाई अनुसन्धानलाई अवमूल्यन गरिनुहुँदैन। उनीहरूलाई सहयोग गर्न, सहजीकरण गर्नको लागि राज्यको छुट्टै संयन्त्र हुनु पर्दछ ।

वास्तविक नवप्रवर्तन, विज्ञान प्रविधिमा आधारित सुरुवाती व्यवसायलाई दुरुत्साहित गरियो भने नवप्रवर्तनसँग सम्बन्धित क्रियाकलापहरू नहुने वा अत्यन्त कम हुनेहुन्छ । परिणामतः हामीले ज्ञानमा आधारित अर्थतन्त्रको परिकल्पना गर्न सक्दैनौं । हालसम्म भएको पनि यही हो । त्यसैले यो देशमा इनोभेसन सम्भव छैन भनेर वास्तविक इनोभेटरलाई दुरुत्साहित गर्ने काम नगरौं । राज्य चाँडै बिउझियोस् ।

(दक्षिण कोरियाको सउल नेशनल युनिभर्सिटीबाट प्रविधि व्यवस्थापन अर्थशास्त्र र नीति विषयमा विद्यावारिधि गरेका लेखक हाल आचार्य नीति अनुसन्धान प्रतिष्ठानका अनुसन्धानकर्ता हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?