+
+

उपत्यकाका दुई शहरबीच विवाद बढाउने मूर्ति स्थापनाको कथा

अमृत चिमरिया/नसना बज्राचार्य अमृत चिमरिया/नसना बज्राचार्य
२०८० वैशाख १३ गते २१:१९

१३ वैशाख, काठमाडौं । जात्रैजात्राको उपत्यका काठमाडौंमा हरेक पर्व र जात्रापिच्छे रोचक किंवदन्ती र कथाहरु छन् । यिनै कथाहरुमा आधारित दुई मूर्ति र प्रतिमूर्ति स्थापनाका कारण अहिले उपत्यकाका दुई शहरबीच किचलो सुरु भएको छ ।

कीर्तिपुर नगरपालिकाको उपमहेश्वर फेदी प्यागंःथामा सुखी गँछे: समाजले याकःमिसाको मुर्ति र रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति स्थापना गरेपछि उपत्यकाका दुई नगरबीच साँस्कृतिक किचलो हुने खतरा बढेको हो ।

प्यंगःथामा मच्छिन्द्रनाथको प्रतिमूर्ति र याकः मिसाको मूर्ति बनाएर प्रतिस्थापना गरेको विरोधमा ह्यगृब भैरबनाथ तथा ३२ पानेजु संघले लिखित असहमति जनाउँदै प्रसाद नै नलैजाने घोषणा गरेका हुन् । कीर्तिपुरका सुखी गःछें समाजले १५ मंसिर, २०७९ मा मूर्ति स्थापना गरेको थियो ।

मूर्ति स्थापना गर्न परम्परा विपरीत भएकोले ह्यगृब भैरबनाथ तथा ३२ पानेजु संघले विरोध गर्दै आएका छन् ।

विरोधको बाबजुद पनि सुखी गःछें समाजले मूर्ति नहटाएपछि प्रसाद नलैजाने घोषणा गरेको पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्यले बताए ।

मूर्ति स्थापनाको विवादले सयौ वर्ष पुरानो प्रसाद पु¥याउने परम्परामा ‘ब्रेक’ लाग्ने खतरा देखिएको भन्दै संस्कृतिप्रेमीहरु अहिले चिन्तित छन् ।

सांस्कृतिक रुपमा मात्रै नभई उपत्यकाकै दुई नगरहरु बीच असामञ्जस्य पैदा हुन लागेकामा कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी चिन्तित छन् । ‘जति प्रयास गर्दा पनि कुरो मिलेको छैन, दुई सांस्कृतिक नगरीबीच फाटो ल्याउने काम नहोस्’, उनी भन्छन् ।

सुखी गँःछे समाजलाई मूर्ति हटाउन औपचारिक आग्रह गरे पनि नमानेको उनले बताए ।

गँःछे समाजलाई कीर्तिपुर नगरपालिकाले मूर्ति हटाउन निर्देशन दिएपनि समाजले पानेजु संघकै सल्लाहमा याकःमिसा र मच्छिन्द्रनाथको प्रतिमूर्ति बनाएकाले नहटाउने अडान राख्दै आएको मेयर नकर्मीले बताए ।

मूर्ति स्थापना गर्ने कीर्तिपुरको सुखी गँःछे प्रसाद ल्याउने परम्पराको निरन्तरताको लागि हदैसम्म लचकता अपनाउने तयारी गरेको छ । पानेजु संघले प्रसाद नलैजाने घोषणा गरेपछि परम्परा कुनै पनि हालतमा नरोक्न आफूहरुले प्रयास गरिरहेका गँःछेका महासचिव नारायण महर्जनले अनलाइनखबरसँग भने ।

‘हामी सयौं वर्षदेखि चलेको परम्परा, संस्कृति रोक्ने पक्षमा छैनौं, त्यसको लागि पानेजु संघले हामीसँग वार्ता गरोस्, प्रसाद ल्याउन के गर्न सकिन्छ त्यसपछि निचोड आउला’, महर्जन भन्छन्, ‘याकः मिसा र रातो मच्छिन्द्रनाथको मूर्ति हटाउने, वा अन्य केही विकल्पबारे हामी सोच्छौं तर त्यसको लागि वार्ता हुनुपर्छ, धम्कीको भाषा प्रयोग गर्ने होइन ।’

महर्जनका अनुसार प्यागंःथामा मूर्ति स्थापना गर्दा पुरातत्व विभाग, नगरपालिका र पानेजु संघसँग पनि छलफल गरिएको थियो । ‘मूर्ति राख्ने बेला तामाझाम गर्दा कसैले विरोध गरेन, अहिले आएर विरोध हुँदैछ । अब त्यत्रो बाजागाजा, जात्रा जसरी स्थापना भएको मूर्ति तुरुन्तै निकाल भन्दा हाम्रो चैं इज्जत के हुन्छ ? कीर्तिपुरबासीको पनि कदर हुुनपरेन ?’ महर्जनले भने ।

