+
+

सातौं पोखरा स्पोर्ट्स अवार्ड शनिबार : को-को होलान् वर्षोत्कृष्ट खेलाडी ?

स्व. निसिम थापालाई कीर्तिशेष सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २१ गते १६:१०

२१ वैशाख, पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बर्सेनि गर्दै आएको पोखरा स्पोर्टस अवार्डको सातौं संस्करण शनिबार हुँदैछ ।

सातौं संस्करणको पूर्वसन्ध्यामा आयोजक मञ्चले बिहीबार पोखरामा अवार्डको ट्रफी तथा मनोनयनमा परेका खेलाडी, संस्थाको नाम सार्वजनिक गरेको छ ।

खेलकुद क्षेत्रमा प्रदेशकै चर्चित ‘पोखरा स्पोर्टस् अवार्ड’को सातौं संस्करणमा मञ्चले विभिन्न ७ वटा विधामा पुरस्कार तथा सम्मान वितरण गरिने जनाएको छ ।

अवार्डमा वर्षोत्कृष्ट खेलाडी (महिला/पुरुष), वर्षोत्कृष्ट उदीयमान खेलाडी, वर्षोत्कृष्ट प्रशिक्षक, वर्षोत्कृष्ट खेलकुद संस्था, वर्षोत्कृष्ट खेल पत्रकार र लाइफ टाइम अचिभमेन्ट सम्मान वितरण गर्ने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।

वर्षोत्कृष्ट मनोनयनमा को–को खेलाडी ?

खेलकुद पत्रकार मञ्च गण्डकीले सातौैं संस्करणमा वितरण गर्न लागेको ७ विधामध्ये ४ विधाको मनोनयन यसअघि नै सार्वजनिक गरिसकेको छ । मञ्चले वर्षोत्कृष्ट खेलाडी (महिला÷पुरुष), वर्षोत्कृष्ट प्रशिक्षक र वर्षोत्कृष्ट उदीयमान खेलाडीको प्रारम्भिक मनोनयनमा छनोट भएका खेलाडीको नाम यसअगाडि नै सार्वजनिक गरेको थियो ।

मञ्चले सार्वजनिक गरेअनुसार वर्षोत्कृष्ट पुरुष खेलाडीतर्फ क्रिकेटका करण केसी (बागलुङ), आर्चरीका गंगाबहादुर कुँवर (तनहुँ), प्रदीप खड्का टेनिस (कास्की) मनोनयनमा परेका छन् । त्यस्तै महिलातर्फ वर्षोत्कृष्ट खेलाडीमा फुटबल खेलाडी सावित्रा भण्डारी (लमजुङ), आर्चरीकी रोजिना थापामगर (बागलुङ) र आइटीएफ तेक्वान्दोकी सुस्मिता थापामगर (बागलुङ) छन् ।

मनोनयनमा परेका ३÷३ जनाबाट उत्कृष्ट एकजना वर्षोत्कृष्ट खेलाडी (महिला÷पुरुष) चयनसँगै टेल्जी नेपालको टाइगर स्कुटर र ट्रफी हात पार्ने आयोजक खेलकुद पत्रकार मञ्च, गण्डकीले जनाएको छ ।

त्यस्तै, वर्षोत्कृष्ट उदीयमान खेलाडीतर्फ भलिबलका रवि केसी (बागलुङ), फुटबलका सुमित श्रेष्ठ (कास्की) र क्रिकेटका सुवास भण्डारी (कास्की) छन् । वर्षोत्कृष्ट प्रशिक्षकतर्फ आर्चरीका किशोर कुमार गुरुङ (स्याङ्जा), लनटेनिसका निरज थापा (कास्की) र आइटिएफ तेक्वान्दोका सुरज सुनार (कास्की) छन् ।

वर्षोत्कृष्ट उदीयमान खेलाडी र वर्षोत्कृष्ट प्रशिक्षक विजेताले समान जनही ३५ हजार रुपैयाँसहित ट्रफी पाउनेछन् भने उत्कृष्ट ३ सूचिमा परेकालाई पनि ट्रफी प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए ।
वर्षोत्कृष्ट खेलकुद संस्थाको अवार्ड कास्की जिल्ला ह्यान्डबल संघलाई प्रदान गरिने निर्णय भएको मञ्च अध्यक्ष बरालले जानकारी दिए । संघले ट्रफीसहित ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ । वर्षोत्कृट खेलपत्रकारको नाम भने सार्वजनिक गर्न बाँकी छ ।

निसिमलाई कीर्तिशेष सम्मान, लाइफटाइम अचिभमेन्ट मर्सानीलाई

मञ्चले कीर्तिशेष सम्मान प्याराग्लाइडिङ खेलाडी स्व. निसिम थापालाई दिने भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा प्याराग्लाइडिङ दुर्घटना परी असोज ३० गते थापाको मृत्यु भएको थियो । ‘प्याराग्लाइडिङ खेलमा थापाको योगदानस्वरुप कीर्तिशेष सम्मान अर्पण गर्न लागिएको हो,’ मञ्चका महासचिव पौडेलले भने ।

यस्तै यो वर्षको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बक्सिङ प्रशिक्षक विद्या प्रसाद मर्सानीलाई दिइने छ । मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।

अवार्ड कार्यक्रममा कमेडियन मेक्सम गौडेलको स्टान्डअप कमेडी र लोकदोहोरी गायक निश्चल दवाडीको समेत प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । साथै, हिमाली सांस्कृतिक परिवार तथा सारेगम कला केन्द्रको नृत्य, डेमोस्ट्रेसनलगायत अवार्ड कार्यक्रम प्रस्तुत गरिने आयोजकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?