+
+

स्कुल जान किन गाह्रो मान्छन् बच्चा ?

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० वैशाख २६ गते १३:०७

काठमाडौं । धेरै बालबालिका स्कुल जाने बेला झगडा गर्छन्, रोइकराइ गर्छन् । स्कुल नजानका लागि विभिन्न बहाना बनाउन थाल्छन् । बच्चा स्कुल जान नमान्दा अभिभावकलाई चिन्ता हुन्छ, जबर्जस्ती स्कुल पठाइदिन्छन् ।

तर किन स्कुल जान मान्दैनन् बालबालिका ? किन स्कुलप्रति उनीहरू आकर्षित हुँदैनन् ? भन्ने कुरामा धेरैको ध्यानै पुगेको हुँदैन । बालबालिकाको पढाइ घरबाट सुरु हुन्छ, त्यसैले उनीहरूलाई स्कुल पठाउनुअघि अभिभावकले केही तयारी गर्नुपर्छ । बच्चा किन स्कुल जान मान्दैन भन्ने कुरा जान्नुपर्छ ।

बच्चा स्कुल जान मान्दैन, बहाना बनाउँछ भने त्यसको पछि विभिन्न कारण हुन्छन् । घरमा आमाबुबासँग मात्र बसिरहेको बच्चा एक्कासि अर्को वातावरणमा जाँदा उसलाई त्यो वातावरणमा घुलमिल हुन समस्या हुन्छ, जसले गर्दा बच्चा स्कुल जान नमान्ने बाल मनोसामाजिक परामर्शदाता महालक्ष्मी आचार्य बताउँछिन् ।

स्कुल पुग्नेबित्तिकै बच्चालाई लेख्न, पढ्न लगाइन्छ । तर बच्चाको सानो दिमागलाई पढाइलेखाइको कुरा बुझ्न गाह्रो हुन्छ  त्यसैले पनि बच्चाहरू स्कुल जाने बेला रुन थाल्ने उनी बताउँछिन् ।

‘आजभोलि अभिभावकले बच्चालाई सानैदेखि ग्याजेट देखाएर खाना खुवाउने बानी लगाएको हुन्छ । स्कुलमा त त्यो हुँदैन अनुशासनमा बस्नुपर्ने हुन्छ जसले पनि बच्चाहरू स्कुल जान मान्दैनन्,’ आचार्य भन्छिन् ।

बाल मनोसामाजिक परामर्शदाता महालक्ष्मी आचार्य । फाइल तस्वीर

शिक्षकले सबै बच्चालाई समान व्यवहार गर्दैनन् । बढी जान्ने विद्यार्थीलाई माया गर्ने र कमजोर विद्यार्थीलाई हेला गर्ने प्रवृत्ति समेत देखिन्छ । ‘यसले कमजोर विद्यार्थी हतोत्साहित हुन पुग्छन् । उनीहरूले अपहेलित महसुस गर्छन् । स्कुल सम्झनासाथ उनीहरूको मन खिन्न हुन्छ र स्कुल जान मान्दैनन्,’ आचार्य भन्छिन् ।

बच्चालाई स्कुल जान कसरी प्रोत्साहित गर्ने ?

अभिभावक आफैं उत्साहित हुने

बच्चालाई पहिलो पटक स्कुल पठाउँदा अभिभावक पनि उत्साहित हुनुपर्छ । बच्चालाई स्कुल पठाउने तयारी गर्नुपर्छ स्कुलको बारेमा राम्रो राम्रो कुरा सुनाउनुपर्छ । जसले गर्दा बच्चा पनि स्कुल जान उत्साहित हुने आचार्य बताउँछिन् ।

स्कुलको लागि आवश्यक सामग्री किन्न बच्चालाई साथै लिएर जाने

स्कुल पठाउनुअघि बजार लगेर उसलाई मन पर्ने स्कुल ब्याग, पानीको बोतल, टिफिन बक्स किनिदिनुपर्छ । यसरी बच्चालाई मन पर्ने सामान किनिदिएपछि बच्चा स्कुल जान खुसी हुने आचार्य बताउँछिन् ।

बच्चालाई भर्ना गर्नुअघि स्कुल घुमाउन लैजाने

बच्चालाई स्कुल भर्नाअघि एक पटक स्कुल घुमाउन लैजानुपर्छ । उसलाई शिक्षक र साथीहरूसँग परिचय गराउनुपर्छ । स्कुलको खेल मैदानमा खेल्न दिएर तिम्रो स्कुल कति राम्रो भनेर भनिदिनुपर्ने आचार्य सुझाउँछिन् । ‘यसो गर्दा बच्चालाई पनि स्कुल मन पर्न थाल्छ र खुसी भएर विद्यालय जान्छ,’ उनी भन्छिन् ।

दैनिक रुटिन बनाइदिने

बच्चालाई स्कुल पठाउनुभन्दा १५ दिनअघिदेखि उसको दैनिक रुटिन बनाइदिनुपर्छ । उसलाई विद्यालय जानुभन्दा दुई घण्टा अगाडि उठाउनुपर्छ । बिस्तारै खाना खुवाउने, किताब–कापी तयार पारिदिने गरियो भने उसलाई त्यही दिनचर्याको बानी बस्छ । उसलाई त्यो दिनचर्याको बानी परेपछि स्कुल जानुपर्दा बच्चा नरिसाउने आचार्य बताउँछिन् ।

स्कुलको बारेमा सबै कुरा बताउने

‘स्कुलमा तिमीजस्तै तिम्रो धेरै साथी हुनेछन् । तिमीले उनीहरूसँग खान, खेल्न र नयाँ काम गर्नेछौ’ भनेर बताउनुपर्छ । ‘विद्यालयमा शिक्षक शिक्षिकाले तिमीलाई आमाबुबाले जस्तै माया हेरचाह गर्नुहुन्छ । तिमीले हरेक कुरा शिक्षकलाई बताउन सक्छौं भनेर उसलाई सम्झाउनुपर्छ । जसले गर्दा बच्चा स्कुलको वातावरणसँग परिचित हुन्छ,’ आचार्य भन्छिन् ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?