उनले मच्छिन्द्र नाथको जात्रा, सम्पदाको संरक्षण र प्रसाद प्रचलनको लागि सुखी गँछेः समाज लचक हुन तयार भएको भन्दै नगरपालिकाहरुले उक्त वातावरण मिलाउनुपर्ने बताए ।

पानेजु संघले कीर्तिपुरमा निर्माण भएको प्रतिमूर्ति कतैपनि राख्न नहुने बताउँदै आएको छ । ३२ पानेजु संघको अध्यक्ष यज्ञरत्न शाक्य भन्छन्, ‘मच्छिन्द्रनाथ मूर्ति ललितपुरमाबाहेक अन्य स्थानमा स्थापना हुनै सक्दैन, मच्छिन्द्रनाथको मूर्ति दुईवटा बनाउनै मिल्दैन भने याकःमिसाको मूर्ति नै हुदैन, यो माग सम्बोधन नभएसम्म हामी कीर्तिपुरमा प्रसाद नै लैजाँदैनौं ।’

मूर्ति स्थापना गरेलगत्तै ह्यगृव भैरवनाथ तथा ३२ पानेजु संघले १९ मंसिरमा असहमति जनाउँदै विज्ञप्ति निकालेको थियो । संघले २१ मंसिरमा गुठी संस्थानको कार्यालयमा ध्यानाकर्षण पत्र दिएको थियो । विरोधका बेवास्ता गरेको भन्दै ३ पुसमा अर्को विज्ञप्ति निकाल्दै संघले मच्छिन्द्रनाथको प्रतिमूर्ति र याकःमिसाको मूर्ति नहटेसम्म प्रसाद ग्रहण नगर्ने घोषणा गरेको थियो । त्यसपछि संघले विरोधलाई निरन्तरता दिइरहेको छ ।

सोमबार पनि पानेजु संघले मूर्ति नहटेकोले प्रसाद लैजान नसक्ने भन्दै विज्ञप्ति जारी गरेको छ । प्यांगःथामास्थित पौराणिक शिलाको उत्तरपट्टीको भित्तामा दक्षिण फर्काएर प्रतिस्थापना गरिएको मच्छिन्द्रनाथ करुणामयको प्रतिमूर्ति र याकःमिसाको मूर्ति उक्त स्थानबाट नहटाएसम्म प्रसाद ग्रहण गराउने कार्य हुँदैन’, शाक्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पानेजु संघको लिखित सहमति विना नै हजारौं वर्षदेखि कुनै मूर्ति नभएको मात्र मच्छिन्द्रनाथको प्रतिनिधिपात्र जलपानेजुले प्रत्येक वर्ष थतिटोलदेखि नाङ्गो खुट्टाले हिंडेर याकःमिसालाई प्रसाद ग्रहण गराउनुपर्ने जीवित परम्पराको विरुद्ध मूर्ति स्थापना भएपछि प्रसाद नलैजाने संघका अध्यक्ष यज्ञरत्न शाक्यले बताए ।

करिब १६०० वर्ष अघिदेखि कुनै मूर्ति नभएको ऐतिहासिक तथा धार्मिक स्थलमा करुणामय, मच्छिन्द्रनाथको प्रतिमूर्ति र शक्ति स्वरुपा कन्या याकःमिसाको मूर्ति स्थापनाले जनतामा भ्रम सिर्जना भएको शाक्यले बताए ।

मच्छिन्द्रनाथको जात्रा अगाडि मंगलबजारको सोह्रखुट्टे पाटीमा बसी साइत हेरेपछि निस्केको उपयुक्त साइतको ४ दिन अगाडि करुणामयको प्रतिनिधिस्वरुप जल पानेजुले नाङ्गो खुट्टाले हिँडेर कीर्तिपुरमा रहेको याकःमिसालाई प्रसाद ग्रहण गराउनुपर्ने जीवित परम्परा छ । रातो मच्छिन्द्रनाथको प्रत्येक वर्ष पाटनमा गरिने जात्रा र १२ बर्षको १ पटक बुंगमतीबाट पाटनमा लामो रथ यात्रा हुने गरेको छ ।

रथयात्रासँग जोडिएकी याकः मिसा

भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका तान्त्रिक आचार्य बन्धुदत्त, ललितपुरका किसान रथचक्र ज्यापू र टौदहका कर्कोटक नागराजले भारतको आसामस्थित कामरू कामाख्या पीठबाट मच्छिन्द्रनाथलाई ल्याएर रथयात्रा चलाए । काठमाडौं उपत्यकामा वर्षा सुरू भयो ।

