+
+

१७२ कम्पनीको सेयर मूल्यमा गिरावट

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १३ गते १५:३२

१३ वैशाख, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १३.६८ अंकले गिरावट हुँदा १८९२ को विन्दुमा बन्द भएको छ ।

मंगलबार उचारचढावबीच अन्तिम समयमा दोहोरो अंकले बढेको नेप्से बुधबार नै पुनः ओरालो लागेको हो । बैंकहरुले निक्षेपको ब्याजदर घटाउँदै लगेको र तरलता सहज बन्दै गएको छ । तर, नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा तोकेको उच्च जोखिम भारले गर्दा पूँजीकोषको दबाब झेलिरहेका बैंकहरुले खुलेर सेयर धितोमा कर्जा लगानी गरेका छैनन् ।

अर्कोतर्फ आर्थिक गतिविधि कमजोर हुँदा नगद प्रवाहको समस्यामा रहेका व्यवसायीले पनि सेयर बजारमा लगानी बढाउन नसक्दा सेयर बजारमा सुस्तता देखिएको छ । बजारमा नयाँ लगानी नआउँदा लगानी होल्ड गरीरहेका लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । जसले गर्दा बजार परिसूचक नेप्से एक दिन बढ्दा अर्कोदिन घट्दै स्थिर अवस्थामा देखिएको छ । कारोबार रकमले पनि बजारमा लगानीकर्ताको सक्रियता कमजोर रहेको संकेत गर्छ ।

बुधबार सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि दोहोरो अंकले गिरावट भएको हो । विकास बैंक, होटल तथा पर्यटन र लगानी उपसूचकमा १ प्रतिशत भन्दा बढीको गिरावट भएको छ ।

पछिल्लो ९ कारोबार दिनमा नेप्सेमा कुनै पनि दिन १ अर्बको कारोबार पुग्न सकेको छ । बुधबार नेप्सेमा २५ लाख ७१ हजार २०२ कित्ता सूचीकृत धितोपत्र किनेबच हुँदा ८४ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ ।

जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ७ करोड २ लाखको कारोबार हुँदा तारागाउँ रिजेन्सी होटलको करिब ३ करोड ९१ लाख र एभरेष्ट बैंकको करिब ३ करोड १८ लाखको कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल २२० सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा ४० कम्पनीको मात्रै सेयरमूल्य बढेको छ । यस्तै १७२ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ८ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ । बुधबार कारोबार भएकोमध्ये जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्य सर्वाधिक ३.२५ प्रतिशतले वृद्धि हुँदा उपकार लघुवित्तको सेयरमूल्य २.२७ प्रतिशत र ग्रामिण विकास लघुवित्तको सेयरमूल्य २.१८ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै कुमारी इक्विटी फण्डको इकाइमूल्य २.५१ प्रतिशत र एनआईसी एशिया सेलेक्ट फण्ड ३० को इकाइमूल्य २.३० प्रतिशतले बढेको छ ।

सनराइज ब्लुचिप फण्डको इकाइमूल्य सर्वाधिक ९.१२ प्रतिशतले गिरावट भएको छ । सूचीकृत कम्पनीमा तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य ७.११ प्रतिशतले गिरावट हुँदा मानुषी लघुवित्तको सेयरमूल्य ५.४३ प्रतिशत र गुराँस लघुवित्तको सेयरमूल्य ५.१३ प्रतिशतले गिरावट भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?