+
+

टुँडिखेलमा हुने ‘सिप मेला’ तयारी पूरा (तस्वीरहरू)

काठमाडौं महानगरपालिकाले बुधबारदेखि टुँडिखेलमा गर्ने ‘सिप मेला’ को तयारी पूरा गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १८ गते २०:२२

१८ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबारदेखि टुँडिखेलमा गर्ने ‘सिप मेला’ को तयारी पूरा गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरेर मेलाको तयारी पूरा भएको महानगरले जनाएको हो ।

‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउने उद्देश्य रहेको महानगरले जनाएको छ ।

‘रोजगारमा भएका तर सिप नभएकाको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य लक्ष्य हो,’ पत्रकार सम्मेलनमा उपप्रमुख सुनिता डंगोलले भनिन् ।

डंगोलका अनुसार एक महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेसासँग सम्बन्धित निःशुल्क तालिम उपलब्ध गराउने लक्ष्य छ ।

यसरी तालिम पाएका सबै व्यक्तिलाई रोजगार, स्वरोजगार वा ओजेटी (अन द जब ट्रेनिङ) सुनिश्चित गरिएको समेत पत्रकार सम्मेलनमा बताइयो ।

रोजगारदाता, शैक्षिक क्षेत्र, सामाजिक क्षेत्र सबै एकै ठाउँ भएर सञ्चालन हुने तालिम, नतिजाका लागि उत्कृष्ट सहकार्यको नमुना कार्यक्रम रहेको महानगरको दाबी छ ।

महानगर गौरव योजनाअन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रममा ३४ भन्दा धेरै पेसाका सिपमूलक तालिम छन् । ‘साइबर सेक्युरिटी’ मा ४ हजार जनालाई तालिम प्रदान गरिँदै छ ।

नजानेकालाई सिप सिकाउने, सिपको आधारभूत तालिम लिएकालाई स्तरोन्नति गराएपछि बजारमा सिपयुक्त जनशक्ति उपलब्ध हुनेछन् । यी सबै कार्यक्रमबाट उत्पादन भएका जनशक्तिलाई ‘सिप मेला’ मा रोजगारदातासँग सम्पर्क गराउनु मेला आयोजनाको उद्देश्य रहेको महानगरले जनाएको छ ।

सिप मेलामा तालिमका लागि १० क्षेत्र निर्धारण गरिएका छन् । क्षेत्रभित्र २९ प्रकारका पेसागत तालिम हुनेछन् । मागका आधारमा थप क्षेत्र र पेसा थप गर्ने योजना बनाएको महानगरले जनाएको छ ।    तस्वीर सौजन्य : काठमाडौं महानगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?