+
+

टुँडिखेलको सीप मेला, तालिमसँगै जागिरको अवसर

काठमाडौं महानगरले मेलामा सीप सिकाउने मात्रै होइन, सिपालुहरुलाई जागिर दिने पनि गरिरहेको छ । कर्मचारी आवश्यकता रहेका विभिन्न संघसंस्था र व्यवसायीसँग समन्वय गरेर रोजगारी मिलाइदिएको छ । 

विकास रोकामगर विकास रोकामगर
२०८१ वैशाख २४ गते १९:३३

२४ वैशाख, काठमाडौं । लामो समयदेखि क्याटरिङमा काम गरेर जीविका चलाउँदै आएका क्षेत्रपाटीका बालकृष्ण मानन्धर सोमबार टुँडिखेलमा भेटिए । ६० वर्ष लागिसकेका मानन्धरले काठमाडौं महानगरपालिकाले आयोजना गरेको सीप मेलामा ‘कुक’ तालिम लिन फारम भरेका छन् ।

‘यत्रो वर्ष क्याटरिङमा काम गरियो । खाना पकाउन पनि अलिअलि जान्छु, अब यहाँ आएर कुक तालिम लिन पाइयो भने काम पनि राम्रो पाइएला’, आफूले भरेको फारम देखाउँदै मानन्धरले भने, ‘मेरा दुई जना छोरा पनि आउँदैछन्, उनीहरुको पनि भरिदिने हो ।’

महानगरले २०८१ जनालाई सीप र ५ हजार जनालाई रोजगारी दिने लक्ष्य राखेर १९ वैशाखदेखि टुँडिखेलमा सीप मेला आयोजना गरेको छ । मेलाको छैठौं दिन सोमबार पनि आफ्नो रुचिअनुसारको सीप सिक्न आवेदन दिनेकोे कमी थिएन ।

चर्को घाममा भर्खरै माध्यमिक तहको पढाइ सकेकादेखि ६० वर्ष पुगिसकेकाहरु पनि आफ्नो पालो पर्खेर बसेका थिए । त्यही पंक्तिमा थिइन्, बसुन्धराकी अस्मिता योञ्जन ।

सिलाइ कटाइसम्बन्धी तालिम लिने सोचाइसहित योञ्जन टुँडिखेलमा आएकी हुन् । ११ बजेतिर टुँडिखेल आएकी उनी करिब २ घण्टा लाइनमा उभिँदा पनि पालो आएको थिएन ।

महानगरका कर्मचारीले फारम सकिएको भन्दै केही समय पर्खिन आग्रह गर्दै थिए । ‘फेसबुक चलाउँदै गर्दा बालेन दाइको पोस्ट हेरेर आएको हुँ’ योञ्जनले भनिन्, ‘सिलाइ कटाइसम्बन्धी बेसिक ज्ञानचाहिँ छ । अलि एडभान्स लेबलको सिक्न पाएँ भने आत्मविश्वास पनि बढ्थ्यो । आफैंले व्यवसाय चलाउन पनि हुन्थ्यो ।’

टोखाबाट टुँडिखेल सीप मेलामा आएकी सजिना महर्जन पनि सौन्दर्यसम्बन्धी तालिम लिएर आत्मनिर्भर बन्न चाहन्छिन् । ‘अहिले नै विदेश जाने सोच छैन, तर देशमा बस्नै सकिएन र विदेश जानु परे हातमा कम्तीमा एउटा सीप त हुन्छ नि !’ उनले सुनाइन् ।

तालिम लिन चाहनेमा देशैभरिकै मानिस

प्यूठानकी जुना घर्तीले ३ वर्षदेखि कपिलवस्तुमा ‘जुना ब्युटिपार्लर’ चलाउँदै आएकी छन् । पछिल्लो समय उनको पार्लरमा साधारण मेकअपमात्रै होइन, नङमा विभिन्न थरि कला भर्न खोज्नेहरु आउन थालेका छन् । जुनाले बुझिसकेकी छन्, अब व्यवसाय अझै राम्रोसँग चलाउने हो भने नेल आर्ट पनि सिक्नैपर्छ ।

कपिलवस्तुमा त्यो तालिम लिन सम्भव छैन । समय मिलाएर उनी नेल आर्ट सिक्न काठमाडौं आएकी छिन् । काठमाडौंकै एउटा तालिम दिने संस्थामा १ हजार रुपैयाँ दिएर फारम पनि बुझाइसकेकी छिन् । । एडभान्स तहको तालिम भएकाले करिव १ लाख रुपैयाँसम्म खर्च लाग्न सक्ने उनको अनुमान छ ।

‘त्यहीबेला काठमाडौंले फ्रीमा मैले खोजेकै तालिम दिन लागेको थाहा पाएँ’, जुनाले खुसी बाँडिन्, ‘यता (महानगर) अनलाइन फर्म भरेको, सेलेक्ट पनि भइहालें ।’

जुनासँगै बर्दियाकी आरती घिमिरे पनि नेल आर्टकै तालिम लिन आएकी थिइन् । काठमाडौंका मेयर बालेन शाहले राखेको सीप मेलासम्बन्धी पोस्ट हेरेर आफन्तले तालिममा भाग लिन सुझाएका थिए । ‘मेकअपसम्बन्धी रुचि पनि थियो । त्यसमा नेल आर्टको तालिम पनि देखेर यसैमा आ’को’, उनले भनिन् ।

