+
+

सडक सजावट बत्तीले पार्ने वातावरणीय असरबारे अध्ययन हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २५ गते १५:२२

२५ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरका विभिन्न स्थानमा सजावटका लागि जडान गरिएको बत्तीको असरबारे अध्ययन गर्ने भएको छ ।

सहरमा भएका रुख, चोकका पोल, पुलका पिल्लरहरूमा महानगरले सजावटका लागि बत्तीहरू जडान गरेपछि वातवारण प्रेमीहरूले यस कार्यको विरोध जनाउँदै आएका छन् ।

केही अभियन्ताहरूले रुखमा लगाएको झिलिमिली बत्तीले रातिको समयमा प्रकाश प्रदूषण भएको भन्दै तार काटिदिएका थिए । यस्तै चराचुरुङ्‍गी, साना किरालाई बत्तीको कारण समस्या परेको भन्दै विरोध हुँदै आएको थियो ।

मंगलबार बसेको काठमाडौं महानगरपालिकाको अनुगमन समितिको बैठकमा सोही विषय उठेपछि सजावटका लागि जडान गरिएका बत्तीहरूको वातावरणीय, जनस्वास्थ्य, सहरी व्यवस्थापनलगायत कोणबाट अध्ययन गर्ने निर्णय भएको हो ।

उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको अनुगमन समितिले सजावट बत्तीले पैदल, सवारी यात्रामा कस्तो प्रभाव पार्छ ? रातको समयमा बास बस्ने तथा उड्ने चराचुरुङ्गी र अन्य जीव जनावरलाई कस्तो असर पार्छ ? भन्ने विषयमा अध्ययन गर्ने निर्णय भएको हो ।

यस्तै रुख, बिजुलीको पोलमा बेरेर राखिने बत्तीका तारले रुखलाई असर पार्छ कि पार्दैन, पार्छ भने कस्तो असर पार्ला ? भन्ने विषयमा छलफल गर्दै सामाजिक तथा व्यावसायिक जीवन, पर्यावरण र जैविक विविधता, स्वास्थ्य र सहजता जस्ता पक्षबाट अध्ययन गर्ने निर्णय भएको उपप्रमुख डंगोलले जानकारी दिइन् ।

‘सजावटका बत्ती राख्दा सकारात्मक र नकारात्मक प्रभाव के हुन् भन्ने तथ्य थाहा हुनु जरुरी छ । यसका लागि छिट्टै प्रतिवेदन आउने गरी अध्ययन गराउन भनिएको हो,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?