+
+

मौलाकाली केवलकार औपचारिक रुपमा सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १८ गते १४:४७

१८ वैशाख, काठमाडौं । मौलाकाली केवलकार औपचारिक रुपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार गैडाकोट-१ मा रहेको मौलाकाली केवलकार बटम स्टेशनमा ताम्रपत्र अनावरण गर्दै केवलकार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले शिथिल अर्थतन्त्रलाई उकास्न मौलाकाली जस्ता पर्यटकीय पूर्वाधारको महत्व रहने उल्लेख गर्दै सरकार, निजी क्षेत्रलाई सहजीकरण गर्न प्रतिबद्ध रहेको बताए ।

प्रधानमन्त्री दाहालले आर्थिक वृद्धि र रोजगारी सृजनामा निजी क्षेत्रको भूमिका ठूलो रहेको बताए । तनहूँ, नवलपुर र चितवन जिल्ला पर्यटकीय हब बन्दै गएको बताउँदै उहाँले यस क्षेत्रलाई आर्थिक सम्मृद्धिको क्षेत्रको रुपमा विकास गर्ने पनि प्रधानमन्त्री दाहालले बताए । त्यसैगरीगण्डकी प्रदेश प्रमुख पृथ्विमान गुरुङ्गले मौलाकाली केवलकारको निमार्णसँगै यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे ।

उद्घाटन समारोहमा, मौलाकाली केबलकारका अध्यक्ष चन्द्र प्रसाद ढकालले  देशको शिथिल अर्थतन्त्रलाई उकास्न पर्यटकीय पूर्वाधार निर्माणलाइ तिब्रता दिन र विकासका काम समयमै पुरा हुने वातावरण बनाउन आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका ढकालले निजी क्षेत्रले तोकिएको समयमा, तोकिएकै बजेटमा, तोकिएकै गुणस्तरमा काम गर्न सक्षम छौँ भन्ने उदाहरण मौलाकाली केबल कार समेतले प्रस्तुत गरेको बताए ।

मौलाकाली केबलकार निर्माणकै रफ्तारमा अन्य पर्यटकिय पूर्वाधार र विकासमा काम सम्पन्न हुने हो भने अर्थतन्त्रमा देखिएको शिथिलता स्वतः कम हुदैं जाने अध्यक्ष ढकालले उल्लेख गरे ।

मुलुकका सबै प्रदेशमा कम्तीमा एउटा यस्तै पर्यटकीय पूर्वाधार निर्माणको काम तिब्र पारेको बताउदै बुटबलमा निर्माणाधीन लुम्बिनी केबलकार पनि केही हप्ता भित्रै सञ्चालनमा आउने जानकारी पनि अध्यक्ष ढकालले दिए ।

मौलाकाली केबलकार सहितको पर्यटकीय पूर्वाधार रहेको स्थलको महत्व बारे उल्लेख गर्दै अध्यक्ष ढकालले चितवन, तनहूँ र नवलपुरको संगम क्षेत्र  नेपालकै धार्मिक तथा सांस्कृतिक महत्वको पवित्र भूमी रहेको बताए ।

मौलाकालिका मन्दिरको साढे चार सय वर्ष पुरानो इतिहास छ ।  यस मन्दिरबाट दाहिनेतर्फ देखिने देवघाट वैदिक सनातन धर्ममा पवित्र भूमि हो । नारायणी, देवघाट र त्रिवेणीजस्ता देवभूमि र तपोभूमि सहितका सम्पदाहरुको ऐतिहासिक गरिमा र महिमालाई सबै नेपाली समक्ष पुर्याउन केबलकार सहितका नयाँ पर्यटकीय संरचनाले सघाउ पुग्ने विश्वास लिएको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

पर्यटनको विकासमार्फत् स्थानीय नागरिकको जीवनस्तर उकास्दै देशको समृद्धि हासिल गर्ने कामलाइ निरन्तरता दिने प्रतिबद्धता पनि अध्यक्ष ढकालले व्यक्त गरे।  स्थानिय सांस्कृतिक महत्वका संरचनाहरु राष्ट्र र जनताका साझा सम्पत्ति रहेको भन्दै अध्यक्ष ढकालले नवलपुरको गहनाका रुपमा निर्मित मौलाकाली केवलकार सहितको पर्यटकीय संरचनालाई स्थानीय जनताको आफ्नै सम्पत्तिका रुपमा विकास गर्ने मोडल अघि सारि स्थानीय समुदायको अधिकतम सहभागीता गराएको पनि बताए ।

करिब १,२०० मिटर लम्बाइको केवलकारमा १४ वटा गोण्डोला रहेका छन् । फेदिबाट केवलकार चढेपछि ५ मिनेटमा मन्दिर नजिकै रहेको टप स्टेशनसम्म पुग्न सकिन्छ ।

माथिल्लो स्टेशनसँगै बनिरहेको होटलमा ६० कोठा, ब्याङ्क्वेट हल, स्विमिङ्ग पुल र रेष्टुरेन्ट रहेका छन् ।  परियोजनको लागत करिब २ अर्ब रुपैयाँ रहेको छ ।

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?