खेतमा धानका पोटिला बाला लहलहाउन थाले । बाह्र वर्षदेखिको अघोर अनिकाल सकियो, सहकालको नयाँ युग सुरू भयो । रातो मच्छिन्द्रनाथलाई आसामबाट लिएर आएपछि काठमाडौं, भक्तपुर, कीर्तिपुर र ललितपुरले आ–आफ्नो नाममा रथयात्रा चलाए ।

लगनखेलदेखि जाउलाखेलसम्मको यात्रालाई कीर्तिपुरको रथयात्रा भनिन्छ, जुन कीर्तिपुरकी याकःमिसाको नाममा समर्पित छ । त्यति बेला एक जनाको नाममा भने जात्रा चलाइएको थिएन । उनी थिए टौदहका कर्कोटक नागराज, जो मच्छिन्द्रनाथ लिन सँगसँगै आसाम गएका थिए । जसले बाटोमा ठाउँ–ठाउँ बाढी आउँदा पुल बनेर बाँकीलाई नदी तारेका थिए ।

उनीबिना मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यका ल्याउन असम्भव जस्तै थियो । यही बुझेर नै आचार्य बन्धुदत्तले उनलाई टोलीमा सामेल गराएका थिए ।

यति हुँदाहुँदै बाँकी तीन जनाको नाममा जात्रा चलाउने तर आफ्नो भागमा केही नपरेको देखेर कर्कोटक नागराज रूष्ट थिए । उनले त जसोतसो आफूलाई सम्हाले तर नागरानीले आफ्नो क्रोध दबाएर राख्न सकिनन् । उनी जात्रा चलिरहेकै बेला मान्छेको रूप धारण गरेर मच्छिन्द्रनाथलाई लिन लगनखेलको थति टोल पुगिन् ।

रथबाट नरिवल खसालेको भोलिपल्ट नागरानीले आफ्नो शक्तिको बलमा मच्छिन्द्रनाथको रथ तानेर टौदह लैजान खोजिन् । नागरानीको बललाई चुनौती दिने ताकत त्यहाँ कसैसँग थिएन । त्यसपछि आचार्य बन्धुदत्तले आफ्नो तान्त्रिक शक्तिको बलमा रथलाई गुड्नबाट रोके । नागरानीले जति तान्दा पनि बन्धुदत्तको तन्त्रमा बाँधिएको रथका पांग्रा डेग चलेनन् ।

केही सीप नलागेपछि नागरानी बन्धुदत्तको आँखा छलेर मच्छिन्द्रनाथका बत्तीस लक्षणमध्ये एउटा लक्षण लिएर कुलेलम ठोकिन् ।

नागरानी त्यहाँबाट सिधै टौदह गएर अलप हुन चाहन्थिन् । त्यसो भइदिएको भए उनलाई खोजेर मच्छिन्द्रनाथको एउटा लक्षण फिर्ता ल्याउन असम्भव हुन्थ्यो । त्यही भएर आचार्य बन्धुदत्तले फेरि तन्त्र गरेर नागरानीलाई टौदह होइन, कीर्तिपुरको डाँडो चढाइदिए ।

नागरानी हस्याङफस्याङ गर्दै कीर्तिपुरको प्यंगःथामा पुगिन् । आचार्य बन्धुदत्त पनि पछिपछि गए । उनले नागरानीसँग अनुनय गरे । ‘हे नागरानी, एउटा लक्षण भएन भने पनि मच्छिन्द्रनाथको प्रताप पूरा हुँदैन । त्यसैले तपाईं यो फिर्ता गर्दिनू,’ उनले भने । नागरानी मान्दै मानिनन् ।

बन्धुदत्तले भने, ‘हे नागरानी, तपाईं त्यो लक्षण फिर्ता गर्न तयार हुनुभयो भने म बाचा गर्छु, हरेक वर्ष लगनखेलबाट जावलाखेलसम्मको यात्रा कीर्तिपुरको नाममा हुनेछ ।’ उनले अर्को बाचा पनि गरे, ‘हरेक वर्ष आजकै दिन मच्छिन्द्रनाथको फूल र प्रसाद लिएर म यहाँ प्यंगःथाँमा आउँछु र कुनै कुमारी कन्यालाई प्रसाद चढाउँछु ।’

यति दुई वटा बाचा गरेपछि बल्ल नागरानी मच्छिन्द्रनाथको एउटा लक्षण फिर्ता गर्न राजी भइन् । आज पनि लगनखेलको थति टोलदेखि जावलाखेलसम्मको रथयात्रालाई कीर्तिपुरको जात्राका रूपमा लिइन्छ । यो बेला कीर्तिपुर, पांगा, नगाउँ, सतुंगल, बलम्बु, मच्छेगाउँ र थानकोट गरी सात गाउँका मानिस धीमे बाजा बजाउँदै रथ तान्न आउने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?