सुनसरीकी शान्ति कटवाल र बबिता लिम्बु बारिस्टा तालिम लिने चाहनासहित सोमबार टुँडिखेल पुगेका थिए । तर फारम सकिएकाले आवेदन दिनै पाएनन् । अब भोलि आउने उनीहरुले बताए ।

सीप मेला अर्थात् आशाको ज्योति

सीप मेलामा आएका युवायुवती औपचारिक पढाइ सकिँदा पनि रोजगारी नपाएको गुनासो गरिरहेका थिए । तर महानगरले आफैं रोजगारी दिने र सीप पनि सिकाउने उद्देश्यसहित मेला आयोजना गरेपछि धेरै जना आशावादी देखिन्थे ।

‘अहिलेसम्म त बेरोजगार छु । यहाँ मोबाइल बनाउने तालिम लिन आएको हुँ । कम्प्युटर बनाउने तालिम पनि लिन पाए कस्तो राम्रो हुन्थ्यो’, मेलामै भेटिएका अनिल सिंहले भने, ‘हातमा सीप भए यतै जागिर पाइएला, विदेशै गए पनि दुःख नपाइएला नि !’

रेफ्रिजेरेटर बनाउने तालिम लिइरहेका स्वयम्भूका स्वागत काफ्ले पनि सीप मेलाबाट उत्साहित देखिन्थे । आफू टेक्निकल लाइनमै रुचि भएको र निःशुल्क सिक्न पाउँदा आफू आशावादी भएको उनले सुनाए । ‘तालिम दिँदैछ भन्ने साथीहरुबाट सुनें । सीप सिक्ने आफ्नै लागि त हो नि ! राम्रै भइराखेको छ’, उनले भने ।

धनगढीकी सुस्मिता सिंह पनि काठमाडौंमा निःशुल्क सिलाइकटाइ तालिम लिन पाउँदा दंग थिइन् । ‘घरमा सिलाइकटाइ थियो । मेसिन चलाउन त अलिअलि आउँछ’, उनले भनिन्, ‘यहाँबाट सिकेर गएपछि त आफ्नै खोल्न झन् सजिलो हुने भयो ।’

मेलामा तालिमसँगै जागिर पनि

काठमाडौं महानगरले मेलामा सीप सिकाउने मात्रै होइन, सिपालुहरुलाई जागिर दिने पनि गरिरहेको छ । कर्मचारी आवश्यकता रहेका विभिन्न संघसंस्था र व्यवसायीसँग समन्वय गरेर रोजगारी मिलाइदिएको छ ।

सीप मेलाको मुख्य तालिम केन्द्र प्रवेश गर्ने गेटमा एकातिर तालिमका लागि फारम बुझाउने र अर्काेतिर रोजगारका लागि नाम टिपाउने डेस्क छुट्याइएको थियो । महानगरले स्थापना गरेको श्रम डेस्कले सम्भावित रोजगारदाता र रोजगारी गर्न चाहनेहरुको नाम टिपोट गर्दै आएको छ ।

मेलाबाटै करिब ५ हजारलाई रोजगारी दिने लक्ष्य राखिएको महानगरले स्थापना गरेको श्रम बैंककी कर्मचारी लक्ष्मी कुइँकेलले जानकारी दिइन् । ‘५/६ सयलाई त जागिर नै मिलाइदिइसक्यौं’, कुइँकेलले भनिन्, ‘३ हजारभन्दा बढीले फर्म भर्नुभएको छ । हामी पनि रोजगारदातासँग भेट गराइरहेका छौं ।’

श्रम बैंकबाट रोजगारी पाएकामध्ये ५० जनाभन्दा बढी शारीरिक रुपमा अपांग भएकाहरु रहेको कुइँकेलले जानकारी दिइन् । उनका अनुसार सबैभन्दा बढी सरसफाइसम्बन्धी काम, इलेक्ट्रिसियन, ड्राइभिङमा माग हुँदै आएको छ ।

श्रम बैंककै अर्की कर्मचारी मनिषा चौधरीले रोजगारी दिलाउँदा भने काठमाडौं महानगरवासीलाई पहिलो प्राथमिकता दिइएको सुनाइन् ।

‘अरु नगरपालिका, जिल्लालाई महत्व नदिने होइन । तर काठमाडौंमै भएकालाई प्राथमिकतामा राखेका छौं । काठमाडौंबाट सम्बन्धित जनशक्ति नपाएपछि बल्ल अरु नगरपालिका र ठाउँबाट मान्छे खोज्छौं’, उनले भनिन् ।

१३ हजार जनाभन्दा बढीको आवेदन

महानगरपालिकाले सीप मेलामा विभिन्न १० क्षेत्रमा विभाजन गरेर २९ प्रकारका पेशागत तालिम सञ्चालन गरिरहेको छ । मेलामा अटोमोबाइल्स, निर्माण, हस्पिटालिटी, सूचना प्रविधि, मेकानिकल, गार्मेन्टस्, ब्युटिसियन, डिजाइनदेखि पुरोहितलगायत क्षेत्र निर्धारण गरेको छ ।

जम्मा २०८१ जनालाई तालिम दिने लक्ष्य राखिएको मेलामा अहिलेसम्म १३ हजारजना भन्दा बढीले आवेदन दिइसकेको काठमाडौं महानगरपालिका सामाजिक विकास शाखाका तालिम संयोजक देवेन्द्र केसीले जानकारी दिए । आएका सबै आवेदनबाट छनोट गरेरमात्रै तालिम दिइने महानगरले जनाएको छ ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?