+
+

विद्यार्थीको पठनपाठनलाई असर गर्ने कुनैपनि गतिविधि हुन दिन्नौं : काठमाडौं महानगर

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १५ गते १९:३२

१५ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गत रहेको शिक्षा विभागले महानगरपालिकाभित्र सञ्चालित विद्यालयमा राजनीतिक गतिविधि नगर्न बुधबार निर्देशन दिएको छ ।

विभागको निर्देशनको विरोध गर्दै नेकपा बहुमतका विद्यार्थी संगठनले विहिबार महानगरपालिकाको शिक्षा विभागमा ताला लगायो । त्यसलगत्तै महानगरले विद्यालय शान्ति क्षेत्र भएको र त्यहाँ त्यस्तो कुनै पनि गतिविधि हुन नदिने भन्दै ताला फुटाएर विभाग खुलाएको छ ।

विभागले केही विद्यालयमा प्रचलित शिक्षा ऐन तथा नियमावली विपरीत राजनैतिक दल र त्यसका भातृ संगठनका कार्यक्रमहरु सञ्चालन गरेको सप्रमाण उजुरी प्राप्त भएको भन्दै अब उप्रान्त कुनै पनि राजनैतिक दल र यसका भातृ संस्थाहरुका कार्यक्रम विद्यालयभित्र गर्न नदिन निर्देशन दिएको हो ।

राष्ट्रिय शिक्षा ऐनले ‘विद्यालयमा स्वतन्त्र र भयरहित रुपमा अध्ययन, अध्यापन गर्ने वातावरण सृजना गर्न तथा विद्यालयभित्र कुनै पनि किसिमको अवाञ्छित क्रियाकलाप हुन नदिने गरी विद्यालयलाई सुरक्षित क्षेत्र कायम कायम गर्नुपर्नेछ ।’ भनेको छ ।

महानगरपालिकाले प्रचलित शिक्षा ऐन तथा नियमावली विपरीत राजनैतिक दल र त्यसका भातृ संगठनले सांगठनिक गतिविधि गर्ने गरेको र त्यसले पठनपाठनमा समेत असर गरिरहेको, विद्यालयको वातावरण बिगार्न खोजिरहेको उजुरी परेकोले निर्देशन दिएको शिक्षा विभागका प्रमुख सिताराम कोइरालाले बताए ।

उनले भने, ‘कुनै पनि बहानामा विद्यालयको पठनपाठन विग्रनु हुँदैन, विद्यालयको वातावरण शान्तिपूर्ण हुनुपर्छ । विद्यार्थीको पठनपाठनलाई असर गर्ने कुनै पनि गतिविधि हुन दिँदैनौं । यदि त्यस्तो भए कारवाही गर्ने निर्देशन मेयर ज्यूले दिनुभएको छ र त्यो कार्यान्वयन हुन्छ।’

उनले अनुगमनको क्रममा कुनै दलको भातृ संगठनले राजनैतिक र सांगठनिक कार्यक्रम गरेको भेटिए वा प्रमाण पुगेमा प्रधानाध्यापकलाई विभागीय कारवाही गर्ने समेत चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?