+
+

५ हजारलाई स्वरोजगार बनाउन सिप सिकाउँदै महानगर   

अमृत चिमरिया अमृत चिमरिया
२०८१ वैशाख १२ गते १९:५९

१२ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले १५ हजार जनालाई रोजगारी दिने गरी घोषणा गरेको ‘रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि’ कार्यक्रम कार्यान्वयन गर्ने भएको छ ।

महानगरले चालु आर्थिक वर्ष २०८०/८१ मा ल्याएको १० वटा गौरवका योजनामध्ये एक यो कार्यक्रम सुरुवात १९ वैशाख श्रमिक दिवसका दिन सिप मेला गरेर सुरु गर्न लागेको हो ।

सोही दिन महानगरले ३२ वटै वडालाई पत्राचार गर्दै बढीभन्दा बढी युवा सहभागी गराउन भनेको छ ।

महानगरले १९ वैशाखमा राजधानीको टुँडिखेलमा आयोजना गर्ने एक महिने ‘सिप मेला’ (छोटो अवधिको व्यावसायिक सिप प्रशिक्षण) का लागि नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ (एफपीटीईएन) सँग सहकार्य गर्ने छ ।

सिप मेलाबाट १० क्षेत्रका ३६ पेसासम्बन्धी २ हजार ८१ जनालाई तालिम दिने लक्ष्य महानगरले राखेको छ । रोजगार संयोजक देवेन्द्र केसीका अनुसार महानगरले ३ हजारभन्दा धेरैलाई तालिम दिइसकेको छ ।

‘अहिले पनि विभिन्न विधामा तालिम भइरहेको छ । ३ हजार जतिले तालिम लिइसकेका छन्,’ केसीले अनलाइनखबरसँग भने, ‘४ हजार जनाको तालिम जारी छ ।’ मेला भने नमुनाका रूपमा हुने उनले बताए ।

‘२ हजार ८१ जनालाई मे १ देखि ३० सम्म हुने मेला चाहिँ छोटो अवधिको व्यावसायिक सिप प्रशिक्षण हो । टुँडिखेलमै तालिम दिने, यहीँ रोजगारदाता बोलाउने र तालिम प्राप्त जनशक्तिलाई रोजगारीका लागि पहल गर्ने मेलाको उद्देश्य हो,’ केसीले भने ।

उनले डिजिटल मार्केटिङ, सफ्टवेयर डेभलपमेन्ट, ब्युटिसियन, एकाउन्टिङ लगायत तालिम भइरहेका बताए । ‘प्रत्येक वर्ष १५ हजार जनालाई रोजगारमूलक तालिम दिएर ५ हजारलाई प्रत्यक्ष रोजगार तथा स्वरोजगार बनाउने लक्ष्यसहित कार्यक्रम कार्यान्वयनमा आएको हो,’ उनले भने, ‘त्यहीअन्तर्गत एउटा कार्यक्रम मेला हो । अन्य स्थानको तालिम नियमित नै भइरहेको हुन्छ ।’

कुन–कुन क्षेत्रका कसले पाउँछन् तालिम ?

तालिमका लागि १० क्षेत्र निर्धारण गरिएका छन् । रोजगार संयोजक केसीका अनुसार यी क्षेत्रभित्र ३६ प्रकारका पेसागत तालिम हुँदैछ । मागका आधारमा थप क्षेत्र र पेसा थप गर्ने महानगरपालिकाको योजना छ ।

तालिमका क्षेत्रमध्ये हलुका सवारीसाधन अन्तर्गत अटो इलेक्ट्रिक, अटो डेन्टपेन्ट, अटो एयरकन्डिसन प्रशिक्षण राखिएका छन् । विद्युतीय सवारीसाधनमा मोटरबाइक र स्कुटर मर्मत, इलेक्ट्रिकल कार मर्मत तालिम हुनेछन् ।

यस्तै निर्माण क्षेत्रमा सिकर्मी, टाइल एन्ड मार्बल फिटर र इलेक्ट्रिसियन तालिम हुनेछन् । यस्तै प्लम्बिङमा वाटर प्युरिफिकेसन टेक्निसियन, सोलार फिटिङ टेक्निसियन, बोरिङ वाटर टेक्निसियन, एल्मुनियम फेब्रिकेटर, वेल्डिङ तालिम समावेश छन् ।

हस्पिटालिटी एन्ड म्यानेजमेन्ट विधा तेस्रो हो । यसमा बारिस्टा, चाइनिज, इन्डियन र कन्टिनेन्टल फुड, बेकरी र बार टेन्डरको प्रशिक्षण हुनेछ । सूचना प्रविधि चौथो क्षेत्र हो । यसमा डिजिटल मार्केटिङ, ग्राफिक्स डिजाइनिङ, कम्प्युटर हार्डवेयर एन्ड नेटवर्किङ, सीसीटिभी क्यामरा जडान तथा मर्मत, मोबाइल रिपेयरिङ तालिम हुनेछ ।

त्यस्तै मेकानिकलमा रेफ्रिजिरेटर र एसी टेक्निसियन तालिम हुनेछ । आर्ट एन्ड कल्चर पाँचौं र आर्ट एन्ड स्कल्प्चर प्रशिक्षण छैटौं क्षेत्र हो । सातौं क्षेत्र टेलरिङ हो । यसमा गार्मेन्ट फेब्रिकेटर र फेसन डिजाइनिङ कक्षा हुनेछ ।

आठौं क्षेत्र ब्युटिसियन हो । यसमा नेल, मेक अप, आइलेस, हेयर कट एन्ड स्टाइल, माइक्रो ब्लेन्डिन्डङ प्रशिक्षण हुनेछ । नवौं क्षेत्र इन्टेरियर डिजाइनिङ हो । यसमा प्लटिङ एन्ड लेजर कटिङ, साइन मेकिङ, स्क्रिन प्रिन्टिङ प्रशिक्षण हुनेछ ।

१०औं विधा ग्रिन सोलुसन हो । यसमा रिसाइकल फ्लेक्स इन्टु स्कुल ब्याग तालिम, क्यान्भास ब्याग्स, पाउच मेकिङ, प्लास्टिक रिसाइक्लिङ लगायत तालिम हुनेछन् ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?